• २०८१ बैशाख ७ शुक्रबार

गर्मीले जनजीवन कष्टकर

kharibot

टङ्कीसिनवारी  । मोरङमा केही दिनदेखि गर्मी अत्यधिक बढेको छ । गर्मी ह्वात्तै बढेपछि यहाँको जनजीवन कष्टकर बनेको छ । 
 
बिहानैदेखि चल्ने तातो हावाका कारण सर्वसाधारणलाई दैनिक क्रियाकलाप गर्न असहज बन्दै गएको छ । वृद्धवृद्धादेखि बालबालिकासम्मलाई गर्मीका कारण बढी समस्या भएको छ ।

बिहानदेखि घर बाहिर हिँडडुल गर्न मुस्किल भएको छ । गर्मीबाट बच्नका लागि सर्वसाधारणले मात्र नभइ पशुपन्छीले पनि छहारी खोज्न थालेका छन् ।

केही दिनदेखि विराटनगरको अधिकतम तापक्रम ३५ डिग्री सेल्सियसदेखि ४२ डिग्री सेल्सियससम्म पुग्ने गरेको छ । विद्यार्थी र मजदुर बढीजसो चर्को घामको मारमा परेका छन् ।

गर्मीका कारण पठनपाठन प्रभावित बनेको छ । केही स्थानीय तहले गर्मी बढेपछि विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । विराटनगर–२ स्थित जनता नमूना माविकी आस्मिन खातुन घामबाट बच्न दैनिक छाता ओढेर विद्यालय जाने गरेको बताउछन् । “कक्षा कोठामा बसेर पढ्ना असिनपसिन भइन्छ”, उनले भने–“गर्मीका कारण पसिना चुहिएर किताब कापी भिज्छन् ।”

विराटनगर–५ स्थित किड्स भिलेजका प्राचार्य विजय दाहालले अत्यधिक गर्मीका कारण विद्यार्थी बिरामी पर्न थालेका बताए ।

उनले भने, “गर्मीले विद्यार्थी कक्षामा बस्नै सक्दैनन् । कतिपप विद्यार्थीको नाथ्री फुटेर नाकबाट रगत बग्दा घरबाट अभिभावकलाई बोलाउनु परेको छ ।” 

विराटनगर–२ स्थित पोखरिया माविका प्राचार्य खेमराज भट्टराईले बढ्दो गर्मीका कारण विद्यालयमा पठनपाठन असहज बन्दै गएको बताए ।

“विद्यालय आउने विद्यार्थीको सङ्ख्या दैनिक घट्दै गएको छ”, उनले भने । यस्तै विराटनगर–३ सुकन्या मार्गका विमल कोइराला गर्मीले सताएको बेला बेला बेलामा बिजुली जाँदा झन समस्या भएको बताउछन् । बेलाबेलामा विद्युत् अवरूद्ध हुँदा रातभर जाग्राम बस्नु परेको उनको भनाइ छ । बर्जु गाउँपालिकाका रिक्सा चालक जयराम रायले गर्मीका कारण यात्रु भेटिन छाडेको बताए ।

गर्मीका कारण आम्दानी ह्वात्तै घटेको रायले बताए । कोशी अस्पताल आकस्मिक विभागका चिकित्सक डा राकेश यादवले गर्मीका कारण बिरामीको चाप बढेको बताए ।

दैनिक एक सयदेखि दुई सयको हाराहारीमा झाडावान्ता, भाइरल ज्वरो, नाकबाट रगत बग्ने, एलर्जी लगायतका रोगका बिरामी आउने गरेको बताए ।

डा यादवे गर्मीका बेला सकेसम्म घरबाट बाहिर ननिस्कन सुझाव दिए । बढ्दो चापका कारण एउटै बेडमा तीन जनासम्म बिरामी राख्नुपर्ने बाध्यता रहेको बताए ।

विराटनगर महानगरपालिकाले गर्मी बढेपछि यही जेठ १८ र १९ गते नगरक्षेत्रभित्रका सम्पूर्ण सामुदायिक एवम संस्थागत विद्यालय बन्द गरेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै