• २०८१ बैशाख १२ बुधबार

प्रधानमन्त्री प्रचण्डले फेरी विश्वासको मत लिनुपर्ने !

kharibot

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरी विश्वासको मत लिनुपर्ने भएको छ । 

शुक्रबार रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै संबैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुपर्ने भएको हो । 

गत पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले यसअघि दुई पटक संसदबाट विश्वासको मत लिइसकेका छन् ।

एमाले, रास्वपासहितका दलको समर्थनआमा प्रधानमन्त्री बनेका प्रचण्डले पुस २६ मा विश्वासको मत लिदा काँग्रेससहित  २६८ सांसदले विश्वासको मत दिएका थिए । 

त्यसपछि प्रधानमन्त्री प्रचण्डले तत्कालिन गठबन्धन छोडेर नेपाली कांग्रेससहितका दलको गठबन्धन बनाएपछि चैत ६ मा दोस्रो पटक विश्वासको मत लिएका थिए । यस पटक प्रचण्डलाई १७२ सांसदले विश्वासको मत दिएका थिए । दोस्रो पटक विश्वासको मत लिँदा प्रचण्डलाई एमाले, राप्रपा र नेमकिपाबाहेकका दलले विश्वासको मत दिए । 

के छ संबिधानमा व्यवस्था ? 

नेपालको संविधानको धारा १०० को उपधारा २ ले सरकारमा सहभागी भएका दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने व्यवस्था छ । 

१०० को उपधारा २ मा उल्लेख छ- 'प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नु पर्नेछ ।'
  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै