• २०८१ बैशाख ६ बिहीबार

नेपालमै बन्यो स्मार्ट इलेक्ट्रिक ह्विलचियर

kharibot

युवा इन्जिनियरहरुको समूहले नेपालमै निर्माण गरेको स्मार्ट विद्युतीय ह्विलचियर । तस्बिर : खरीबोट

काठमाडौं । युवा इन्जिनियरहरुको समूहले नेपालमै स्मार्ट विद्युतीय ह्विलचियर निर्माण गरेको छ । सोमबार अर्थराज्यमन्त्री उदयशमशेर राणाले राजधानीमा आयोजित एक कार्यक्रममा यसको अनावरण गरेका हुन् ।

ह्विलचियर नेपाली माटो र बाटो सुहाउँदो गरी निर्माण गरिएको इञ्जिनियरहरुले बताएका छन् । युवा इन्जिनियरको समूहको संस्था इन्फिनिटी ल्याब र इन्डिपेन्डेन्ट लिभिंग सेन्टरले सहकार्य गरी नेपालमै रिमोट कन्ट्रोलबाट चल्ने विद्युतीय ह्विलचेयर निर्माण गरेका हुन् । यो विशेष गरी ०७२ को भूकम्पपछि अपांगता भएका नेपालीहरुको जनजीवन एकदमै कष्टप्रद भएको भन्दै युवाटोलीले उनीहरुकै लागि निर्माण गरेको जनाएका छन् ।

यसको नाम लिओपार्ड राखिएको छ । हाल कम्तीमा पनि सात लाखको हाराहारीमा लगानी गरी बनाइएको उक्त ह्विलचियर यदि सरकारले आवश्यक सहयोग गरे व्यावसायिक रुपमा नै नेपालमा उत्पादन गर्ने ल्याबले जनाएको छ । कार्यक्रममा सरकारले बाहिरबाट ह्विलचियरका ब्याट्री र अन्य दुई सामानमा भन्सार छुटका लागि पहल गर्ने अर्थ राज्यमन्त्री राणाले प्रतिबद्धता जनाएका थिए । उनले युवा इन्जिनियरको टोलीलाई बधाई दिएका थिए ।

कार्यक्रममा वरिष्ठ कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, अपांगता भएकाका लागि काम गर्ने विभिन्न संघ संस्थाका पदाधिकारी, सरकारका विभिन्न तहका सहसचिव, उपसचिवलगायतको उपस्थिति थियो । यो ह्विलचियरमा पिसाब थैली राख्न मिल्ने, दुर्घटना भए त्यसको सूचना मोबाइलमा पुग्ने, स्वचालित ब्रेक भएको र नेपालका कच्ची बाटोमा समेत सजिलै हिँड्न सक्ने रहेको छ ।

साथै चार्ज टिकाउ र सकिनुअघि नै थाहा हुने गरी निर्माण गरिएको उक्त कार्यक्रममा जानकारी दिइयो । इन्फिनिटी ल्याबसँग आबद्ध इन्जिनियरहरु सन्तोष न्यौपाने, सुनिल परियार, प्रजेश श्रेष्ठ, भरत केसी र मेन्सन लाखेमरुको टोलीले उक्त अत्याधुनिक विद्युतीय ह्विलचियर निर्माण गरेको हो ।

यदि युवाटोलीलाई सरकारले प्रोत्साहन गरेर सहयोग गरी व्यावसायिक बनाउने हो भने वर्षको १० हजार वटा यस्ता ह्विलचियरको डिमान्ड रहेको कार्यक्रममा बताइएको थियो । युवाहरुले दुई वर्षअघिदेखि यसको अनुसन्धान थालेका थिए । यसको निर्माणमा गोर्खा इको प्यानलले पनि सघाएको छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै