• २०८१ बैशाख ६ बिहीबार

ब्राजिल भर्सेज स्विटजरल्याण्ड : ५ पटकको विजेता ब्राजिललाई चुनाती दिदै स्विटजरल्याण्ड

kharibot

काठमाडौँ । विश्वकप फुटबलमा आज समुह ‘इ’ का दुई खेल र समुह ‘एफ’ को एक खेल हुदै छन् । समुह इ मा रहेका ब्राजिल र स्विटजरल्याण्ड तथा कोस्टारिका र सर्बिया भिड्दै छन् भने समुह एफको जर्मनी र मेक्सिको पनि खेल्दै छन् ।

नेपाली समय अनुसार ५:४५ मा कोस्टारिका र सर्बियाबीच खेल हुदै छ भने जर्मनी र मेक्सिको ८:४५ बजे खेल्दै छन् । त्यस्तै ब्राजिल र स्विटजरल्याण्ड राति ११:४५ बजे खेल्दैछन् ।

ब्राजिल र स्विटजरल्याण्ड प्रिभ्यु :

पाँच पटक विश्वकप जितिसकेको ब्राजिलले अहिलेसम्म सन १९३४ देखि नै विश्वकपको पहिलो खेलमा हार बेहोरेको छैन । २०१४ विश्वकपको सेमिफाइनलमा जर्मनीसँग पाएको अप्रत्याशित र शर्मनाक हारबाट बाहिर निस्किदै ब्राजिल यस पटकको विश्वकपको सुरुवात गर्न जादै छ । ब्राजिलको राष्ट्रिय टिममा धेरै परिवर्तन पनि गरिएको छ । युवा खेलाडीलाई धेरै मौका दिइएको यस टिममा विश्वकपको अनुभव भएका केवल ६ खेलाडी मात्र छन् ।

विश्वकपमा ब्राजिलको इतिहास :

अहिलेसम्म सबै २० वाटै विश्वकपमा भाग लिएको ब्राजिलले २० मध्ये १६ विश्वकपका पहिलो खेलमा जीत हासिल गरेको छ । ब्राजिलले सन १९३० मा तत्कालिन युगोस्लाभिया र सन १९३४ मा उरुग्वेसँग हार बेहोरेको थियो भने त्यसपछि खेलेका विश्वकपमा भने पहिले खेलमा अहिलेसम्म पराजित भएको छैन ।

अहिलेसम्म सबैभन्दा बढी पटक ब्राजिलले विश्वकपको उपाधि जितेको छ । ब्राजिलले सन् १९५८, १९६२, १९७०, १९९४ र २००२ मा गरी ५ पटक विश्वकपको उपाधि जितेको छ ।

ब्राजिल टिम : प्रशिक्षकः टिटे

गोलकिपरः एलिसन, कासियो, एडरसन

डिफेन्डरः थियागो सिल्भा, मिरान्डा, पद्रो गेरोमेल, फिलिपे लुइस, मार्सेलो, माक्र्युन्होस, डानिलो, फाग्नर
मिडफिल्डरः कासिमिरो, रेनाडो अगस्टो, फिलिपे काउटिन्हो, पाउलिन्हो, फर्नान्डिन्हो, फ्रेड
फरवार्डः डग्लस कोस्टा, गाब्रियल जेसस, नेयमार, विलियन, रोबर्टो फिरमिनो, टाइसन

त्यस्तै ब्राजिलबाट विश्वकपमा धेरै गोल गर्ने सुचिमा दोस्रो स्थानमा चर्चित खेलाडी रोनाल्डो रहेका छन् ।  रोनाल्डोले विश्वकपमा १९ खेल खेल्दै १५ गोल गरेका थिए । रोनाल्डोले ३ विश्वकपमा खेलेका थिए । अधिकारिक रुपमा रोनाल्डोले ४ विश्वकप खेलेपनि १९९४ को विश्वकपमा १७ बर्षको उमेरमा ब्राजिलको विश्वकप टोलीमा परेपनि सो बर्ष गोल भने गरेनन् ।  उनले १९९८, २००२ र २००६ को विश्वकप खेलेका थिए । रोनाल्डो सन २०११ मा सबै खाले व्यावसायिक फुटबल खेलबाट सन्यास लिएका थिए । 

त्यस्तै विश्वकपमा धेरै गोल गर्ने खेलाडीको सुचिमा ब्राजिलका चर्चित खेलाडी पेले पाचौ स्थानमा रहेका छन् । पेलेले चार वटा विश्वकप खेल्दै १४ खेलमा १२ गोल गरेका छन् । पेले सन १९५८, १९६२, १९६६ र १९७० को विश्वकप खेलेका थिए । त्यस्तै ब्राजिलले पनि सन १९५८ र १९६२ को विश्वकप लगातार जितेको छ । सन १९५८ मा स्विडेनमा आयोजना भएको विश्वकपको फाइनलमा आयोजक स्विडेनलाई ५-२ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको थियो । त्यस्तै सन १९६२ मा चिलीमा आयोजना बह्येको विश्वकपमा फाइनलमा चेकोस्लोभाकियालाई ३-१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको थियो ।

ब्राजिल : ब्राजिल पछिल्लो समय उत्कृष्ट फर्ममा देखिएको छ । आफ्ना स्टार खेलाडी नेइमार इन्जुरीबाट टिममा फर्किएपछि ब्राजिल लयमा देखिएको छ । पछिल्लो ११ खेलमा अपराजित रहेको ब्राजिल विश्वकप तयारीका लागि खेलेका ४ मैत्रीपूर्ण खेलमा उत्कृष्ट लय प्रदर्शन गर्दै जीत हासिल गरेको थियो । 

ब्राजिलको टिममा नेइमार नै प्रमुख खेलाडी रहेका छन् ।  उनले आफु इन्जुरीबाट कमब्याक गरेको दुई खेलमा गोल गरेर आफ्नो विश्वकपको इरादा प्रष्ट पारेका छन् । ब्राजिल कुनै एक खेलाडीमा भर नपर्ने भएपनि अहिले नेइमारले यस टिमलाई डोमिनेट गरेका छन् । उनका अलावा फिलिप कोन्टिन्हो, गाब्रियल जिसस, विलियन, पाउलिन्हो जस्ता प्रभावशाली खेलाडीले ब्राजिललाई विश्वकप कै प्रबल दाबेदार टिम बनाएको छ ।

स्वीट्जरल्याण्ड टिम : प्रशिक्षकः भ्लादिमिर पेट्कोभिक
गोलकिपरः यान सोम्मर, योभन भोगो, रोमन बुर्की
डिफेन्डरः स्टेफान लिच्टेनर, फ्रांकियोस मोबान्जे, निको एल्भिदी, मानुयल अकान्जी, मिचेल लाङ, रिकार्डो रोद्रिगेज, जोहान जोरु, फवियान स्कार
मिडफिल्डरः रेमो फ्रेउलर, ग्रानिट जाखा, भालोन बेहरामी, ब्लेरिम जेमाइली, गेल्सन फर्नान्डेज, डेनिस जाकारिया
फरवार्डः ब्रिल इम्बोलो, हरिस सेफेरोभिक, स्टेफेन जुबेर, मारियो गाभ्रानोभिक, जोसिप ड्रमिक, जेर्दन शाकिरी

स्विटजरल्याण्ड : फिफा वरियतामा छैठौ स्थानमा रहेको स्विटजरल्याण्ड भने यो पटक विश्वकपमा ११औ पटक खेल्दै छ । विश्वकपमा स्विटजरल्याण्ड सन १९३४ र १९३८ मा क्वाटरफाइनलसम्म पुगेको थियो । त्यो नै उसको विश्वकपमा अहिलेसम्मको ठुलो उपलब्धि हो ।

सन २०१४ को विश्वकपमा भने स्विटजरल्याण्ड दोस्रो चरणमा पुगेर बाहिरिएको थियो । २०१६ को युरोकपमा दोस्रो चरणबाट बाहिरिएको स्विटजरल्याण्डले पछिल्ला खेलहरुमा उत्कृष्ट प्रदर्शन गरेको छ । विश्वकपको तयारी खेलमा स्पेन जस्तो बलियो टिमलाई बराबरीमा रोकेको स्विटजरल्याण्डले जापानलाई पराजित गरेको थियो ।

स्विटजरल्याण्डका लागि प्रमुख खेलाडी शेरडन शारिकी रहेका छन् । उनले स्विटजरल्याण्डका पछिल्ला ६ खेलमा ४ गोल र एक असिस्ट गरेक छन् । त्यस्तै यस टिममा आर्सनलबाट व्यावसायिक फुटबल खेल्ने ग्रान्ट जाखा पनि महत्वपूर्ण खेलाडीको रुपमा रहेका छन् । त्यस्तै एसी मिलानबाट खेल्ने डिफेन्डर रिकार्डो रोड्रीगेज र स्टिभन जुबर पनि यस टिमका महत्वपूर्ण खेलाडी हुन् । 

हेड टु हेड :

ब्राजिल र स्विटजरल्याण्ड अहिलेसम्म एक आपसमा ८ पटक खेलेका छन् । जसमा ब्राजिलले ३ पटक जितेको छ भने स्विटजरल्याण्डले २ पटक जितेको छ । त्यस्तै ३ खेल बराबर सकिएका छन् । यी दुई देशबीच पछिल्लो पटक २०१३ अगस्त १४ मा मैत्रीपूर्ण खेल भएको थियो जसमा स्विटजरल्याण्ड १-० ले विजयी भएको थियो ।

यसरी विगतका खेलको विश्लेषण गर्दा समग्रमा ब्राजिल बलियो देखिए पनि स्विटजरल्याण्डले ब्राजिललाई कडा चुनौती दिनसक्ने देखिएको छ ।

   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै