• २०८१ बैशाख ७ शुक्रबार

विश्वकप फुटबल आजदेखि सुरु हुदै, ३२ देशको भिडन्त एक महिनासम्म चल्ने 

kharibot

काठमाडौँ । आज नेपाली समय अनुसार आज साँझ ८:४५ बजे आयोजक रुस र साउदी अरेबियाबीचको खेलमा पहिलो सुरु भएसँगै विश्व फुटबलकै ठूलो प्रतियोगिताको २१औं संस्करण मस्कोको लुझनिकी रंगशालामा बिहीबार राती औपचारिक रुपमा सुरु हुनेछ । 

विश्व फुटबलको सर्बोच्च निकाय फिफाका अनुसार संगीतका अन्तर्राष्ट्रिय स्टार रोबी विलियम्सले ८१ हजार दर्शक क्षमताको लुझनिकी रंगशालामा उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन् । ठूलो सांगीतिक कन्सर्टका रुपमा चल्ने कार्यक्रममा विलियम्सलाई रुसी स्टार आइडा गारिफुलिनाले सघाउनेछिन् । दुई पटक विश्वकपको उपाधि जितेका ब्राजिली पूर्व स्टार रोनाल्डो उदघाटन समारोहका अर्का मुख्य आकर्षण हुनेछन् ।

लुझनिकी, काजान एरिना, फिसत, निझनी नोभगोरोड, सामरा, रोस्तोभ अन डन, सेन्ट पिट्सबर्ग, स्पार्टक, इकाटेरिनबर्ग एरिना, मोर्डोभिया एरिना, कालिनगार्ड र भोल्गोग्राड गरी विभिन्न ११ सहरका १२ रंगशालाले विश्वकपका ६४ खेल आयोजना गर्नेछन् ।

प्रतियोगिताभर ३५ लाखभन्दा बढीले रंगशालामै गएर खेल हेर्ने अनुमान गरिएको छ भने विश्वभर एक अर्बभन्दा बढीले टेलिभिजनबाट दैनिक विश्वकप हेर्ने फिफाको अपेक्षा छ । विश्वकपकै लागि १० लाखभन्दा बढि विदेशी पर्यटकले रुसको भ्रमण गर्ने अपेक्षा गरिएको छ ।

एक महिना सम्म चल्ने यस विश्वकपमा विभिन्न ३२ देशले भाग लिदै छन् । जसमा युरोपबाट १४, दक्षिण अमेरिकाबाट ५, एशियाबाट ५, उत्तर अमेरिकाबाट ३ र अफ्रीकाबाट ५ गरि ३२ देश सहभागी हुदै छन् ।

विश्वकपमा छनौट भएका देशमा युरोपबाट आयोजक रसियासहित बेल्जियम, जर्मनी, इङल्याण्ड, स्पेन, पोल्याण्ड, आइसल्याण्ड, सर्विया, पोर्चुगल, फ्रान्स, स्वीट्जरल्याण्ड, क्रोएसिया, स्वीडेन र डेनमार्क रहेका छन् ।

त्यस्तै दक्षिण अमेरिकाबाट ब्राजिल, उरुग्वे, अर्जेन्टिना, कोलोम्विया र पेरु छनौट भएका थिए ।  त्यस्तै एशियाबाट इरान, जापान, दक्षिण कोरिया, साउदी अरेबिया र अस्ट्रेलिया छानिएका थिए । 

त्यस्तै उत्तर अमेरिकाबाट मेक्सिको, कोस्टारिका र पनामा विश्वकपमा छनौट भएका थिए भने अफ्रीकाबाट नाइजेरिया, इजिप्ट, सेनेगल, मोरोक्को र ट्युनिसिया छनौट भएका थिए ।

विश्वकपमा छानिएका ३२ देशलाई हरेक समुहमा ४ देश रहने गरि ८ समुहमा विभाजन गरिएको छ ।

गत मङ्सिरमा १५ मा गरिएको ड्र अनुसार समुह ए मा आयोजक रसिया, साउदी अरेबिया, इजिप्ट र उरुग्वे परेका छन् । समुह बि मा पोर्चुगल, स्पेन, मोरक्को र इरान परेका छन् ।

त्यस्तै समुह सि मा फ्रान्स, अस्ट्रेलिया, पेरु र डेनमार्क परेका छन् । समुह डी मा अर्जेन्टिना, आइसल्याण्ड, क्रोसिया र नाइजेरिया परेका छन् । त्यसैगरी समुह ई मा ब्राजिल, स्विटजरल्याण्ड, कोस्टारिका र सर्बिया परेका छन् । 

समुह एफ मा जर्मनी, मेक्सिको, स्विडेन र दक्षिण कोरिया परेका छन् । त्यस्तै समुह जी मा बेल्जियम, इङल्याण्ड, ट्युनिसिया र पानामा परेका छन् । त्यस्तै समुह एच मा पोल्याण्ड, सेनेगल, कोलोम्बिया र जापान परेका छन् । 

अर्जेन्टिना तुलनात्मक रुपमा कठिन समुहमा :

यस विश्वकप फुटबलमा तुलनात्मक रुपमा अर्जेन्टिना रहेको समुह कठिन समुह देखिएको छ । तर अर्जेन्टिना रहेको समुह डी लाई यस विश्वकपको सबै भन्दा चासो व्यक्त भएको समुहको रुपमा लिन सकिन्छ । यस समुहलाई यस विश्वकपको ग्रुप अफ डेथ नै त नभनौ तर कठिन समुहको रुपमा लिन सकिन्छ । किनकी विश्वकप छनौटका खेललाई हेर्ने हो भने अर्जेन्टिना अन्तिम समयमा मेसीको जादुयी खेलका कारण रसिया पुगेको हो । 

अन्यथा अर्जेन्टिनाले आफ्नो वास्तविक पहिचान भन्दा निकै खराब खेल प्रस्तुत गरेको थियो । त्यस्तै यसै समुहको अर्को टिम क्रोसिया व्यक्तिगत रुपमा उत्कृष्ट खेलाडीहरु भएको टिम हो । अहिलेका उत्कृष्ट मिडफिल्डर लुका मोड्रीचको यो टिम बलियो टिमको रुपमा लिइन्छ । सन् १९९८ मा पहिलो पटक विश्वकप खेलेर तेस्रो स्थान हासिल गरेको थियो । गत विश्वकपमा समुह चरणबाट बाहिरएको भएपनि अहिले राम्रो टिम मध्ये एक मानिन्छ । 

यसै समुहमा आइसल्याण्ड टिम खेलका लागि चिनिन्छ । गतवर्षको युरो कपमा क्वाटरफाइनल सम्म पुगेर चकित बनाएको युरोपको यो सानो देश विश्वकपमा भाग लिने सबै भन्दा कम जनसंख्या (३३७७८०) भएको देश हो । यस टिमले विश्वकप छनौटमा पनि आफ्नो समुहमा शिर्ष स्थानमा रहदै छनौट भएको थियो ।

त्यस्तै अफ्रिकी समुहबाट छनौट भएको अर्को देश नाइजेरिया पनि यस समुहको अर्को कठिन टिम मान्न सकिन्छ । यसरी मेसी भएको टिमका लागि कुनै टिम कठिन हुदैन तर विश्वकप जस्तो प्रतियोगितामा अर्जेन्टिना आफ्नो समुहमा परेका टिम देखि पक्कै खुशी छैन ।

इटाली ६० बर्षमा पहिलो पटक विश्वकपमा छनौट हुन् असफल :

इटाली ६० बर्षमा पहिलो पटक विश्वकपमा छनौट हुन् असफल भएको हो । यस अघि सन् १९५८ मा इटाली छनौटमा असफल भएको थियो तर संयोग त्यसबेलाको छनौट खेल स्विडेनमा भएको थियो ।

पहिलो पटक सन् १९३४ मा विश्वकपमा भाग लिएको इटालीले चार पटकसम्म विश्वकप जिती सकेको छ । इटालीले सन् १९३४, १९३८, १९८२ र २००६ मा गरी चार पटक विश्वकप जितेको छ भने यसअघि १८ पटकसम्म विश्वकप खेलिसकेको छ । 

३३ क्यामरा र १५ स्किनमा विश्वकपको निगरानी, पहिलो पटक हुदै छ भिडियो रिफरल :

विश्वकप सुरु भएको ८८ बर्ष पछि यस विश्वकपमा पहिलो पटक भिडियो रेफ्रीको सहयोग लिइदै छ । विश्वकपलाई थप रोचक र विवाद रहित बनाउन र निष्पक्ष बनाउन फिफाले भिडियो रेफरल प्रविधि अपनाउन लागेको छ । अब मैदानमा रहेका रेफ्रीलाई गोल भए नभएको एकिन नभए उनले भिडियो रेफ्रीको मद्धत यस विश्वकपमा लिन पाउने भएका छन् ।

फिफाका अनुसार यसका लागि ३३ क्यामरा र १५ ठुला स्क्रिनले खेललाई नजिकबाट हेरिने व्यवस्था मिलाइएको छ । फिफाले यसका लागि १३ जनाको असिस्टेन्ट रेफ्रीको टिम बनाएको छ जसले मैदानमा खेल खेलाउने रेफ्रीलाई सहयोग गर्ने छन् ।

यो टिम रसियाको मस्कोमा एक सेन्ट्रल भिडियो अप्रेशन रुममा बसेर सबै खेलको प्रत्यक्ष निगरानी राख्ने भएका छन् ।  खेलका क्रममा रेफ्रीले सहयोग मागेका बेला यो टिमले सहयोग गर्ने छ । यस प्रक्रियामा भिडियो रेफ्रीलाई कुनै फैसला लिने अधिकार भने हुदैन उनीहरुले मैदानमा रहेका रेफ्रीलाई सहयोग प्रदान गर्दछन भने अन्तिम निर्णय भने मैदानमा रहेका रेफ्रीले नै लिने छन् । 

यस प्रक्रियाका लागि ३३ ब्रोडकाष्ट क्यामेरा जडान गरिएको छ भने ८ सुपर स्लो मोसन क्यामरा पनि रहेका छन् ।  यसका अलावा ४ अल्ट्रा स्लो मोसन क्यामरा र दुई अफसाइड क्यामरा पनि जडान गरिएको छ ।  त्यस्तै नकआउट स्टेजका लागि हरेक गोल पोस्टको पछाडि २ अतिरिक्त अल्ट्रा स्लो मोसन क्यामरा लगाइने भएको छ ।  यी सबै क्यामरालाई भिडियो रेफरल टिमले आफ्नो मास्टर कन्ट्रोल रुमबाटै कनेक्ट गरेरतुरुन्तै रेफ्रीलाई सहयोग गर्ने छ । 

विगतमा भएका विश्वकपमा विवादित रहेका गोलका कारण नतिजा मै फरक परेकाले भिडियो रेफरल प्रणालीलाई विश्वकपमा पनि ल्याइएको छ । यस्तो प्रणाली यस अघि विभिन्न लिगहरुमा सफलताका साथ प्रयोग भइसकेको छ ।   

चार विषयमा भिडियो रिफरलको प्रयोग हुने :

फिफाका अनुसार यस विश्वकपमा चार स्थितिमा भिडियो रेफरलको प्रयोग हुने छ । पहिलो गोल भएपछि, दोस्रो पेनाल्टीसँग जोडिएको फैसलामा, तेस्रो रेड कार्डसँग सम्बन्धित फैसला या रेड कार्ड देखाएको समयमा र चौथो खेलाडीले गरेको गल्तिको विषयमा । 

फिफाका अनुसार विश्वकपका लागि छानिएका ३५ रेफ्रीलाई न्युनतम एक पटक भिडियो रेफ्रीको जिम्मेवारी दिइने भएको छ जसमा एक पटकमा १३ रेफ्री भिडियो रिफरल केन्द्रमा काम गर्ने छन् ।

यी हुन् विश्वकपमा अहिलेसम्म धेरै गोल गर्ने ७ खेलाडी

विश्वकपमा सबै भन्दा धेरै गोल गर्ने खेलाडी जर्मनीका मिरोस्लाभ क्लोज हुन् । क्लोजले विश्वकपमा २४ खेल खेल्दै कुल १६ गोल गरेका छन् । क्लोज जर्मनीका लागि ४ विश्वकप खेलेका थिए ।  उनले २००२, २००६,२०१० र २०१४ को विश्वकप खेलेका थिए । उनले २०१४ को विश्वकप जर्मनीले जितेपछि अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएका थिए भने हाल उनि जर्मनीको राष्ट्रिय टिमको कोचिंग टिममा रहेका छन् । 

त्यस्तै  विश्वकपमा धेरै गोल गर्ने सुचिमा ब्राजिलका चर्चित खेलाडी रोनाल्डो रहेका छन् ।  रोनाल्डोले विश्वकपमा १९ खेल खेल्दै १५ गोल गरेका थिए । रोनाल्डोले ३ विश्वकपमा खेलेका थिए । अधिकारिक रुपमा रोनाल्डोले ४ विश्वकप खेलेपनि १९९४ को विश्वकपमा १७ बर्षको उमेरमा ब्राजिलको विश्वकप टोलीमा परेपनि सो बर्ष गोल भने गरेनन् ।  उनले १९९८, २००२ र २००६ को विश्वकप खेलेका थिए । रोनाल्डो सन २०११ मा सबै खाले व्यावसायिक फुटबल खेलबाट सन्यास लिएका थिए । 

विश्वकपमा धेरै गोल गर्ने खेलाडीको सुचिमा तेस्रो स्थानमा पश्चिम जर्मनीका जर्ड मुलर रहेका छन् ।  उनले सन १९७० र १९७४ को दुई विश्वकपका १३ खेलमा १४ गोल गरेका थिए । 

यस सुचिमा चौथो स्थानमा फ्रान्सका जस्ट फोन्टाइने रहेका छन् ।  उनले १९५८ को विश्वकपका केबल ६ खेल खेल्दै १३ गोल गरेका थिए ।

त्यस्तै विश्वकपमा धेरै गोल गर्ने खेलाडीको सुचिमा ब्राजिलका चर्चित खेलाडी पेले पाचौ स्थानमा रहेका छन् । पेलेले चार वटा विश्वकप खेल्दै १४ खेलमा १२ गोल गरेका छन् । पेले सन १९५८, १९६२, १९६६ र १९७० को विश्वकप खेलेका थिए । 

त्यस्तै यस सुचिमा छैठौ नम्बरमा दुई जना खेलाडी रहेका छन् । विश्वकपमा हंगेरीका संडोर कोक्सिस र जर्मनीका जर्गन क्लिन्समनले ११-१ गोल गर्दै धेरै गोल गर्ने खेलाडीको सुचिमा छैठौ नम्बरमा रहेका छन् । कोक्सिसले १९५४ को विश्वकपमा ५ खेल खेल्दै ११ गोल गरेका थिए ।  भने जर्मनीका क्लिन्समनले जर्मनीका लागि सन १९९०, १९९४ र १९९८ गरि तीन विश्वकपमा १७ खेल खेल्दै ११ गोल गरेका थिए ।

फुटबल विश्वकपमा कति छ पुरस्कार रकम ? कहाँ पुग्ने टिमले कति पाउछन् पैसा ?

फुटवलको अन्तर्राष्ट्रिय महासंघ (फिफा)ले सन् २०१८ का लागि विश्वकपको पुरस्कार राशीमा सन् २०१४ को तुलनामा १२ प्रतिशतले वृद्धि गरी चालीस करोड अमेरिकी डलर अर्थात् लगभग ४३ अर्ब २० करोड नेपाली रुपैयाँ बनाएको छ । 

ब्राजिलमा भएको विश्वकपमा ३५८ मिलियन अमेरिकी डलर अर्थात् ३८ अर्ब ६६ करोडको पुरस्कार तय गरेको थियो भने विश्वकप विजेता जर्मनीले ३५ मिलियन अर्थात् ३ अर्ब ७८ करोड पुरस्कार लगेको थियो । त्यसैगरी उप–विजेता अर्जेन्टिनाको फुटबल समूहले २५ मिलियन २ अर्ब ७० करोड पाएको थियो । विश्वकप फुटबलको ‘ग्रुप स्टेज’मा पुग्नै नसक्ने सहभागी समूहले पनि समेत ८० लाख डलर अर्थात् ८६ करोड ४० लाख रकम पाएका थिए । 

यस विश्वकपमा ४ सय मिलियन अमेरिकी डलर अर्थात लगभग ४३ अर्ब २० करोड नेपाली रुपैयाँ पुरस्कारको रुपमा फिफाले वितरण गर्ने छ । जसमा विश्वकपमा भाग लिएका टिमले कम्तिमा पनि ८ मिलियन डलर अर्थात ८६ करोड ४० लाख नेपाली रुपैयाँ रकम पाउने छन् । 

त्यस्तै विश्वकपको समुह चरण पार गरेर अन्तिम १६ मा पुग्ने टिमले १२ मिलियन अमेरिकी डलर अर्थात एक अर्ब २९ करोड नेपाली रुपैयाँ रकम पाउने छन् । त्यस्तै अन्तिम १६ बाट क्वाटरफाइनलमा पुग्ने टिमले थप ४ मिलियन थप गरि १६ मिलियन डलर अर्थात् एक अर्ब ७२ करोड नेपाली रुपैयाँ पाउने छन् ।

त्यसैगरि सेमिफाइनलमा पुगेर फाइनल पुग्न अफसल भएका दुई टिममा ४६ मिलियन डलर बाडिने छ । जसमा तेस्रो स्थान हासिल गर्ने टिमले २४ मिलियन डलर अर्थात् २ अर्ब ५९ करोड नेपाली रुपैयाँ र चौथो हुनेले २२ मिलियन डलर अर्थात २ अर्ब ३७ करोड नेपाली रुपैया पाउने छन् ।

त्यस्तै फाइनलमा पुग्ने दुई टिमबीच कुल ६६ मिलियन डलर बाडिने छ । जसमा विश्वकपको उपाधि जित्ने टिमले ३८ मिलियन डलर अर्थात् ४ अर्ब १० करोड नेपाली रुपैयाँ र पराजित हुने टिमले २८ मिलियन डलर अर्थात् ३ अर्ब २ करोड नेपाली रकम पाउने भएका छन् ।

(अमेरिकी डलर १ बराबर १०८ नेपाली रुपियाँ अनुसार हिसाब गरिएको छ)

कस्तो छ विश्वकपमा खेल्ने बल ?

रसिया विश्वकपमा खेलिने फुटबल बारे सबैको चासो हुनु स्वाभाविक हो । यस विश्वकपका लागि खेलकुद सामाग्री निर्माण गर्ने एडिडासले खास किसिमको बल निर्माण गरेको छ । एडिडासले निर्माण गरेको सो बल अर्जेन्टिनी स्टार लियोनेल मेसीले गत कार्तिक मै सार्वजनिक गरेका थिए । 

एडिडासले सन् १९७० मा मेक्सिकोमा भएको विश्वकपमा प्रयोग भएको टेलस्टार बललाई पुनर्निर्माण गरेको जनाएको छ । नयाँ बलमा डिजिटल चिप्सको पनि प्रयोग गरेको छ । नयाँ बलमा मेटालिक प्रिन्ट गरिएको छ भने टेक्चर ग्राफिक इफेक्ट राखिएको छ ।    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै