• २०८१ बैशाख ७ शुक्रबार

उत्तर कोरिया र अमेरिकाबीच ‘महत्वपूर्ण कागज’मा हस्ताक्षर 

kharibot

तस्बिर : CNN

काठमाडौं । उत्तर कोरिया र अमेरिकाले कोरियाली प्रायद्वीपलाई आणविक निरस्त्रीकरणको बाटोमा लैजाने ‘महत्वपूर्ण कागज’मा मंगलबार हस्ताक्षर गरेको अमेरिकी तथा विभिन्न अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएका छन् ।

मंगलबार दुई ‘शत्रुदेश’का राष्ट्रपतिहरु किम जोङ उन र डोनाल्ड ट्रम्पले सिंगापुरको सेन्टोसा आइस्ल्याण्डमा कपेल्ला होटलमा भएको ऐतिहासिक भेटवार्ताका दौरान उक्त हस्ताक्षर गरेका हुन् । 

यद्यपि उक्त हस्ताक्षरित कागगजमा के—के बुँदा समेटिएका छन् भन्ने सार्वजनिक भइसकेको छैन । आजै उक्त सहमतिका बुँदाहरु मिडियालाई हस्तान्तरण गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पले किम जोङ उनसँगै उपस्थित भएर मिडियाहरुलाई बताएका छन् । केही समयपछि नै ट्रम्पले पत्रकार सम्मेलन गरी यसबारे विस्तृतमा बताउने भएका छन् । 

मंगलबार दुई राष्ट्रपतिबीच भएको पाँच घण्टा लामो शान्तिवार्ताको प्रयासस्वरुप उक्त कागजमा हस्ताक्षर भएको हो ।

किम निस्किए 
सीएनएनका अनुसार उत्तर कोरियाली राष्ट्रपति किम भर्खरै शिखरसम्मेलनबाट बाहिरिएका छन् । संयुक्त हस्ताक्षर कार्यक्रमलगत्तै किम निस्किएका हुन् ।   

किमलाई ह्वाइटहाउसमा बोलाउँछु : ट्रम्प 
यसैबीच, अमेरिकी राष्ट्रपति ट्रम्पले दुई राष्ट्रपतिको संयुक्त हस्ताक्षरलगत्तै मिडियासँग कुरा गर्दै किमलाई ह्वाइटहाउसमा बोलाउने बताएको सीएनएनले जनाएको छ । उनले सो क्रममा सम्मेलनबाट किम र आफूबीच महत्वपूर्ण सम्बन्ध स्थापित भएको पनि बताएका छन् । 

दुईदेशको झण्डाअगाडि भेट
ऐतिहासिक सम्मेलनको सुरुवात किम र ट्रम्पले उक्त होटलमा दुवै देशको झण्डा अगाडि सम्मानित र कूटनीतिक परम्पराअनुरुप ऐतिहासिक भेट गर्दै हात मिलाएका थिए । सो क्रममा ट्रम्पले किमको प्रशंसा गर्दै किम एक असल वार्ताकार भएको पनि बताएका थिए । किमले आफ्ना जनता र देशका लागि वार्ताको टेबलमा बसेको ट्रम्पको प्रतिक्रिया थियो । 

आणविक निरस्त्रीकरण तीव्रगतिमा 
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरियाली प्रायद्वीपमा आणविक निरस्त्रीकरण एकदमै तीव्रगतिमा सुरु हुने बताएका छन् । उत्तर कोरियाली नेता किमसँगको भेटलगत्तै ट्रम्पले मिडियाको प्रश्नको उत्तर दिँदै उक्त खुलासा गरेका हुन् । 

विश्वले छिट्टै परिवर्तन देख्नेछ : किम 
यसैबीच, उत्तर कोरियाली राष्ट्रपति किमले पनि विश्वले चाँडै परिवर्तन देख्ने घोषणा गरेका छन् । राष्ट्रपति ट्रम्प र आफूबीच ऐतिहासिक भेटघाट भएको भन्दै किमले विगतलाई छोडेर अगाडि बढेको बताएका हुन् । दुई राष्ट्रपतिले यो प्रगतिलाई निरन्तरता दिँदै अगाडि बढ्ने समेत मिडियासँगको कुराकानीमा बताएका थिए । 

यसअघि सिंगापुरमा भइरहेको यो ऐतिहासिक भेटवार्तामा पहिलो चरणमा ट्रम्प र किमले भेटवार्ता गरेका थिए । होटलको लाइब्रेरीमा भएको सो भेटवार्ता अघि दुवैले मिडियासँग छोटो कुराकानी गरेका थिए ।

डोनाल्ड ट्रम्पले आफुले निकै राम्रो महसुस गरेको भन्दै हामीबीच राम्रो कुराकानी हुने छ भन्दै उनले भेटवार्ता सफल हुनेमा आफु विश्वस्त रहेको बताएका थिए । ट्रम्पले आफ्नो लागि यो निकै सम्मानको कुरा भएको बताउदै हामीबीच राम्रो सम्बन्ध स्थापित हुनेमा आफुलाई कुनै शंका नरहेको बताएका थिए ।

त्यस्तै उत्तर कोरियाली किमले यँहा सम्म आउन आफुले निकै मिहिनेत गरेको र निकै कठिनाइका बीच आफु यँहा आएको बताएका थिए । उनले विगतमा निकै उतार चढावबाट गुज्रिएको बताउदै यस वार्ता सकारात्मक टुंगोमा पुग्ने विश्वास लिएको बताएका थिए ।

एक्ला एक्लै भएको बैठक पछि दुवै नेताहरु आ-आफ्ना विशेष सहयोगीका साथ बैठकमा बसेका थिए । अमेरिकी राष्ट्रपति ट्रम्पसँग विदेश मन्त्री माइक पोम्पियो, ह्वाइट हाउसका चिफ अफ स्टाफ जोन केली र सुरक्षा सल्लाहकार जोन बाल्टन रहेका छन् भने उत्तर कोरियाली नेता किमसँग उनका सहयोगी किम योंग चोल, विदेश मन्त्री री योग र पुर्व विदेशमन्त्री री सु योंग साथमा रहेका थिए ।

उत्तर कोरियाका एजेन्डा :

यसैबीच यस शिखर वार्ताका लागि उत्तर कोरियाले गर्दै आएको आणविक क्षेप्यास्त्रको उत्पादन र यसको परीक्षणको बारेमा स्पष्ट धारणा राख्ने बताइएको थियो। 

साथै विश्व समुदायबाट कूटनीतिक तथा अन्य हिसाबले पनि एक्लिएको उत्तर कोरियाले संयुक्त राज्य अमेरिका र संयुक्त राष्ट्रसंघसँग पनि केही गुनासोहरु वा उसमाथि लगाइएको नाकाबन्दी खोल्ने विषयमा पनि केही मागहरु राख्न सक्ने अनुमान विश्लेषकहरुले गरेका थिए । 

वार्ताको खर्च डेढ सय करोड :

यसैबीच प्राप्त अर्को एक समाचारअनुसार सिङ्गापुरले आयोजना गरेको यस बैठकका लागि करिब एक करोड ५० लाख अमेरिकी डलर खर्च हुने अनुमान गरिएको सिङ्गापुरले जनाएको छ । 

सिङ्गापुरका प्रधानमन्त्री ली सिएन लुङले आइतबार मात्र उक्त खर्चको बारेमा जानकारी दिँदै सो कुरा बताए । 

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति तथा उत्तर कोरियाली नेताबीच यही मङ्गलबार हुने शिखर वार्ताका लागि सिङ्गापुरले एक करोड ५० लाख अमेरिकी डलर खर्च गर्ने योजना बनाएको उनले सुनाए । 

खर्चको करिब पचास प्रतिशत त सुरक्षा प्रबन्धमा नै लगाइएको उनले भने । उनले सिङ्गापुरले शान्तिका लागि आफ्नो देशले प्रयत्न गरेको तर यहाँको खर्चको विवरणका लागि निकै चासोका साथ प्रश्नहरु उठेकोले उक्त खर्चको कुरा गरेको बताएका थिए । 

सकारात्मक प्रयास : विश्व समुदाय 

यसैबीच सिङ्गापुरमा हुन लागेको अमेरिका र उत्तर कोरियाको यस शिखर वार्ता निकै नै सकारात्क प्रयास भएको विश्व समुदायले प्रतिक्रिया दिएको छ । 

विश्व समुदायले यस प्रयासबाट विश्वमा शान्ति स्थापना होस् भन्ने कामना पनि गरेको छ । आणविक अस्त्रको होडभन्दा यसरी वार्तामा बसेर सकारात्मक रुपमा आफ्ना विचार राख्नुले विश्वमा नै शान्ति र सौहार्दताको सन्देश जाने उनीहरुको ठहर छ । 

यस वार्ताले कोरियाली प्रायद्धीप, एसिया तथा यतिमात्र नभएर सिंगो विश्वमा नै शान्ति स्थापनाको मार्ग खोल्न सकोस भन्ने कामना पनि विश्वका नेताहरु, विभिन्न संघ संस्था र देशले गरेका छन् ।

ट्रम्प आजै अमेरिका फर्किने 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आजै अमेरिका फर्किने भएका छन् । 

ट्रम्प अपेक्षा गरिएभन्दा चाडो उनी वार्ता भएकै दिन बेलुका स्वदेश फर्किन तयार भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसले सोमबार जनाएको छ । 

सामूहिक भेटवार्तापछि उहाँहरुका बीचमा एक्ला एक्लै भेटवार्ता हुने छ । एक्ला एक्लै भेटवार्तामा उहाँहरू बाहेक भाषा अनुवादक मात्रै सहभागी हुनेछन् । त्यसपछि विभिन्न दुई पक्षीय भेटवार्ता र खाना खानेलगायतका कार्यक्रमहरु तय भएका छन् ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै