• २०८१ बैशाख ८ शनिबार

चीन भ्रमणपछि किन उत्साहित देखिएनन् प्रधानमन्त्री ?

kharibot

तस्बीर : रासस

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीमा चुनिएसँगै दुई बलिया छिमेकी देशहरु भारत र चीनको राजकीय भ्रमण गरेका छन् ।  भारतमा चैतमा गएका ओली त्यसको तीन महिनामा यही असारमा छ दिने चीन भ्रमणमा गएका हुन् । तर प्रधानमन्त्री ओली भारतबाट फर्किँदा जति उत्साहित देखिए, चीनबाट फर्किँदा त्यति उत्साहित देखिएनन् । यसका विभिन्न कारणहरु अवश्य छन् । 

भारतमा प्रधानमन्त्री ओलीलाई विमानस्थलमा वरिष्ठ मन्त्रीले स्वागत गरेका थिए, पन्तनगरमा विद्यावारिधिको उपाधि दिइएको थियो भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग ‘वान–अन–वान’ भेटवार्ता भएको थियो । तर यता चीनमा प्रधानमन्त्री ओलीलाई चीनको विदेश मन्त्रालयका सहायक मन्त्री झुयाङ हान हुईले बेइजिङस्थित क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । त्यस्तै चीनसँग रेलमार्ग निर्माण गर्नेसहित १४ सहमतिमा हस्ताक्षर गरिएको थियो भने चिनियाँ राष्ट्रपति सि जिनपिंगसँग पनि ओलीको भेट भएको थियो । दुवै भ्रमणमा संयुक्त हस्ताक्षर गरिएका विज्ञप्ति सार्वजनिक भएका थिए ।

अझ चीन भ्रमणमा भएको रेलमार्ग निर्माणको सहमति नेपालका लागि धेरै नै महत्वपूर्ण र चीनका लागि रणनीतिक महत्वको रहेको थियो । तर प्रधानमन्त्री ओलीमा भने यसले खासै उत्साह भर्न नसकेको स्पष्टै देखिन्थ्यो । किनकि ओलीको पहिलो कार्यकालमै चीनसँग पारवहन सम्झौता भइसकेको थियो भने रेलमार्ग निर्माणबारे अहिलेको नेपाल–चीन सहमति त्यसकै एउटा अंग थियो । अझ नेपालमा चीन र भारत दुवैले रेलमार्ग बनाएरै छाड्ने ओलीको ‘होष्टेमा हैँसे’ गरिरहेका बेला ऋणमा हैन अनुदानमा मात्र रेलमार्ग बनाउनुपर्छ भन्ने चर्कै आवाज बुलन्द भएका कारण ओली चीनबाट फर्किँदा महत्वपूर्ण सहमति गरे पनि मलीन अनुहारमा फिर्ता भएका हुनसक्छन् । 

तर ओलीकै भारत भ्रमण भने नेपालका लागि भन्दा पनि उनी र उनको पार्टीका लागि विशेष महत्वको रहेको थियो । किनकि ओलीको बलियो राजनीतिक उदयले सशंकित भारत आफैँ चीनको प्रभाववृद्धि हुने डरले ओलीसँग सम्बन्ध सुधार्न आतुर देखिएको थियो । यता ओलीले पनि सोही मौका खोजिरहेका थिए । किनकि भारतको अघोषित नाकाबन्दीका बेला ओलीले भारतलाई चिढ्याउनुसम्म चिढ्याएका थिए । त्यतिबेला परस्परमा दुश्मनी मोलेका मोदी—ओली दुवैले एक–अर्काको देशमा गएर सम्बन्ध सुधार गरे । देशका लागि खासै उपलब्धिमूलक नभए पनि दुई नेताका लागि चाहिँ मोदी नेपाल आउनु र ओली भारत जानु एउटा सम्बन्धसुधारको बलियो सूचक थियो ।

यसले पनि ओलीलाई भारतबाट स्वदेश फर्किँदा बढी प्रफुल्ल बनाएको हुनुपर्छ । किनकि सशंकित भारतलाई ओलीले आश्वस्त बनाउने काम गरे । उता पहिले आफैँले विरोध गरेको नेपाल—भारत पेट्रोलियम पदार्थ आपूर्तिको लागि बनाइँदै गरेको अन्तर्देशीय पाइपलाइनको निर्माण सुरु गर्न ओलीकै हातबाट शिलान्यास गरिएको थियो । यसले भारत ओलीसँग विश्वस्त हुँदै गएको थियो भने ओलीका लागि भारतलाई खुसी बनाउने एउटा कडी पनि साबित भयो । त्यस्तै ओलीको ‘समृद्ध देश सुखी जनता’को नारालाई मोदीले नेपाल आएर आफ्नो नीतिसँग मेल खाने भन्दै प्रशंसा गरेका थिए । उनले प्रशंसा मात्रै गरेनन्, त्यसलाई सघाउने प्रतिबद्धता नै जनाएका थिए । जल र रेलसेवामा ओलीलाई भारतले सघाउने भनेका कारण पनि ओलीको अनुहारमा उत्साहको सञ्चार भएको थियो । 

यता प्रधानमन्त्री ओली चीनबाट फर्किएको केवल दुई दिनमात्रै भएको छ भने उनले आफ्नो चीन भ्रमण अत्यन्त सफल रहेको राष्ट्रपति विद्या भण्डारीदेखि संसदलाई सम्म सुनाएका छन् । यो प्रजातान्त्रिक व्यवस्थामा जनप्रतिनिधिहरुलाई आफ्ना उपलब्धिबारे जानकारी गराउने परम्पराकै एउटा अभ्यास हो । चीनभ्रमणमा भएको रेलवे निर्माण गर्ने सहमतिलाई ओलीले महत्वपूर्ण भनेका छन् । १४ बुँदे सहमति भए पनि ओलीले रेलसेवा निर्माणलाई मात्रै बढी जोड दिएका छन् । तर मुखले भन्दैमा नेपालमा चिनियाँ वा भारतीय रेल आइहाल्ने होइन । झन् वार्षिक बजेट नै विदेशीले दिएको सहयोग रकमले पूर्ण हुने नेपालमा चीनबाट या भारतबाट राजधानी जोड्ने गरी रेल कुद्ने कुरा अलिक कठिन नै छ ।

खासगरी यो निर्माणको लागि अर्बौँ पुँजी चाहिन्छ । सामान्य एउटा राजमार्ग निर्माण त वर्षौँसम्म नसकिने नेपालमा पाँच वर्षमै रेल कुदाउने सपना ओलीले देखे पनि कथंकदाचित् चीनबाट रेल निर्माण हुने भयो भने पनि त्यसको भीमकाय लागत ऋण स्वीकार्न बाध्य हुँदा नेपाल वर्षौँसम्म विदेशी ऋणको भारीले थिचिने र मिचिने हुनसक्छ । ओली चीन नजाँदै प्रतिपक्षी दल कांग्रेसका नेता प्रदिप गिरीले यसबारे संसदमा ओलीलाई औँलो ठड्याइसकेका छन् भने विज्ञहरुले पनि अनुदानमा बनाइदिने भए मात्रै नेपालमा चिनियाँ र भारतीय रेल आउँदा ठीक हुने नत्र ऋण बोकेर बनाउँदा पछिसम्म अप्ठ्यारोमा पर्नसक्ने चेतावनी दिएका छन् । 

चीनबाट फर्किँदा यति ठूलो सम्झौता गरे पनि ओलीको मुहारमा मुस्कान नभेटिनुको अन्तर्यको एउटा कारण यो पनि हुनसक्छ । यसको भित्री चिन्ता ओलीमा पनि सञ्चार भएको हुनुपर्छ । यसै पनि बोल्न र सम्झौता गर्नजस्तो ऋणले थिचिएर ‘जसोजसो पण्डितबाजे उसै उसै स्वाहा’जसरी चिनियाँ वा भारतीय प्रभुत्वमुनि बस्न ओलीलाई पनि रहर छैन । यसकै परावर्तन ओली उत्साहको कमी हो । 

तर यस पटक भारतबाट फर्किदा जस्तो चीनबाट फर्किदा प्रधानमन्त्री ओलीमा त्यो उत्साह देखिएन, बरु रेलमार्गका लागि समय लाग्ने किसिमको जवाफ दिए
यसका दुई प्रमुख कारण हुन् सक्दछन् । पहिलो भारतसँगको ओलीको सम्बन्ध नवीकरण हुनु प्रधानमन्त्री ओली भारतसँग राम्रो सम्बन्ध भएका नेता हुन्, बीचमा उनले नाकाबन्दीको समयमा राष्ट्रवादको कार्ड खेलेर आफुलाई भारत विरोधीको कित्तामा राखे र चुनाव जिते ।  तर अहिले आएर उनले भारतसँगको आफ्नो सम्बन्ध सुधारेका छन् जुन चीनका लागि रणनीतिक रुपमा समस्याको कुरा हो ।  लगानी विस्तारमा चीनले हात अगाडी बढाएपनि भारतसँग नेपालको सम्बन्ध सुधारले चीनको नेपालमा बढ्दै गएको दबदबामा केहि अंकुश लाग्ने आशंका चीनले अवश्य यस भ्रमणमा व्यक्त गरेको छ  । 

त्यस्तै दोस्रो कुरा अहिले सामान्य जनता रेल आउने कुराबाट खुशी छैनन् ।  सरकार आम जनताका सामान्य समस्या समधान गर्न असफल भएको छ । तर दिर्घकालिन र ठुला आयोजनाको सपना देखाएर उनीहरुको दिनहुका समस्या समधान हुदैनन् र भएका छैनन्,  जसको छनक प्रधानमन्त्रीले पाएको हुनु पर्दछ । जनताको चुलोको खर्च बढेको छ सडक अस्तव्यस्त छन् बर्षामा बाढी पहिरो सुरु भएको छ, तर सरकारको उपस्थिति देखिएको छैन  । 

सामान्य रुपमा लिँदा पनि ओली जति भारतसँगको सम्बन्ध सुधारमा मुस्काएका थिए, त्यति चीनमा सम्झौता गरेर फर्किँदा मलीनता देखाइरहेका थिए । यसको असली कारण समयक्रमसँगै बाहिर आउला  । 
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै