• २०८१ बैशाख ८ शनिबार

प्रदेश २ कै पहिलो भ्यू टावर निर्माण कार्य अन्तिम चरणमा

kharibot

बारा । बाराको निजगढ नगरपालिका वडा नं.४ स्थित शहिद हिरालाल पार्कमा निर्माणाधिन भ्यू टावरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । 

निजगढ स्थित बाघभैरव सामुदायिक वन व्यवस्थापन समितिको क्षेत्राधिकार भित्र रहेको शहिद हिरालाल पार्कमा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले निजगढ नगरपालिकाले दुई वर्ष अघि भ्यु टावर निर्माण कार्य शुरु गरेको थियो । 

२०७३ साउन २७ गते नैं भ्यु टावर निर्माणका लागि महाकाली निर्माण सेवा काठमाण्डौं र निजगढ नगरपालिका बिच एक वर्षमा काम सक्ने सम्झौता भएपनि जिल्ला वन कार्यालयका कारण काम रोकिएकाले निर्धारित समयमा सम्पन्न नभएको नगरपालिकाले जनाएको छ । 

निजगढ नगरपालिकाका सूचना अधिकारी नविन खनालका अनुसार जिल्ला वन कार्यालयको अनुमती पश्चात २०७४ मंसिर २५ बाट एक वर्षमा काम सक्ने गरि शुरु भएको निर्माण कार्य अहिले अन्तिम चरणमा पुगेको छ । ‘करिब ९० प्रतिशत काम सम्पन्न भईसकेको छ , मंसिर सम्मको समय सिमा अगावै टावर सञ्चालनमा आउँने लक्ष्य राखिएको छ’ सूचना अधिकारी खनालले भने । 

प्रदेश नम्बर २ को आठ जिल्लामा पहिलो पटक निजगढ भ्यु टावरको निर्माण हुँदैछ । भ्यु टावरबाट बारा , पर्सा , रौतहट सहिँत सिमावर्ती भारतका रमणिय दृश्यावलोकन गर्न सकिने खनालले बताए । ‘१५ किलोमिटर पर सम्म स्पष्ट देख्न सकिने टेलिस्कोप जडान हुँने छ , जसले बारा पर्सा रौतहट सहित सिमावर्ती विहारका केहि भाग समेत यहाँबाट देख्न सकिन्छ’ सूचना अधिकारी खनालले भने ।

कुल ५१ लाख ७० हजार रुपैयाँको लागतमा निर्माण हुन लागेको उक्त भ्यू टावर सञ्चालनमा आए पछि निजगढमा पर्यटकको संख्या बढ्ने लक्ष्य नगरपालिकाले राखेको छ । जन आन्दोलन २०६२÷६३ का क्रममा निजगढमा सेनाको गोली लागि मारिएका शहिद हिरालाल गौतमको स्मृतीमा निर्मित शहिद हिरालाल पार्क सहिँत निजगढको उत्तरी क्षेत्रमा प्रसस्त सम्भावना बोकेका पर्यटकीय धरोहर छन् । 

हिरालाल पार्कमा भ्यु टावर निर्माणसँगै नगरपालिकाले पार्क आसपास झोलुंगेपुल निर्माण कार्यलाई प्रार्थमिकतामा राखेको जसले डाँडा वारपार गर्न पर्यटकलाई सहज बनाउँने छ । 
निजगढ नगरपालिका वडा नं.४ स्थित हिरालाल पार्कबाट वडा नम्बर १० लाल रतनपुरको पल्युन गुम्बा , राधाकृष्ण मन्दिर हुँदै वडा नम्बर १३ डम्बरपुरको शक्तेश्वर महादेव मन्दिर सम्म पदमार्ग निर्माण गर्ने लक्ष्य नगरपालिकाले राखेको छ ।  

नगरपालिकाका सूचना अधिकारी खनालका अनुसार विभिन्न वडामा रहेका मठ मन्दिर , गुम्बा तथा अन्य धार्मिक सम्पदाको जिर्णोद्धारका लागि नगरपालिकाले बजेट विनियोजन गरि कार्य अघि बढाईएको छ । 

निजगढ नगरपालिकाका प्रमुख सुरेश खनालले आगामी बजेटमा पनि पर्यटन प्रवद्र्धनका लागि विशेष कार्यक्रम समेटिने बताएका छन् । निजगढ नगरपालिकाको सिंगौल हुँदै पुग्न सकिने मकवानपुरको बकैया गाउँपालिका स्थित फाकल चौरमा अर्को भ्यु टावर निर्माणको योजना समेत निजगढ नगरपालिकाले लिएको छ , जसले निजगढको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्नेछ । 

‘बारा र मकवानपुरको सिमामा रहेको फाकल चौर प्राकृतिक विविधताले भरिएको ठाउँ छ , मकवानपुरको बकैया गाउँपालिकामा परेपनि त्यो हाम्रो बाटो हुँदै छिटो पुग्न सकिन्छ , जसले निजगढको व्यापार र अर्थतन्त्रमा टेवा पुग्ने महत्व बोकेको छ’ नगर प्रमुख खनालले भने । 

निजगढ कै मोहरी स्थित गणेशमान पार्क , बाघभैरव सामुदायिक बनमा रहेको पोखरी , विभिन्न पिकनीक स्पट , मठ मन्दिर र अन्य सम्पदाहरुको संरक्षण र प्रवद्र्धनबाट निजगढलाई प्रदेश कै उत्कृष्ट पर्यटकिय गन्तव्य बनाउँने उद्देश्य नगरपालिकाले लिएको नगर प्रमुख खनालको भनाई छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै