• २०८१ बैशाख ४ मंगलबार

मेडिसिटीले भित्र्यायो एक्मो प्रविधि, विष सेवन गरेको एक विरामीलाई यसै प्रविधिले बचायो

kharibot

ललितपुर । नेपाल मेडिसिटी अस्पतालले एक्मो प्रविधिबाट उपचार सेवा सुरु गरेको छ । 

अस्पतालले एक्स्ट्राकर्पोरियल मेम्ब्रेन अक्सिनेसन (एक्मो) प्रविधिबाट उपचार सुरु गरिएको जानकारी दिएको हो । बिरामीको मुटु र फोक्सोको मुटुले काम गर्न छोडेको अवस्थामा वा नाजुक भएको अवस्थामा अस्थायी रुपमा मुटु र फोक्सोको काम गर्ने प्रविधि एक्मो उपचार पद्धतिको प्रयोग गरिन्छ ।

मेडिसिटीका मेडिकल सुपरिटेन्डेन्ट राज रानाले एक्मो प्रविधिले बाहिरी पम्पहरु र ओक्सिजनेटरको सहायताले रगतबाट कार्बनडाइअक्साइड हटाई अक्सिजनको मात्रा बढाएर रक्तसञ्चार सही बनाउन मद्दत गर्ने बताए । ‘यो उपकरण मुटु, फोक्सो वा दुवै अंगलाई सहयोग पुर्याउन सक्षम छ,’ उनले भने ।

नेपाल मेडिसिटीमा हालै यस प्रविधिबाट विषादी सेवन गरेको एक विरामीलाई बचाइएको डा. विजोय जि राजबंशीले जानकारी दिए । विषादी सेवन गरेको विरामीलाई विषादी सेवन गरेको करिब ६ घण्टापछि यो प्रविधिको प्रयोग गरेर बचाइएको डा. राजबंशीले जानकारी दिए । यस प्रविधिको प्रयोग गर्न आवश्यक जनशक्ति मेडिसिटीमा उपलब्ध भएका कारण पहिलो पटक मै आफुहरु सफल भएको उनले बताए ।

सुरुमा यो प्रविधि मुटुका विरामीलाई मात्र प्रयोग गरिएको भएपनि अहिले आएर स्वाइन फ्लु, विषादी खाएका विरामीहरुलाई पनि यो प्रविधि प्रयोग गरेर ज्यान बचाउन सकिने जानकारी दिए ।

बिरामीको जीवन बचाउन विश्वव्यापी रुपमा प्रयोगमा आइसकेको महत्वपूर्ण उच्चस्तरीय उपचार सेवा एक्मो प्रविधि सुरु भएको बताउदै डा. राजबंशीले शरीरमा एलुमिनियम फोस्पाइड विषादिको मात्रा रहेका बिरामीको मृत्युदर लगभग ९६ प्रतिशत हुनेमा एक्मोको सहायताले उपचार गर्दा मृत्युदर ३६ प्रतिशतमा घटाउन सकिने बताए ।

उनले सामान्यतः असम्भव जस्तै मानिने जटिल न्युमोनिया, स्वाइन फ्लु र बर्ड फ्लुका साथै पानीमा डुबेकाहरुको आकस्मिक उपचारमा धेरै ठूला राष्ट्रहरुले एक्मो उपचार पद्धतिमार्फत बिरामीको सफल उपचार गर्न सकिने बताए । 

मेडिसिटीका आसियु कोअर्डिनेटर डा. दिपेश अर्यालले यस प्रविधिको प्रयोगबाट भेन्टिलेटरमा राखिएका ८० प्रतिशत विरामीले ज्यान गुमाउदै आएकोमा यस प्रविधिले ८० प्रतिशत विरामीको ज्यान बचाउन सकिने बताए । यस प्रविधिको प्रयोग गर्दा कुनै एक विषयको डाक्टरले मात्र नभई मुटु, फोक्सो लगायत विभिन्न विधाका डाक्टरहरु आवश्यक पर्ने हुनाले मेडिसिटीमा सबै विधाका जनशक्ति भनेको बेलामा उपस्थित भएर उपचार गराउन सम्भव हुने गरि व्यवस्था मिलाइएको बताए ।

उनले भेन्टिलेटरमा बिरामी राखेपछिको अर्को स्टेपको उपचार यो प्रविधि भएको बताउदै प्रविधिको अभावमा विरामीले ज्यान गुमाउने अवस्था अब मेडिसिटीले अन्त्य गरेको बताए ।

एक्मो प्रविधिबाट उपचारका लागि उच्चगुणस्तरीय उपकरण र दक्ष चिकित्सकको प्रबन्ध मिलाइएको महाप्रबन्धक विजय रिमालले जानकारी दिए । ‘एक्मो उपचार पद्धति हामीले सफलतापूर्वक सुरु गरेका छौं,’ उनले भने ‘अब उपचारका लागि धेरै खर्च गरेर विदेश नै जानुपर्छ भन्ने बाध्यात्मक परिस्थितिको अन्त्य गर्न खोज्दैछौं ।’ अन्तर्राष्ट्रियस्तरको उपचार सेवा मेडिसिटीले उपलब्ध गराउने महाप्रबन्धक रिमालले बताए ।

एक्मो प्रविधिबाट उपचार गराउँदा सुरुमा ३ देखि ४ लाखसम्म खर्च लाग्ने र त्यसपछि दैनिक ५०-६० हजार खर्च हुने जानकारी दिइएको छ । यहि प्रविधिबाट भारतमा उपचार गर्दा सुरुमा ७-८ लाख रुपैयाँ लाग्ने र त्यसपछि दैनिक २-३ लाख सम्म लिने गरेको पाइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै