• २०८१ बैशाख ७ शुक्रबार

राजविराज विमानस्थल एक दशकपछि पुनः सञ्चालनमा

kharibot

राजविराज ।  पटक पटक उडान सञ्चालन तथा स्थगन हुँदै आएको राजविराज विमानस्थल एक दशकपछि आजदेखि पुनः सञ्चालनमा आएको छ । 

विमानस्थलको स्तरोन्नति (धावनमार्ग, ट्याक्सी–वे, तथा एप्रोन ‘पार्किङ’ कालोपत्रे) गरेपछि श्री एयरलाइन्सको ५० सिट यात्रु क्षमताको ‘नाइन ए एएमए’ कल साइन भएको विमानले औपचारिक उडान शुरु गरेको हो । विमानस्थलको शुभारम्भ गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले विमानस्थलको नियमित रुपमा उडान सञ्चालनको सुनिश्चितता गरिने उल्लेख गरे । पर्यटनमन्त्री अधिकारीको १०० दिने कार्ययोजनामा राजविराज र साँफेबगर विमानस्थल स्तरोन्नति गरी उडान शुरु गरिने उल्लेख छ ।

आफ्नो कार्ययोजना अवधिअघि नै काम सम्पन्न भई उडान शुरु भएकामा खुशी व्यक्त गर्दै मन्त्री अधिकारीले अन्य विमानस्थलको कामलाई पनि प्रभावकारी बनाइने बताए । 

उनले भने, “जनतालाई सुविधा प्रदान गर्नुपर्ने भएकाले जति यात्रु भए पनि चलाउनुस्, कमाउने अन्य धेरै गन्तव्य छन् तर निश्चित समयमा विमान उडाउने थिति बसाल्नुस्, केही समयपछि यात्रुको अभाव हुनेछैन ।” 

राजविराजलाई कार्गो हब बनाइने 

राजविराज विमानस्थनलाई यात्रुवाहकसँगै कार्गो हबका रुपमा विकास गरिने पर्यटनमन्त्री अधिकारीले बताए । उनले आर्थिक गतिविधि पनि बढ्ने भएकाले राजविराज, रामेछाप र लामिडाँडा विमानस्थनलाई कार्गो हब बनाउन कुनै समस्या नभय को बताए  । 

जिल्लाका सांसद तथा बासिन्दाले पनि राजविराजलाई कार्गो हब बनाउन माग गरेका थिए । भारतबाट पशुपतिनाथ आउन चाहने तीर्थयात्रीका लागि पनि विमानस्थल उपयुक्त भएकाले दक्षिणतर्फको सडक निर्माण गरी पर्यटक तान्न सकिने मन्त्री अधिकारीको बुझाइ छ । 

सो अवसरमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरी र काठमाडौँको सम्बन्ध जोड्न विमानस्थलले महत्पवूर्ण भूमिका खेल्ने भन्दै छिमेकी देश भारत र चीन जोड्ने दक्षिण उत्तर सडक विस्तार गर्नसके धेरै पर्यटक आकर्षण गर्न सकिने धारणा राखे । 

नेपाली काँग्रेसका नेता तथा सांसद जीतेन्द्रनारायण देवले विमानस्थलले यात्रुको आवतजावत मात्र नभई समग्र सप्तरीको विकास र समृद्धिका लागि ढोका खुलेको उल्लेख गरे । राष्ट्रिय जनता पार्टी नेपालका महासचिव मनिष सुमनले विमानस्थल सञ्चालनसँगै सप्तरीवासीको वर्षौदेखिको सपना साकार भएको बताउँदै यसलाई कार्गो हबका रुपमा विकास गरिनुपर्छ भने । नेकपाका नेता तथा प्रदेशसभा सदस्य सत्यनारायण मण्डलले विमानस्थलले यात्रुको सहजता तथा जिल्लाको आर्थिक समृद्धिसँगै पहाड र तराईको सम्बन्ध जोड्न मद्दत पुग्ने बताए । 

लामो समयपछि विमानस्थल पुनःसंचालन भएकामा स्थानीयवासीमा उत्साह छाएको छ । सयौँको संख्यामा उपस्थित उनीहरुले राजधानीलगायत अन्य गन्तव्यमा पुग्न सहज हुने बताए । अहिलेसम्म विमान नचढेको बताउने स्थानीयवासी नन्दकिरोशर यादवले अब परिवारसहित विमान चढेर काठमाडौँ घुम्न जाने बताए । 

स्थानीय सञ्चारकर्मी मनोहर पोखरेलले विमानस्थल सञ्चालनमा आएपछि जिल्लाको विकास तथा उद्योग कलकारखाना फष्टाउने आशा व्यक्त गर्नुभयो । विमानस्थलमा एक हजार पाँच सय मिटर लम्बाइ तथा ३० मिटर चौडाइको पक्की धावन मार्ग, ९० मिटर लम्बा र ६० मिटर चौडाइको एप्रोन तथा ११० मिटर लम्बाइ र २० मिटर चौडा ट्याक्सी–वे निर्माण गरिएको छ । विमानस्थलको कूल लागत मूल्यअभिवृद्धि करसहित रु ३० करोड ३० लाख छ । 

सो विमानस्थलमा ७२ सिट क्षमताको विमानले दुईतर्फी सबै मौसममा उडान अवतरण गर्न सक्ने नेपाल नागरिक उड्यन प्राधिकरणले जनाएको छ । सप्तरीको विसनपुरा गाउँपालिकामा अवस्थित राजविराज विमानस्थलको विसं २०१६ मा तत्कालीन मन्त्री गणेशमान सिंहले उद्घाटन गरेका हुन् । यसअघि कच्ची धावनमार्ग रहेको बेला विमानस्थलबाट ट्वीनअटर (१९ सीट क्षमताको) विमानले पहाडी जिल्लामा मात्र उडान लिने गरेको थियो । विसं २०६४ तिर करीब एक महिना तारा एयरले राजविराज–काठमाडौँ उडान भरे पनि त्यसपछि राजविराज विमानस्थलमा विमान उडान अवतरण हुन सकेको थिएन । काठमाडौँबट करीब २४ मिनेटको हवाई यात्रापछि राजविराज विमानस्थल पुगिनेछ । 

असार १ देखि नियमित उडान 

श्री एयरलायन्सले क्यानसँगको समझदारीअनुसार आगामी असार १ देखि राजविराज–काठमाडौँ नियमित उडान भर्ने छ । कम्पनीका प्रबन्ध निर्देशक सुधीर मित्तलले असारदेखि दैनिक उडान भर्ने तयारी गरिएको जानकारी दिए । दैनिक एक उडान गर्ने बताइएको छ । 

पर्यटनमन्त्री अधिकारीले पनि यात्रुको अवस्था हेरेर दैनिक उडान सञ्चाल गर्न निर्देशन दिइएको बताए । पर्यटनमन्त्री अधिकारीसहित समाजवादी फोरमका अध्यक्ष यादव, सप्तरीका सांसद, क्यानका उच्च पदाधिकारी, सञ्चारकर्मीसहितको टोली विमानस्थल पुगेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै