• २०८१ बैशाख ७ शुक्रबार

रसिया विश्वकपमा यी हुन् गोल्डेन बुटका प्रमुख ८ दाबेदार, को को परे ? 

kharibot

काठमाडौँ । विश्वकप नजिकिदै गर्दा कुन खेलाडीले धेरै गोल गर्ला भन्ने अनुमान र कौतुहलता पनि सुरु भएको छ । विश्व क्लब फुटबलमा पछिल्ला बर्षमा आफ्नो उत्कृष्ट प्रदर्शनबाट दबदबा बनाइराखेका केहि खेलाडीहरु छन् जो यस विश्वकपमा गोल्डेन बुटका प्रबल दाबेदार रहेका छन् । 

यस अघि २०१० को विश्वकपमा जर्मनीका थोमस मुलर र २०१४ को विश्वकपमा कोलम्बियाका जेम्स रोड्रीगेजले गोल्डेन बुट जितेका थिए । रसिया विश्वकपमा धेरै गोल गरेर गोल्डेन बुटको उपाधि जित्न सक्ने आठ खेलाडीको चर्चा गर्न खोजेका छौ । 

यस विश्वकपमा धेरै गोल गर्न सक्ने खेलाडीको सुचिमा अठौ स्थानमा उरुग्वेका एडिसन कभानी रहेका छन् । पिएसजीबाट व्यावसायिक फुटबल खेल्ने कभानीले यस सिजनमा पिएसजीका लागि ४० गोल गरेका छन् । लुइस स्वरेजसँग उरुग्वेको आक्रामक क्षेत्रमा खेल्ने कभानीले उनको समुहमा रहेका टिमका कारणपनि धेरै गोल गर्न सक्ने देखिएको छ ।

उरुग्वे समुह ए मा आयोजक रसिया, साउदी अरब र इजिप्टसँग रहेको छ, जुन टिमको डिफेन्स कम्जोर रहेको देखिन्छ । स्वरेज र कभानीले सजिलै यी टिमको डिफेन्सलाई चलाएर गोल गर्ने सक्ने अनुमान गर्न सकिन्छ ।

यस सुचिमा सातौ स्थानमा इङल्याण्डका ह्यारी केन रहेका छन् । टोटनह्यामबाट क्लब फुटबल खेल्ने केनले यस सिजनमा खेलेका ४८ खेलमा ४१ गोल गरेका छन् । त्यस्तै इङल्याण्डका लागि २०१७ मा खेलेका ६ खेलम ७ गोल गरेका छन् । स्टार खेलाडीले भरिपूर्ण इङल्याण्डले ठुलो प्रतियोगितामा आफुलाई अब्बल साबित गर्न नसकेको धरै बर्ष भएको बेला केनले टिमको नेतृत्व गर्दै यस विश्वकपमा धेरै गोल गर्न सक्ने अनुमान गरिएको छ ।

यस सूचिको छैठौ स्थानमा स्पेनका मिडफिल्डर इस्को रहेका छन् । रियल म्याड्रिडका प्रमुख खेलाडी रहेका इस्को अहिले स्पेनको राष्ट्रिय टिमका पनि महत्वपूर्ण खेलाडी हुन् । हालै अर्जेन्टिनाविरुद्धको मैत्रीपूर्ण खेलमा इस्कोले ह्याट्रिक गरेर विश्वकपमा आफ्नो इरादा प्रष्ट पारेका छन् । इस्कोले रियल म्याड्रिडआ लागि यस सिजनमा खेलेका ४१ खेलमा ९ गोल गरेका छन् ।

यस सुचिमा पाचौ स्थानमा फ्रान्सका एन्टोनी ग्रिजम्यान रहेका छन् । एथलेटिको बाट व्यवसायिक फुटबल खेल्ने ग्रिजम्यानले यस सिजनमा एथलेटिकोका लागि २९ गोल गरेका छन् भने युरोपा लिगको फाइनलमा मार्सेलीविरुद्ध २ गोल गरेर उपाधि जिताएका ग्रिजम्यानले राष्ट्रिय टिम फ्रान्सका लागि ५३ खेलमा २० गोल गरिसकेका छन् । उनि पनि यस विश्वकपमा गोल्डेन बुटका प्रबल दाबेदार बन्न सक्ने देखिएको छ ।

यस सुचीको चौथो स्थानमा ब्राजिलका नेइमार रहेका छन् । इन्जुरीबाट निस्केर टिममा फर्किन प्रयासरत नेइमार ब्राजिलका अहिलेका प्रमुख खेलाडी हुन् । नेइमारले पिएसजीका लागि यस सिजनमा कुल २७ ग्ल गरेका छन् । गाब्रियल जिसस, विलियन र कोन्टिन्हो जस्ता स्टार खेलाडी मिडफिल्डमा रहेका कारण नेइमारले विश्वकपमा धेरै गोल गर्न सक्ने देखिएको छ ।

यस सुचिमा तेस्रो स्थानमा जर्मनीका थमस मुलर रहेका छन् । मुलरले जर्मनीका लागि पछिल्ला दुई विश्वकपमा ११ गोल गरेका छन् । २०१० को विश्वकपमा ६ गोल गरेर गोल्डेन बुट जितेका मुलरले २०१४ को विश्वकपमा ५ गोल गरेर दोस्रो स्थानमा रहेका थिए । मुलरले गर्ने गोल त्यति आकर्षक नहुने भएपनि टिमका लागि चाहिएको बेला गोल गर्ने खेलाडीको रुपमा उनी चर्चित छन् । यस विश्वकपमा गोल्डेन बुटका दाबेदार मध्ये उनि एक हुन् ।

यस सुचीमा दोस्रो स्थानमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो रहेका छन् । यस सिजनमा रियल म्याड्रिडका लागि ४३ गोल गरेका रोनाल्डोले विश्वकपमा अहिलेसम्म केबल ३ गोल मात्र गरेका छन् । पोर्चुगललाई २०१६ को युरो कप जिताउन महत्वपूर्ण भूमिका खेलेका रोनाल्डो फाइनलमा खेलको सुरुमै घाइते भएपनि टिमले युरो कप जितेको थियो । विश्वकपमा पोर्चुगल फेभरेट टिम नभएपनि सरप्राइज टिमको रुपमा लिन सकिन्छ । रियललाई लगातार तेस्रो पटक च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका रोनाल्डोले च्याम्पियन्स लिगमा १५ गोल गरेका थिए । कुनै पनि बेला गोल गर्न सक्ने गोल मेशिनको रुपमा रहेका रोनाल्डो यस विश्वकपमा गोल्डेन बुटका दाबेदार मध्ये प्रमुख खेलाडीको रुपमा रहेका छन् ।

यस सुचीको पहिलो नम्बरमा अर्जेन्टिनाका लियोनेल मेसी रहेका छन् । यस विश्वकपमा अर्जेन्टिनालाई विश्वकप जित्न सक्ने टिमको रुपमा हेरिएको छ । बार्सिलोनाका लागि यस सिजनमा ४४ गोल गरेका मेसीले ला लिगा र कोपा डेल रे को उपाधि जिताएका थिए । उत्कृष्ट फर्ममा रहेका मेसी यस विश्वकपमा गोल्डेन बुटका प्रमुख दाबेदार हुन् । मेसीले विश्वकपमा अहिलेसम्म ५ गोल गरेका छन् जसमा गत विश्वकपमा ४ गोल गरेर गोल्डेन बल जितेका थिए । मेसीले हालै हैटीसँग भएको खेलमा ह्याट्रिक गरेर विश्वकपमा आफ्नो इरादा प्रष्ट पारेका छन् ।        
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै