• २०८१ बैशाख १२ बुधबार

पुनर्वासको सीमा विवाद समाधान गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र

kharibot

काठमाडौ । कञ्चनपुरको पुनर्वास नगरपालिका–९ बीचफाँटा सीमा क्षेत्रमा देखिएको सीमा विवाद समाधानका लागि कुटनीतिक पहल गर्न माग गर्दै ७ नम्बर प्रदेशको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ ।

नेकपा माओवादी केन्द्रका ७ नम्बर प्रदेश इन्चार्ज तथा पुर्वमन्त्री लेखराज भट्ट नेतृत्वको टोली प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् । पुनर्वासको बीचफाँटामा हात्ती आतंक नियन्त्रणका लागि सोलार तारबार लगाउँदा भारतीय सुरक्षाकर्मीले अवरोध गरेपछि विवाद उत्पन्न भएको छ ।

ज्ञापनपत्रमा भट्टसहित खानेपानी मन्त्री तथा पुनर्वासबाट निर्वा्चित प्रतिनिधिसभा सदस्य बिना मगर, ७ नम्बर प्रदेशका आर्थिक मामिला मन्त्री झपट बोहरा, प्रतिनिधिसभा सदस्यहरु डा दिपकप्रकाश भट्ट, नरबहादुर धामी, निरुदेवी पाल, निरा जैरु, राष्ट्रियसभा सदस्य महेशकुमार महरा, हरिराम चौधरी, पुर्वसभासद देवीलाल चौधरी र नरेन्द्र कुवर र स्थानीय वडा अध्यक्ष नारायणप्रसाद जैशीले हस्ताक्षर गरेका छन् ।

भारतको दुधुवा नेसनल पार्कबाट आउने हात्तिको आतंक नियन्त्रणका लागि सोलार तारबार गरिएपछि भारतीय पक्षले भत्काएको छ । हात्ति आतंक नियन्त्रणका लागि गत वर्ष नेतृ बिना मगरको पहलमा सोलार तारबार गरिएको थियो । हाल स्थानीय तहको बजेटबाट वडा अध्यक्ष नारायण जैशीको नेतृत्वमा तारबारको काम भइरहेको छ ।

नेपाली भुमिमा तारबार गरिरहदा समेत भारतीय पक्षले अवरोध गरेकाले समस्या समाधानका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको टोलीका सदस्य ओमविक्रम भाट सरलले बताए ।

ज्ञापनपत्रमा भत्काइएको तारबार गर्ने व्यवस्था मिलाउन, सीमा सर्भे टोलीको म्याद थप्न, ७ नम्बर प्रदेशका विवादित सीमा क्षेत्रमा सीमा निर्धारण गर्न र भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका बेला सीमा समस्याबारे एजेन्डा तय गर्न माग गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले सीमाको विषय समाधानका लागि गम्भीरताका साथ पहल गर्ने बताउनुभयो । ज्ञापनपत्र परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयलाई बोधार्थ पठाइएको छ ।

भारतीय पार्कबाट आएका हात्तिको आक्रमणबाट २०७३ माघ महिनामा बीचफाटाका मनबहादुर सुनारको मृत्यु भएको थियो । पुनर्वासमा उत्पन्न सीमा विवादका क्रममा भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट गत वर्ष गोविन्द गौतम सहिद भएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै