• २०८१ बैशाख १४ शुक्रबार

बिदा पुनरावलोकन गरिदिन आदिवासीको माग

kharibot

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आदिवासी जनजाति महासंघसँग आबद्ध प्रतिनिधिले सरकारले हटाएका पर्वका बिदा पुनरावलोकनको पहल गरिदिन माग गरेका छन् । 

अध्यक्ष दाहालको निवास खुमलटारमा आज बिहान भेट गर्दै उनीहरुले सांस्कृतिक पर्वहरुमा पाउँदै आएको बिदा कटौती भएको भन्दै पुनरावलोकनको माग गरेका हुन् । 

अध्यक्ष दाहालले सम्बद्ध समुदायसँग छलफल गरेर बिदा कटौती गर्न सकिएको भए राम्रो हुने भन्दै पुनरावलोकनका लागि पहल गर्ने बताउनु भएको थियो । उनले धेरै बिदा भएको भन्ने चर्चा भइरहँदा सरकारले बिदा घटाउने प्रयास गरेको हुनसक्ने बताउनु हुँदै सम्बन्धित समुदायसँग छलफल नगर्दा समस्या भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । 

अध्यक्ष दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेर बिदाका बारेमा टुंगो लगाउने बताएको भेटमा सहभागी आदिवासी जनजाति नेता परशुराम तामाङले जानकारी दिए । अध्यक्ष दाहालले आदिवासी जनजातिका मुद्दा माओवादी आन्दोलनसँग पनि जोडिएको विषय भएको भन्दै यसमा आफ्नो सकारात्मक सहयोग हुने विश्वास दिलाए । 

भेटमा सहभागी आदिवासी जनजातिका प्रतिनिधिले पर्व बिदा आदिवासी जनजातिको आन्दोलनको उपलब्धि भएको भन्दै सरकारले कुनै सरसल्लाह बिना नै बिदा कटौती गरेको गुनासो गरेका थिए । 

त्यसैगरी आदिवासी जनजाति उत्थान प्रतिष्ठानलाई निष्क्रिय बनाएको, गुम्बा विकासमा बजेट नदिएको, दुर्गम क्षेत्र विकास समितिलाई खारेजीको प्रक्रियामा लगेको, प्रदेशको नामाङ्कनमा पहिचान छुटाएको लगायतका गुनासो अध्यक्ष दाहालसमक्ष राखेको तामाङले जानकारी दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै