• २०८१ बैशाख ४ मंगलबार

च्याम्पियन्स लिगमा रियल म्याड्रिड र बायर्न म्युनिखको भिडन्त, रोनाल्डोले गर्लान त गोल ?

kharibot

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लिग रियल म्याड्रिड र बायर्न म्युनिखबीच आज राति हुदै छ ।

बायर्न म्युनिखको घरेलु मैदानमा हुने यस खेलमा विश्व फुटबलका दुई महारथी क्लबबीच भिडन्त हुदै छ । च्याम्पियन्स लिगको इतिहासमा सन १९८१ पछि पहिलो पटक चार अलग अलग देशका चार क्लब सेमिफाइनलमा पुगेको यस सिजनको यस खेललाई क्रिस्टियानो रोनाल्डो भर्सेज रोबर्ट लवानडोस्कीको रुपमा हेरिएको छ ।

रियल म्याड्रिड यससँगै लगातार आठौ पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा खेल्दै छ भने बायर्न म्युनिख लगातार सातौ पटक सेमिफाइनलमा खेल्दै छ । सन २०१० पछि पहिलो पटक चय्म्पियाँस लिगको सेमिफाइनलमा एउटा मात्र स्पेनिस क्लब रहेको छ ।

च्याम्पियन्स लिगमा रोनाल्डोको रेकर्ड :

रोनाल्डोले यस सिजनको च्याम्पियन्स लिगमा १० खेलमा १५ गोल गरेका छन् । च्याम्पियन्स लिगको एकै सिजनमा १५ गोल गर्ने रोनाल्डो एक मात्र खेलाडी हुन् । रोनाल्डोले च्याम्पियन्स लिगका तीन सिजनमा १५ गोल गरेका छन् । उनले २०१३-१४ सिजनमा १७ गोल गरेका थिए भने २०१५-१६ मा १६ गोल गरेका थिए । त्यस्तै यस सिजनमा १५ गोल गरिसकेका छन् ।
साथै रोनाल्डोले च्याम्पियन्स लिगमा लगातार ११ खेलमा गोल गर्ने रेकर्ड पनि बनाएका छन् । उनले गत बर्षको च्याम्पियन्स लिगको फाइनलमा गोल गरेका थिए भने यस सिजनका सबै खेलमा गोल गरेका छन् ।
त्यस्तै रोनाल्डोले च्याम्पियन्स लिगमा आफ्नो १५० खेल पनि युभेन्टसविरुद्धको खेल खेलेर पुरा गरेका छन् । च्याम्पियन्स लिगमा रोनाल्डोभन्दा बढी रायन गिग्सले १५१, जाभीले १५७ र इकर कासिलासले १७० खेल खेलेका छन् ।

रियल म्याड्रिडले अहिलेसम्म १२ पटक च्याम्पियन्स लिग जितेर सबै भन्दा धेरै पटक यो उपाधि जित्ने रेकर्ड बनाएको छ भने बायर्न म्युनिखले ५ पटक यो उपाधि जितेको छ । रियल ३ पटक फाइनलमा पुगेर उपाधि विहिन बनेको छ भने बायर्न ५ पटक फाइनलमा पुगेर पराजित भएको छ ।

यी दुई टिम च्याम्पियन्स लिगमा यसअघि २४ पटक खेलिसकेका छन् । दुवै टिमको यसअघिको रेकर्ड बराबरी रहेको छ । दुवैले ११-११ पटक जितेका भन भने दुई खेल बराबरीमा सकिएका छन् । अहिलेसम्म रियल म्याड्रिडले २४ खेलमा बायर्नविरुद्ध ३७ गोल गरेको छ भने बायर्नले ३६ गोल गरेको छ । 

बायर्नम्युनिखले यस सिजनको उपाधि सहित जर्मनीको बुण्डेसलिगा लगातार ६ पटक जितेको छ । जसमा लेवानडोस्कीले बायर्नका लागि यस सिजनमा ४३ खेलमा ३९ गोल गरिसकेका छन् । त्यस्तै रियल म्याड्रिडले भने ला लिगामा यस सिजनमा त्यति राम्रो प्रदर्शन गर्न सकेको छैन । हाल तेस्रो स्थानमा रहेको रियलका लागि रोनाल्डोले ला लिगामा २४ र च्याम्पियन्स लिगमा १५ गोल गरेका छन् ।

रोनाल्डोले बायर्नविरुद्ध खेलेका ६ खेलमा ९ गोल गरेका छन् । यस सिजनमा १५ गोल गर्दै च्याम्पियन्स लिगमा लगातार ११ खेलमा गोल गर्ने नयाँ रेकर्ड बनाएका छन् ।

यसरी विगतका खेलका आँकडा हेर्दा दुवै टिम बराबरीको स्थितिमा रहेका छन् । रियल म्याड्रिड यस खेलमा जितेर लगातर तेस्रो पटक च्याम्पियन्स लिग जित्ने आफ्नो अभियान सुनिस्चित गर्न चाहन्छ भने बायर्न म्युनिख रियलको अभियानलाई धक्का दिन तयार देखिन्छ ।

बायर्न म्युनिखबाट आजको खेलमा भिडाल र कोमन इन्जुरीका कारण खेल्ने छैनन् भने गोल किपर म्यनुएला नोएर पनि खेल्नेमा शंका व्यक्त गरिएको छ । नोएरको खुट्टामा समस्या देखिएको बताइएको छ । त्यस्तै रियल म्याड्रिडका नाचो पनि इन्जुरीका कारण यो खेल गुमाउने भएका छन् ।

दुई महारथी टिमको भिडन्त कसले जित्छ भनेर सजिलै अनुमान गर्न गार्हो देखिएको छ । रियल म्याड्रिड धेरै जसो रोनाल्डोमा भरपरेको हुनाले रोनाल्डोको रणनितिलाई असफल बनाउन सके बायर्न म्युनिखले घरेलु मैदानको फाइदा उठाउदै रियललाई अप्ठ्यारोमा पार्ने देखिन्छ । तर रियल म्याड्रिडको च्याम्पियन्स लिगमा यस सिजनमा पनि राम्रो प्रदर्शन रहेकाले बायर्नलाई त्यति सजिलो भने हुने छैन ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै