• २०८१ बैशाख ६ बिहीबार

खनालको पूर्वराजा ज्ञानेन्द्रलाई चेतावनी- गुण्डागर्दी नरोकेमा देशभर कुनै कार्यक्रम गर्न दिदैनौं

kharibot

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गुन्डागर्दी बन्द गर्न चेतावनी दिएका छन् । विहिबार पत्रकार सम्मेलनमा बोल्दै खनालले पूर्वराजालाई राजनीतिक दलहरुविरुद्धको गुण्डागर्दी नरोकेमा देशभर कुनै कार्यक्रम गर्न नदिने चेतावनी समेत दिएका हुन् ।

खनालले बुधबार काठमाडौँको एक कार्यक्रममा राजावादीको समूहले खनालविरुद्ध नाराबाजी र हुलहुज्जत गरेका थिए । आजको पत्रकार सम्मेलनमा खनालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई निशाना बनाएका थिए ।

उनले गणतन्त्र र गणतन्त्रका लागि लड्ने नेताहरुलाई बदनाम गर्ने अभियान सुरु भएको बताउदै उनले देशमा नयाँ मण्डलेहरु जन्माउन खोजिएको आरोप लगाए ।

उनले भने- 'हिजो पञ्चायतकालमा लोकतन्त्रका लागि, राष्ट्रियताका लागि, न्यायका लागि लड्नेहरुका विरुद्ध त्यतिबेलाका मण्डलेहरु आक्रमण गर्थे । तिनै मण्डलेहरु ब्युँताउन कोसिस भएको छ । ज्ञानेन्द्र राजा जिन्दावाद भन्छन् एकातिर, अर्कोतिर लोकतन्त्रका विरुद्ध लड्ने योद्धाका विरुद्ध तथानाम गर्छन् । मैले केही दिनअघि राजा ज्ञानेन्द्रलाई, अहिले त राजा भन्न मिलेन, भूतपूर्व राजा ज्ञानेन्द्र, अहिलेको ज्ञानेन्द्र शाहलाई, जो अहिले विभिन्न क्षेत्रमा अनेक राजनीतिक गतिविधि गर्दैछन्, यसप्रकारले समाजमा भाँडभैलो मच्चाउन कोसिस गर्नुभन्दा राप्रपा भन्ने पार्टी छ, त्यसको अध्यक्ष बनेर वा अर्को पार्टी खोलेर आए हुन्छ भनेको हुँ । हामी तपाईंसँग प्रतिस्पर्धा गर्न तयार छौं ।'

नेता खनालले अगाडी भने- 'गुण्डागर्दी गर्ने काम बन्द गर । बन्द गर्दैनौ भने तिमीहरुका कुनै पनि कार्यक्रम हामी देशव्यापी एउटा पनि कार्यक्रम हुन दिँदैनौं । यो कुरा सुनिराख । ज्ञानेन्द्र शाहले सुन्नुपर्ने कुरा हो यो । म ज्ञानेन्द्र शाहलाई भन्न चाहन्छु । तिम्रा यी स-साना सेनालाई मैले भन्नुपर्ने छैन । तिनीहरुले टिट फर ट्याट पाउँछन् । जहाँ जे गर्छन्, त्यही फिर्ता लिनुपर्ने स्थिति आउँछ । तर, ज्ञानेन्द्र शाहलाई भन्छु, खबरदार, यदि गुण्डागर्दी गर्ने, अराजकता मच्चाउने इच्छा छ भने यो इच्छा पूरा हुनेवाला छैन । अहिले नै हिसाबकिताब हुन्छ ।'

खनालले नेपालमा राजतन्त्र फर्किनेवाला छैन भन्दै नारायणहिटी दरबारमा गएर मुकुट लगाउने सपना दिवास्वप्नबाहेक केही नभएको बताए । 

उनले भने- 'अब राजा भन्ने शब्द केही मान्छेको नाममा सीमित हुनेछ । जस्तो राजा शाक्य । मेरै टोलमा हुनुहुन्छ । तर, राजतन्त्र यो देशमा फर्किनेवाला छैन । मन्दिर मन्दिर नगए पनि हुन्छ । अभिनन्दन नखाए पनि हुन्छ । केही काम छैन । राप्रपालाई दुई चार भोट बढाइदिनु छ भने बढाइदिनु । तर, विभिन्न ढंगका हर्कत गरेर लोकतन्त्रमा प्रश्न उठाउने कुनै कुरा जनताले सहँदैन ।'
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै