• २०८१ बैशाख ७ शुक्रबार

मोटो रकम असुल्नेलाई कारवाहीको तयारी

kharibot

फाइल तस्विर । 

काठमाडौँ /  सरकारले पदयात्रामा गएका पर्यटक बिरामी भएको बहानामा उद्धार गरी मोटो रकम असुल्ने संस्था वा निकायमाथि छानविन शुरु गरेको छ । 

नक्कली बिरामी बनाई पर्यटकको उद्धार गरेको विषयमा व्यापक गुनासो आएपछि सरकारले छानविन शुरु गरेको हो । 

सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा छानविन समिति गठन गरेको छ । समितिलाई यही असार १५ गतेभित्र कारवाहीको सिफारिससहितको प्रतिवेदन पेश गर्ने अख्तियारी दिइएको छ । 

मुलुकका विभिन्न स्थानमा पदयात्रा र पर्वतारोहणमा जाने पर्यटकलाई लेक लाग्नेलगायतका स्वास्थ्य समस्या तथा अन्य विपद्को उद्धारको नाममा फर्जी विवरण तयार पार्ने गरेको पाइएपछि सरकारले कडा नीति अख्तियार गरेको हो । विपद् उद्धारको नाममा फर्जी विवरण तयार पारी बीमा रकम दाबी गर्ने र ठगी गर्ने गरेको पाइएपछि नेपालको पर्यटन क्षेत्रमा नकारात्मक असर परेको छ । 

सरकारले गठन गरेको छानविन समितिका संयोजक एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव उपाध्यायले छानविन प्रक्रिया शुरु भएको जानकारी दिनुभयो । उनले नेपालको पर्यटन उद्योगलाई नै नकारात्मक असर पु¥याउने गरी भइरहेको गलत धन्दालाई नियन्त्रण गर्नुपर्ने भएकाले सरकारले कडाइका साथ हेरेको बताए । 

गैरकानूनी क्रियाकलापले नेपालको पदयात्रा तथा पर्वतारोहण सम्बन्धमा अन्तर्राष्ट्रिय जगत्मा नकारात्मक सन्देश गएको छ । सरकारले नेपालको पर्यटन क्षेत्रलाई आर्थिक समृद्धिको आधारका रुपमा स्थापित गर्दै कूल गार्हस्थ्य उत्पादनमा २५ प्रतिशत योगदान पु¥याउने लक्ष्य राखेको छ । 

नक्कली बिरामी बनाउने तथा फर्जी बिल बनाई गलत धन्दा गर्ने प्रवृत्तिले समग्र पर्यटन क्षेत्रमा असर पर्ने भएकाले त्यस्तो क्रियाकलापलाई छुृट दिन नसकिने सरकारको भनाइ छ । मन्त्रालयले गठन गरेको छानविन समितिले अध्ययन शुरु गरेको छ । समितिमा १३ टे«किङ कम्पनी, १० हेलिकप्टर कम्पनी र सातवटा अस्पतालविरुद्ध समेत उजुरी परेको छ । उजुरीमाथि छानविन भइरहेको छ । 

नेपालका बीमा कम्पनीले बीमा गर्न सक्दैनन् भन्नेजस्ता त्राससमेत पर्यटकलाई देखाउने गरिएको व्यवसायीको भनाइ छ । सरकारले गठन गरेको छानविन समितिले बिरामी उद्धारमा संलग्न भनिएका कम्पनी तथा हेलिकप्टर कम्पनीसँग विवरण माग गरेको छ । नेपालको पर्यटन उद्योगमा फैलँदै गएको गलत धन्दालाई पूर्णरुपमा बन्देज लगाउन सरकारी तथा निजी क्षेत्रको साझा प्रयत्न जरुरी देखिएको समितिको भनाइ छ । 

पदयात्रा तथा हिमाल आरोहणका क्रममा प्राकृतिकरुपमा पदयात्रीलाई लेक लाग्न सक्छ । छानविन समितिमा प्राप्त भएको उजुरीमा व्यवसायीले गलत तरिकाले बिरामी पार्ने र उद्धार गरेको नाटक गर्ने गर्छन् । 

टे«किङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)का अध्यक्ष नवराज दाहाल छानविन समिति गठन हुनु स्वागतयोग्य रहेको बताए । उनले विगतमा व्यवसायीका तर्फबाट भएका केही कमी कमजोरीलाई सुधार गरेर जानुपर्नेमा जोड दिए । अध्यक्ष दाहालले भने, “विगतमा व्यक्तिगतरुपमा भन्दा पनि समग्र प्रणालीका कारण गल्ती भएको हो । त्यसलाई आगामी दिनमा सुधार गरेर मर्यादित व्यवसायका लागि पद्दतिको विकास गर्नुपर्छ ।” 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै