• २०८१ बैशाख १३ बिहीबार

एमाले-माओवादी आजै निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्ने तयारीमा, यसरी भयो भागबन्डा    

kharibot

काठमाडौँ । एमाले र माओवादीबीच आज पार्टी एकता हुदै छ । बुधबार एमाले स्थायी समिति बैठकले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने प्रस्ताव पारित गरेको छ ।

एमाले बैठकमा विहिबार एकीकृत पार्टी निर्वाचन आयोगमा दर्ता गर्ने विषयमा छलफल भएको छ ।

बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएको सहमति बारे ब्रिफिङ गरेका थिए ।

बैठकमा अध्यक्ष ओलीले एकीकृत पार्टीमा ४४१ सदस्यीय केन्द्रीय समिति र ४३ सदस्यीय स्थायी समिति बनाउने समझदारी भएको जानकारी गराए ।

त्यस्तै केन्द्रीय समितिमा २४१ जना एमाले र २०० जना माओवादीका सदस्य रहने दुई नेताबीच सहमति भएको ओलीले जानकारी दिएका थिए । त्यस्तै ४३ सदस्यीय स्थायी समितिमा २५ जना एमालेबाट र १८ जना माओवादीबाट रहने सहमति भएको छ ।

त्यस्तै ओली र प्रचण्डबीच अहिले पोलिटब्यूरो नबनाउने निर्णय गरेको जानकारी अध्यक्ष ओलीले बैठकलाई गराएका थिए ।

त्यस्तै एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी हुने र चुनाव चिन्ह सुर्य हुने यसअघि नै सहमति भइसकेको छ । 

अध्यक्ष ओलीले बुधबार बिहान प्रचण्डसँगको बैठकमा महाधिवेशनबाट नेतृत्व चयन, सैद्धान्तिक विषय र सांगठनिक संरचना सहमतिबाट टुंग्याउने सहमति भएको जानकारी दिएका थिए । ओली र प्रचण्डबीच भएको समझदारीलाई एमाले स्थायी समितिले पारित गरेपछि अब एकता प्रक्रिया अगाडी बढेको छ ।

आज एमाले-माओवादी एकता संयोजन समितिको बैठक बस्ने छ भने त्यसपछि एमालेको आकस्मिक रुपमा केन्द्रीय समिति बैठक बस्ने छ ।

एकता संयोजन समितिको बैठकपछि दुई अध्यक्षबीच भएको समझदारी लिखित रूपमा पनि सार्वजनिक गर्ने तयारी भएको बताइएको छ । 

आज मदन भण्डारीको स्मृति दिवस रहेकाले संयोजन समितिको बैठक अघि ओली र प्रचण्डले बल्खुस्थित स्वर्गीय नेता मदन भण्डारीको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम पनि रहेको छ । 

एमालेसँग पार्टी एकतागर्ने माओवादीको निर्णय :

नेकपा माओवादी केन्द्रले बिहीबार नेकपा एमालेसँग पार्टी एकता गर्ने निर्णय गरेको छ । 

माओवादी केन्द्रका अध्यक्ष पुप्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बुधबार साँझ बसेको पार्टी केन्द्रीय कार्यालयको विस्तारित बैठकले एमालेसँग पार्टी एकीकरण गर्ने निर्णय गरेको हो । 

बैठकमा पार्टी अध्यक्ष प्रचण्डले पार्टी एकताबारे रिपोटिङ गरेका थिए । बैठकबारे जानकारी दिँदै प्रवक्ता पम्फा भुसालले भनिन्, “पार्टी एकता संयोजन समितिको बैठक बसेर बिहीबार पार्टी एकता गर्ने निर्णय भएको छ ।” 

पार्टी एकता गर्ने विषयमा अध्यक्षले राखेको प्रस्तावलाई बैठकले पारित गरेको उनले जानकारी दिइन् ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै