• २०८१ कार्तिक २५ आइतबार

पुरानै स्वरुपमा फर्कियो गलकोट दरबार

kharibot

गलकोट । बागलुङको ऐतिहासिक गलकोट दरबार स्वरुपमा फर्किएको छ । बागलुङको पुरानो सदरमुकाम रहेको गलकोटको हरिचौर बजारमा रहेको गलकोट दरबारको पुनर्निर्माण गरिएको हो । द्वन्द्वकालमा तत्कालीन मल्ल राजाका परिवार विस्थापित भएपछि दरबार जीर्ण भएको थियो । अहिले दरबारका झ्याल ढोका पुरानै स्वरुपमा फेरिएको छ भने  रङ्गरोगनपछि चिटिक्क भएको छ ।

दरबारको पुनर्निर्माणसहित दरबार वरपर अहिले धमाधम भौतिक संरचना तयार भइरहेका छन् । लामो समयसम्म मर्मत सम्भार नहुँदा दरबारका झ्याल ढोका बिग्रिएका थिए । दरबार आन्तरिक पर्यटकको आकर्षणमा पर्दै गएपछि दरबारलाई पुनर्निर्माणसहित रिसोर्ट बनाउन थालिएको हो ।

दरबार आकर्षणको केन्द्रको रुपमा विकास भइसकेपछि पर्यटकलाई लक्षित गरी आवासीय सुविधा सहितको रिसोर्टको काम पनि धमाधम चलिरहेको छ । दरबारमा रहेको पुरानो घर र गोठलाई मौलिक रुपमा पुनर्निर्माण गरिएको छ भने तत्कालीन मल्ल राजाले निर्माण गरेको पोखरीको समेत पुनर्निर्माण थालिएको छ ।

गलकोट राज्य सञ्चालन भएको जीवित इतिहास रहेको एक सय वर्षभन्दा पुरानो गलकोट दरबार घुम्न आउने पर्यटक बढेपछि मल्ल परिवारकै सक्रियतामा दरबारको पुनर्निर्माणसँगै साजसज्जा लगायतको काम धमाधम भइरहेको छ । तत्कालीन भरतबम मल्ल राजाले राज्य गरेको गलकोट दरबार पर्यटक बोलाउने प्रमुख माध्यम बनेपछि उनकै पुस्ताले दरबारको संरक्षण थालिएको हो ।

दरबार संरक्षणसँगै आम्दानीकोसमेत स्रोत बढाउन दरबारमा रिसोर्टको सुविधा थप गर्न थालेको तत्कालीन राजा भरतबम मल्लका नाती मञ्जेश बम मल्लले बताए । मञ्जेशबम मल्ल, विजयबम मल्लसहित चारजना मिलेर गलकोट दरबार क्षेत्रलाई रिसोर्टमा परिणत गर्न थालिएको हो । विजयबम मल्लका अनुसार आगामी तीन महिनाभित्रै रिसोर्ट सञ्चालनमा ल्याउनेगरी धमाधम संरचना तयार भइरहेका छन् । दरबारमा फोटो खिच्ने स्थान, रुखमाथि कटेज, झुला, विद्युतीकरण लगायतको काम भइरहेको छ । दरबारमा रहेको बगँैचा, पानी पोखरी, कुवालगायत अन्य संरचनालाई समेत थप आर्कषक बनाउने कार्य भइरहेको छ । 

गलकोट दरबारमा आउने पर्यटकको सङ्ख्यामा उलेख्य वृद्धि भएपछि दरबार क्षेत्रको संरक्षण, पुनर्निर्माणसहित आवसीय सुविधा सहितको रिसोर्ट बनाउन थालिएको गलकोट नगरपालिका–५ हरिचौरका वडाध्यक्ष तथा दरबार संरक्षणका अगुवा पवन हमालले जानकारी दिए । “द्वन्द्वकालमा मल्ल परिवार विस्थापित भएपछि जीर्ण बनेको थियो, अहिले जीर्ण दरबारलाई मर्मत सम्भार गरेर चिटिक्क पारेका छौँ, हाम्रो मुख्य उद्देश्य भनेको आन्तरिक पर्यटक प्रर्वद्धन नै हो, दरबारलाई सङ्ग्रहालयको रुपमा विकास गर्ने, दरबार घुम्न आउने पर्यटकलाई दरबारको ऐतिहासिक विषयवस्तु सहितको सूचना केन्द्र स्थापना गर्ने र दरबारमा आएका पर्यटकले यही खान बस्ने सुविधा मिलाउनका लागि पूर्वाधार थप गरेका हौँ,” हमालले भने, “अन्य दरबार वरपरका अन्य भौतिक संरचना परम्परागत, ढुङ्गाले छाएर बनाएका छौँ ।”

हमालका अनुसार दरबार संरक्षणसँगै आन्तरिक पर्यटकबाट आम्दानी गर्ने र दरबारलाई दीर्घकालीन रुपमा पर्यटकीय केन्द्रका रुपमा बनाउन आर्थिक स्रोतसमेत आवश्यकपर्ने भएकाले रिसोर्ट निर्माण गर्न थालिएको हो । 

हमालका अनुसार पहिलो चरणमा दरबार मर्मत र अन्य भौतिक संरचनामा रु ५० लाख खर्च अनुमान गरिएको छ । पर्यटकको आवश्यकताअनुसार पूर्वाधारमा क्रमशः लगानी बढाउने सोचमा रहेको हमालको भनाइ छ । 

पर्यटन प्रबद्र्धनसँगै दरबार परिसरको जग्गामा कृषि गर्ने योजनासमेत उक्त युवा समूहमा छ । दरबार ९१ वर्ष पुरानो रहेको छ । दरबार परिसरमा नाति मन्जेश बम मल्लले माछापोखरी बनाएर विभिन्न प्रजातीका माछासमेत पाल्दै आउनुभएको छ । उक्त गलकोट दरबार र वरपरको जग्गा मल्लकी आमा सरोजा मल्लको नाममा छ ।

विसं २०३९ मा राजा भरतबमको निधन भएको थियो । राजा मल्लको निधनपछि दरबार संरक्षणको जिम्मा छोरा माधव मल्ल आएको थियो । परिवारसहित दरबारमा बस्दै आएका मल्ल द्वन्द्वको समयमा मारिएका थिए । विसं २०५९ वैशाखमा भएको हत्यासँगै मल्ल परिवार त्यहाँबाट विस्थापित बनेर काठमाडौँ गएपछि दरबार जीर्ण बनेको थियो । पछिल्लो सममा नाति मन्जेश बम मल्लले दरबारको संरक्षणमा चासो दिएपछि स्थानीयवासीले सघाएका छन् । विसं १९६८ को अन्त्यतिर राजा नारायणबम मल्लको निधन भएपछि भरतबम मल्ल गलकोट राज्यका अन्तिम राजा भएका थिए ।

विसं १९८९ मा ढुङ्गा, माटो, इँटा र काठ प्रयोग गरेर कलात्मक शैलीमा बनेको यो दरबार हेर्न, फोटो खिच्न र टिकटक बनाउनका लागि बागलुङ बजार, चितवन, काठमाडाँै र नेपालका विभिन्न क्षेत्रबाट घुम्न आउने गरेका छन् । दरबारको पर्खाल, पोखरी, बगैँचा, धन्सार, शीतलपाटी, मन्दिर हुँदै दरबार झण्डै पाँच रोपनी क्षेत्रफलमा फैलिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै