• २०८१ बैशाख ७ शुक्रबार

कोशी टप्पुमा अर्नाको संख्या ४४१ पुग्यो

kharibot

इनरुवा ।  अर्नाको लागि प्रसिद्ध मानिने कोशी टप्पु वन्यजन्तु आरक्षमा अर्नाको संख्यामा वृद्धि भएको छ । 

सुनसरीको पश्चिम कुशाहामा कार्यालय रहेको आरक्षले आइतबार पत्रकार सम्मेलन गरी आरक्षमा एक महिना अघि गरिएको अर्ना गणना अनुसार आरक्षभित्र अर्नाको संख्या ४४१ पुगेको बताएको छ । आरक्षमा अहिले एक वर्षको बच्चा अर्ना ३८ वटा, दुई वर्ष उमेर समूहका ४० वटा, अर्धवयस्क ३५ वटा, वयस्क पोथी १९१ वटा र वयस्य भाले १३७ वटा रहेका छन् ।

तीमध्ये ८३ प्रतिशत अर्ना कोशी नदीको पूर्वी तटबन्ध आसपास क्षेत्रमा र १७ प्रतिशत अर्ना कोशी नदीको पश्चिमतर्फ बसिरहेको पाइएको आरक्षका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । 

विश्वका पाँच देशमा मात्रै पाइने अर्ना कोशी टप्पुमा २०३२ सालमा ३३ वटाको संख्यामा रहेकोमा अहिले वृद्धि भई ४४१ पुगेको तिवारीले बताए । आरक्षबाट २०७३ को माघमा १३ वटा अर्ना चितवन राष्ट्रिय निकुञ्ज स्थानान्तरण गरिएको थियो भने कालगतिले पाँच वटा अर्नाको मृत्यु भएको र प्रतिशोधको भावनाले चार वटा अर्ना मारिएको संख्यासहित २२ वटा अर्ना घटेकोमा थप भएको ३१ वटा अर्नासहित आरक्षमा अहिले ४४१ अर्ना रहेको आरक्षले जनाएको छ । 

आरक्षले दिएको जानकारीअनुसार प्रत्येक दुई वर्षमा गरिँदै आएको अर्ना गणना सम्पन्न गरी यस वर्ष पनि नतिजा सार्वजनिक गरेको आरक्षका संरक्षण अधिकृत श्यामकुमार साहले बताए । 

आरक्षमा दुई वर्ष अगाडि गरिएको गणनाअनुसार ४३२ वटा अर्ना रहेका थिए । 

आरक्षमा वार्षिक वृद्धिदर आठ दशमलव एक प्रतिशतका दरले अर्नाको संख्यामा वृद्धि भएको संरक्षण अधिकृत साहले बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै