• २०८१ बैशाख १३ बिहीबार

श्रम र वैदेशिक रोजगारसँग जोडिएका मुद्दा तत्काल सम्बोधन गर्छौं- मन्त्री भण्डारी

kharibot

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले श्रम र रोजगारसम्बन्धी जोडिएर आएका मुद्दा तदारुकताका साथ सम्बोधन गर्न मन्त्रालय कटिबद्ध रहेको बताएका छन् ।

मन्त्रालयमा आज आयोजित पत्रकार भेटघाटमा उनले श्रम बजारसम्म श्रमिकको सहज पहुँच स्थापित गर्दै वैदेशिक रोजगारीलाई व्यवस्थित तुल्याउन मन्त्रालय क्रियाशील रहेको उल्लेख गरे ।

मन्त्री भण्डारीले भने, “श्रम क्षेत्रको सुधारका लागि गरेको प्रतिबद्धताप्रति मन्त्रालय सजग छ, उठेका विषय सम्बोधन गर्न र लक्षित नतिजा हासिल गर्न हामी प्रयत्नशील छौँ । सेवा शुल्कबारे उठेका प्रश्न कार्यदलमार्फत सम्बोधन गरिनेछ ।

”स्थानीय तहसँगको सहकार्यमा श्रम क्षेत्रमा देखिएका चुनौतीलाई सम्बोधन गरिने बताउँदै उनले तोकिएको मापदण्ड पालना नगर्ने वैदेशिक रोजगारदाता कम्पनीलाई कारबाहीको दायरामा ल्याइने दृढता व्यक्त गरे ।

नेपालसँग दौत्य सम्बन्ध स्थापना भएका मुलुकमा वैदेशिक रोजगारका लागि श्रमिक पठाउने विषयमा अध्ययन र गृहकार्य गर्न तत् तत् देशमा रहेका दूतावास र निगमलाई पहल र प्रयत्न गर्न सुझाव दिइएको पनि सो अवसरमा जानकारी दिइयो ।

मन्त्रालयका सचिव एकनारायण अर्यालले वैदेशिक रोजगार र श्रम क्षेत्रलाई व्यवस्थित एवं पारदर्शी गर्न नवीनतम प्रविधिको प्रयोगमा जोड दिइने बताए । सङ्घीयताको मर्म र भावनाअनुरूप सबै स्थानीय तहबाटै श्रमसम्बन्धी कार्य प्रभावकारी तुल्याइने बताउँदै उनले विगतका तुलनामा केही सुधारका कार्यक्रम अघि बढे पनि अझ थुप्रै काम गर्न पर्ने आवश्यकतामा जोड दिए । 

वैदेशिक रोजगारी विभागका महानिर्देशक मदन राउतले सबै क्षेत्रका ठगीसम्बन्धी विषय विभागसँग जोडेर हेर्ने प्रवृत्तिले पनि यस क्षेत्रलाई थप बदनाम तुल्याएको बताए ।

मन्त्रालयका सहसचिव राजिव पोखरेलले वैदेशिक रोजगार र श्रम क्षेत्रमा देखिएका विकृति र विसङ्गतिलाई रोक्न निकट भविष्यमै टिम बनाएर कार्य प्रारम्भ गर्ने विश्वास दिलाए ।

वैदेशिक रोजगारमा रहेकालाई सामाजिक सुरक्षामा समावेश गर्ने घटना निकै महत्त्वपूर्ण रहेको जनाउँदै मन्त्रालयले त्यसमा हालसम्म एक लाख ३० हजार सामेल भइसकेको जानकारी दिएको छ । 

सो अवसरमा रोजगारीमा जान लागेका व्यक्तिलाई प्रवेशाज्ञाको अवधिका आधारमा श्रम स्वीकृत दिन उपयुक्त हुने अध्ययनले देखाएको जानकारी दिइयो ।

नेपालले निकट भविष्यमै जमर्नी र रुमानियासँग पनि श्रम सम्झौताका लागि पहल भइरहेको जानकारी दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै