• २०८१ बैशाख ११ मंगलबार

गोरेको पक्राउ हो कि आत्मसमर्पण ? छानबिन समितिको दाबीमा प्रश्न उठ्यो !

kharibot

काठमाडौं । मंगलबार बिहानै ५:३४ बजे कामनपा ८ गौरीघाटबाट करोडौँको सुन तस्करीका नाइके मानिएका गोरे अर्थात् चूडामणि उप्रेती पक्राउ परेको सुन तस्करीबारे छानबिन गर्न सरकारले गठन गरेको विशेष समितिले गृह मन्त्रालयमा मध्याह्न पत्रकार सम्मेलन गरी जानकारी दियो तर त्यसलगत्तै सामाजिक सञ्जाल र मिडियाहरुमा सार्वजनिक भएको पत्रले भने समितिको दाबीलाई चुनौती दिएको छ । 

पत्रअनुसार गोरे पक्राउ परेको नभई आत्मसमर्पण गरी समिति मातहत आएको बुझ्न सकिन्छ । गत ३ गतेको मिति उल्लेख गरिएको पत्रअनुसार गोरे आफैँले आत्मसमर्पण गरेका हुन् । ३३ किलो सुनकाण्ड चर्चित र पेचिलो बन्दै जाँदा आफूलाई मात्र दोषी देखाउन खोजेको र विभिन्न व्यक्तिहरुबाट ज्यानको खतरा सृजना भएकाले गोरेले नेपाल मानवअधिकार संगठनका महासचिव केपी सुवेदीलाई सम्बोधन गरेर पत्र लेखी अदालतसम्म आफूलाई पुर्याइदिन भनेका छन् । 

पत्रमा गोरेले आफूसँग अझै धेरै प्रमाण भएको र त्यो अदालतमा बुझाउन चाहेको पनि उल्लेख गरेका छन् । पत्रमा उनले आफूलाई सुरक्षित साथ अदालतसम्म लगिदिन संगठन गुहारेका छन् । सार्वजनिक पत्रमा गोरेको हस्ताक्षर पनि रहेको छ । 

खास गरी आफू सुन तस्करको नाइके नभएको र ३८ सय किलो सुन तस्करी आफूबाटै भएको भन्ने समाचार आएपछि उनले त्यसको प्रतिवाद गर्न आत्मसमर्पण गरे पनि छानबिन समितिले भने आफूहरुले नै पक्राउ गरेको दाबी मंगलबार पत्रकारसम्मेलन गरी जानकारी दिएको थियो । पत्रसँगै छानबिन समितिको दाबीमाथि प्रश्न उठेको छ । 

गोरै आफैँ जसरी पनि अदालत पुग्ने भएपछि छानबिन समितिले आफैँले पक्राउ गरेको भनी चर्चित हुन खोजेको खुलेको छ । यद्यपि गोरेले आफू तस्करीमा संलग्न भएको कुरालाई भने नकारेका छैनन् तर आफैँलाई सुन तस्करको नाइके बनाउन खोजिएकोमा भने असन्तुष्ट रहेको पत्र तथा प्रकाशित, प्रसारित समाचारहरुबाट देखिन्छ । 

गोरेलाई आजै विराटनगर लगिएको छ । गोरे घटना पेचिलो बन्दै गएपछि सोमबार काठमाडौं आएको र मंगलबार विहान आत्मसमर्पण गरेको हुनसक्ने बताइएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै