• २०८१ बैशाख ७ शुक्रबार

प्रदेश ४ का सांसदहरुलाई यातायात सुबिधा उपलब्ध गराउने निर्णय

kharibot

पोखरा । प्रदेश ४ को मन्त्रिपरिषद्ले सांसदहरुलाई यातायात सुबिधा उपलब्ध गराउने निर्णय गरेको छ । 

पोखरामा आज बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश ४ का सांसदलाई प्रदेशसभा बैठक बस्ने दिन साढे ७ सय रुपैयाँ यातायात खर्च उपलब्ध गराउने निर्णय गरेको हो । 

यसअघि सांसदहरुलाई मासिक तलब ४५ हजार रुपैयाँ र प्रति बैठक भत्ता ७ सय ५० रुपैयाँ उपलब्ध गराउँदै आएको थियो ।  यस्तै, बैठकले विपक्षी दलका नेतालाई मासिक घरभाडा दिने निर्णय गरेको छ । 

सकेसम्म घर उपलब्ध गराउने नभए मासिक २० हजार रुपैयाँ दिने निर्णय भएको आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले बताए । मन्त्री चुमानका अनुसार बैठकले मुख्यमन्त्री, मन्त्री, प्रदेशसभाका पदाधिकारी र सांसदहरुको हकमा १० हजार रुपैयाँ बराबरको बिमा प्रिमियम तोकिएको छ । 

यसका लागि आर्थिक मामिला तथा योजना मन्त्री संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको उनले बताए । मुख्यमन्त्री कार्यालयका सचिव धर्मराज कुर्इँकेल सदस्य सचिव रहेको सिफारिश समितिले एउटा मापदण्ड बनाएर बिमा रकमले नपुगेको अवस्थामा के गर्ने भन्ने सिफारिश गर्ने मन्त्री चुमानले बताए ।  

बैठकले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई प्रदेश वन्यजन्तु उद्धार केन्द्र र प्रदेश प्राणी उद्यान (चिडियाखाना) सम्बन्धी कानून तर्जुमा गर्न सैद्धान्तिक सहमति दिएको छ । त्यसैगरी चीनमा रेल सम्बन्धी हुन लागेको सेमिनारमा भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव भरतप्रसाद अर्याललाई पठाउने निर्णय पनि बैठकले गरेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै