• २०८१ बैशाख ७ शुक्रबार

प्रधानमन्त्री ओलीज्यू मेसीले जस्तो पेनाल्टी मिस गर्नुभयो, अब रोनाल्डो बन्नुस् 

kharibot

काठमाडौँ । अहिले विश्वकपको चर्चा सबै तिर छ । गत विहिबारदेखि सुरु भएको विश्वकप फुटबल सुरुमै रोमान्चक खेल हुदैछन् । तपाई प्रधानमन्त्री भएको पनि चार महिना बितिसकेको छ ।  सुनिदै छ तपाइँ चीन भ्रमणमा जादै हुनुहुन्छ । यस अघि भारत गएर आउनु भयो ।  

विश्वकप हेरिरह्दा अहिलेसम्मका खेलमा दुई प्रमुख घटना भए ।  विश्वफुटबलमा पछिल्लो दशक देखि नै एक अर्काका प्रतिद्वन्दी रहेका पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका लियोनेल मेसीले आ-आफ्ना पहिलो खेल खेले ।  सम्भवत उनीहरु आफ्नो अन्तिम विश्वकप खेलिरहदा रोनाल्डोले ह्याट्रिक गर्दै स्पेनजस्तो बलियो टिमसँग बराबरी खले भने मेसीले सानो देश आइसल्याण्डसँग १-१ को बराबरी खेल्दा मेसीले पाएको पेनाल्टी पनि गोल गर्न सकेनन् ।  भने अन्य अवसरलाई पनि गोल गर्न असफल भए ।  खेलको हिसाबले विश्वकै महान फुटबलर मेसीको यो असफलता फुटबल प्रेमिका लागि दुर्भाग्यपूर्ण हो ।  उनका फ्यान हुन् या आलोचक एउटा महान खेलाडी यति ठुलो प्रतियोगितामा पाएर अवसरबाट चुक्नुलाई अवश्य पनि राम्रो मानिदैन । 

अब प्रसंग बदलौ प्रधानमन्त्रीको रुपमा तपाइँलाई जनताले अत्यन्तै विस्वास गरेका छन् । जनताले त्यहि आशा र भरोसा देखाएरै तपाई र तपाइको दललाई जिताएर सरकारमा पठाएका हुन् ।  तर चार महिनाको तपाइँको काम हेर्दा अहिले तपाइँ विश्वकपमा मेसीको जस्तो अवस्थामा पुग्नु भएको देखियो ।  वर्षा सुरु भयो, सडक हिलाम्मे छन्, खोलामा बाढी आउन थाल्यो, तपाई र तपाइँका मन्त्रीहरु समृद्धिको राग अलाप्न नै व्यस्त हुनुहुन्छ । समृद्धि ल्याउनु पर्छ प्रधानमन्त्रीज्यू, यो विवादको विषय होइन तर त्यसअघि हाम्रा केहि न्युनतम समस्या छन् ।  त्यसलाई पुरा गर्न तपाइँ र तपाइको सरकार चुकेको छ । सामान्य रुपमा भन्दा सडकको मर्मत भएको छैन । महँगी बढेको छ, सरकारको नियन्त्रणमा छैन । सिन्डिकेट तोडे भन्नुभयो तर व्यबहारमा तोडिएको छैन । भ्रष्ट्रचार गर्दिन भन्नुभयो, तर रोकिएको छैन ।  सरकारी कार्यालयमा अहिले पनि एउटा फाइल अघि बढाउन खल्ती रित्ताउनै पर्छ । तपाइले भन्ने गरेको पानी जहाज गुडाउन मिल्ने गरि सडकमा पानी जम्मा हुन थालेको छ । सारमा भन्नुपर्दा तपाइँको कुरा गराई र काम गराईमा तालमेल देखिएको छैन ।  

जसरी मेसीका फ्यानहरु अर्जेन्टिनाको खेल सुरु हुनु अघिसम्म मेसी मेसी गर्दै थिए अहिले खेल पछि तपाईका कार्यकर्ता र मेसीका फ्यानको हालत उस्तै उस्तै भएको छ ।

जसरी मेसीका फ्यानहरु अर्जेन्टिनाको खेल सुरु हुनु अघिसम्म मेसी मेसी गर्दै थिए अहिले खेल पछि तपाईका कार्यकर्ता र मेसीका फ्यानको हालत उस्तै उस्तै भएको छ । यो सुरुवात हो तपाइँसँग अहिले स्पष्ट बहुमत छ, तपाइँ शक्तिशाली हुनुहुन्छ । मलाई लाग्छ तपाइँले चाहे अहिले जे पनि गर्नसक्नुहुन्छ तर अचम्म लाग्छ तपाईले किन गर्नुभएको छैन ।

मेसीलाई त आइसल्याण्डका सबै खेलाडी मिलेर रोके तर तपाइँलाई त कसैले रोकेका छैनन् । तपाईले न त तपाईका मन्त्रीहरुलाई लगाम लगाउन सक्नु भएको छ न त जनताका न्युनतम आवश्यकतालाई सम्बोधन गर्न सक्नुभएको छ । 

अब तपाइँलाई मेसीको बाटो छोडेर रोनाल्डोको बाटोमा आउन म सादर अनुरोध गर्दछु ।  तपाइँले ह्याट्रिक नै गर्न नसके पनि कम्तिमा गोल त गर्नुस् । सडक मर्मत गर्नुस्, महँगी नियन्त्रण गर्नुस्, शिक्षा र स्वास्थ्यमा देखिएको विकृतिलाई हटाउनुस् । सार्वजनिक यातायातको ग्यारेन्टी गर्नुस् । समग्रमा जनतालाई राहत हुने काम गर्नुस् । अहिले तपाइँको अवस्था हेर्दा अर्जेन्टिना मेसीको मात्र भरपर्दा जित निकाल्न असफल भएजस्तो हामी पनि तपाइँको मात्र भरपर्दा कतै देशले नै हार्ने त होइन भन्ने चिन्ता बढ्न थालेको छ । तपाइँलाई तापाईका टिममा रहेकाले सहयोग नगरेको हामीले बाहिरबाट देखिरहेका छौ । 

त्यसैले तपाइको शुभचिन्तकको नाताले तपाइँले अहिले पेनाल्टी मिस गर्नु भएको छ अर्थात् पाएको अवसरलाई सदुपयोग गर्न चुक्नु भएको छ । विन्ती छ तपाई असफल हुनु भनेको अहिले देश असफल हुनु हो । रक्तपातमा फसेको देश विस्तारै शान्ति उन्मुख हुदै छ यस्तोमा तपाइँ रोनाल्डो बनेर देशका लागि गोल गर्ने तर्फ सोच्नुस् । मेसीले पहिलो खेलमा पेनाल्टी मिस गरेपनि उनको मौका अझै सकिएको छैन । दुई खेल बाँकि छ । तपाइले पनि सुरुवाती मौका गुमाउनु भएको छ । आफ्ना सहयोगी मन्त्रीहरु, अन्य सल्लाहकारहरुलाई समयमै सजक बनाउनुस मौका अझै टरेको छैन । जनताले दिने अवसर अस्थायी हुन्छ त्यसलाई स्थायी बनाउने काम नेतृत्व कै हो । अर्को चुनावमा तपाइँ र तपाइको पार्टीलाई हराउन लाग्नु परे त्यो हाम्रो लागि निकै दुर्भाग्यपूर्ण हुने छ । 

त्यसैले हामीजस्ता तपाईका शुभचिन्तक तपाईलाई अहिले विश्वकपको सन्दर्भमा मेसी होइन रोनाल्डो बन्नुस् र जनताले महसुस गर्ने गरि काम गर्नुस् भन्न चाहन्छौ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै