• २०८१ बैशाख ६ बिहीबार

इसिमोड र एनएमबि बैंकबीच सहकार्य

kharibot

तस्बीर : जितेन्द्र राज बज्राचार्य/इसिमोड

काठमाडौं । स्वस्थ आर्थिक र पर्वतीय पर्यावरणीय प्रणालीको विकासको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय गैरसरकारी संस्था इसिमोड र नेपालको अग्रणी कमर्सियल बैंक एनएमबि बैंकबीच साझेदारी भएको छ  । 

इसिमोडको कार्यालय ललितपुरमा एक कार्यक्रमका बीच इसिमोड र एनएमबि बैंकबीच पूंजी, लगानी विस्तार र सामाजिक उत्तरदायित्वका गतिविधि गर्ने गरि सो साझेदारी पत्रमा बुधबार हस्ताक्षर भएको हो  । साझेदारी पत्रमा इसिमोडका महानिर्देशक डेभिड मोल्डेन र एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले हस्ताक्षर गरेका हुन्  । 

हिमाली क्षेत्रको सामाजिक-आर्थिक विकासका कार्यक्रमका लागि यो समझदारी महत्वपूर्ण हुने कार्यक्रममा जानकारी दिइयो  । कार्यक्रममा इसिमोडका महानिर्देशक मोल्डेनले इसिमोडले हिमाली क्षेत्रमा विभिन्न निजी क्षेत्रका संघ संस्थासँग सहकार्य गरेर काम गरिरहेको बताउदै एनएमबिसँगको यो सहकार्यले हिमाली क्षेत्रका आम जनतालाई उनीहरुको जीवनस्तर उकास्न निकै महत्वपूर्ण हुने बताए ।

उनले हिमाली क्षेत्रमा सजिलै उपलब्ध हुने र सजिलै उत्पादन गर्न सकिने बस्तुहरुको पहिचान गरी त्यसमा लगानी बढाएर बजार विस्तार गर्ने अवधारणा अनुसार यो सहकार्य भएको जानकारी दिदै आफुहरुको अनुसन्धानले यसको निकै ठुलो सम्भावना देखाएको बताए । सोहि अनुसार नै बैंकलाई सो ठाउँमा लगेर लगानी गर्ने वातावारण अब यो सहकार्य पछि बन्ने महानिर्देशक मोल्डेनले बताए ।

कार्यक्रममा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले आफुहरु जहिले पनि दिर्घकालिन र दिगो आर्थिक विकास हुनुपर्छ भन्ने मान्यता अनुसार लगानी गर्ने बैंक भएकाले इसिमोडसँगको सहकार्यले हिमाली क्षेत्रमा रहेका आम मानिसहरुको जीवनशैलीमा सुधार ल्याउन सकिने र यसले त्यस भेगका मानिसको दिगो बिकासमा मद्धत गर्ने बताए ।

उनले बैंकले विभिन्न अन्तर्राष्ट्रिय एजेन्सीहरुसँग सहकार्य गरेर यसअघि देखि नै काम गरिरहेको जानकारी दिदै एनएमबि बैंकले नाफा कमाउने मात्र भन्दा देशको दिगो आर्थिक विकास हुने किसिमले लगानी गर्नेमा जोड दिइरहेको बताए  । 

कार्यक्रममा इसिमोडका निर्देशक बसन्त श्रेष्ठले निजी क्षेत्रसँगको सहकार्यले विकासमा सकरात्मक असर गर्ने भन्दै यसले दिगो विकासमा ठुलो योगदान पुर्याउने बताए । हिमाली क्षेत्रका बासिन्दालाई एनएमबि बैंकसँगको सहकार्यले उनीहरुको घरआगनमा उपलब्ध उत्पादनबाटै व्यापारको नयाँ सम्भावना खोजी गरिने श्रेष्ठले बताए  । 

सुरुमा तीन बर्षका लागि गरिएको यो सहकार्य पछिसम्म रहने जानकारी दिइएको छ ।    
   
         
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै