काठमाडौं । प्रधानन्यायाधीश सिफारिस भएका हरिकृष्ण कार्कीविरुद्ध संसदीय सुनवाइ समितिमा अहिलेसम्म १९ वटा उजुरी परेका छन् ।
संसदीय सुनवाइ समितिको जेठ १६ गते बसेको बैठकले प्रधानन्यायाधीशमा सिफारिस कार्कीविरुद्ध उजुरी माग्ने निर्णय गरेको थियो । सु्नवाइ समितिले कार्कीविरुद्ध उजुरीका लागि दिएको समय शुक्रबार ३ बजे सकिँदैछ ।
आइतबार बस्ने सुनवाइ समितिको बैठकमा कार्कीविरुद्ध परेका उजुरी खोल्ने र सांसदहरुलाई वितरण गर्ने समिति सचिव विमला घिमिरेले जानकारी दिइन् । सोही बैठकले उजुरीकर्ता र कार्कीलाई कुन दिन बोलाउने भन्ने टुङ्गो लगाउने छ । १९ वटा उजुरीमध्ये एक बहालवाला न्यायाधीश श्रीकृष्ण भट्टराईसहित पाँचजना कानुन व्यवसायीले संयु्क्तरुपमा तीनवटा उजुरी दिएका छन् ।
त्यसैगरी सर्वोच्चका एक कर्मचारीले समेत यसपटक कार्कीविरुद्ध उजुरी हालेका छन् । त्यसबाहेक केही नयाँ र केही सधैं उजुरी हालिरहने व्यक्तिहरले कार्कीविरुद्ध उजुरी दिएको समितिले जनाएको छ ।
संवैधानिक परिषद्ले कायमुकायम प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो। संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।