• २०८१ बैशाख ७ शुक्रबार

क्रोसिया विश्वकप फुटबलको सेमिफाइनलमा, पेनाल्टी सुटआउटमा आयोजक रसिया पराजित

kharibot

काठमाडौं । क्रोसिया विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

विश्वकपको क्वाटरफाइनलमा पेनाल्टी सुटआउट आयोजक रसियालाई ४-३ गोल अन्तरले पराजित गर्दै क्रोसिया विश्वकपको सेमिफाइनलमा पुगेको हो ।

रसियाका २ र क्रोसियाका एक खेलाडीले पेनाल्टी मिस गरेका थिए । रसियाका लागि फयोड़ोर स्मोलोभ र मारियो फर्नानडेजले पेनाल्टी मिस गरेका थिए भने क्रोसियाका माटियो कोभाकिकले पेनाल्टी मिस गरेका थिए ।

क्रोसियाले यसअघि नकआउट चरणको पहिलो खेलमा डेनमार्कलाई पनि पेनाल्टी सुटआउटमा पराजित गरेर क्वाटरफाइनलमा पुगेको थियो । क्रोसिया नकआउट चरणमा लगातार दोस्रो खेलमा जित हासिल गर्ने दोस्रो देश बनेको छ ।  यस अघि सन् १९९० मा अर्जेन्टिनाले युगोस्लाभिया र इटालीलाई पेनाल्टी सुताउटमा पराजित गरेको थियो ।

निर्धारित ९० मिनेटको खेलमा दुवै देशले १-१ गोल गरेपछि खेलाइएको अतिरिक्त समयमा क्रोसियाले गोल गर्दै खेल जितेको हो । क्रोसियाका लागि खेलको सयौ मिनेटमा डोमगोज भिडाले गोल गर्दै क्रोसियालाई २-१ को अग्रता दिलाएका थिए । त्यसपछि खेलको ११५औ मिनेटमा रसियाका मारियो फर्नानडेजले गोल गर्दै खेल २-२ गोलको बराबरी गरेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो ।

यसअघि रसियाले खेलको ३१औ मिनेटमा डेनिस चेरिशेभको गोलमा सुरुवाती अग्रता लिएको थियो । चेरिशेभले विश्वकपमा आफ्नो चौथो गोल गर्दै रसियालाई सुरुवाती अग्रता दिलाएका थिए । तर त्यसको आठ मिनेटपछि नै क्रोसिया खेलमा फर्किएको थियो । क्रोसियाका लागि खेलको ३९औ मिनेटमा एन्द्रेज क्रामारिकले गोल गर्दै खेल बराबरी गरेको थियो ।

यो जितसँगै क्रोसिया सन् १९९८ को विश्वकपपछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । १९९८ को विश्वकपमा क्रोसिया तेस्रो भएको थियो ।

क्रोसियाले विश्वकपमा आयोजक राष्ट्रलाई तेस्रो पटकमा पराजित गरेको छ । यस अघि सन् २०१४ मा आयोजक ब्राजिलसँग समुह चरणमा ३-१ गोल अन्तरले पराजित भएको थियो भने त्यसअघि सन् १९९८ मा सेमिफाइनलमा आयोजक फ्रान्ससँग २-१ ले पराजित गरेको थियो । 

योसँगै विश्वकपमा सेमिफाइनलको समीकरण पुरा भएको छ । यस विश्वकपमा फ्रान्स, बेल्जियम, इङल्याण्ड र क्रोसिया सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सेमिफानलमा फ्रान्सले बेल्जियमसँग आगामी जुलाई १० गते मंगलबार  र इङल्याण्डले क्रोसियासँग जुलाई ११ गते बुधबार सेमिफाइनलमा खेल्ने भएका छन् ।         
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै