• २०८१ बैशाख ८ शनिबार

अख्तियारद्वारा हुम्लाका दुई कर्मचारीविरुद्ध मुद्दा दायर

kharibot

काठमाडौँ  ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समाजिक सुरक्षा भत्तालगायतको रु ६२ लाख १२ हजार रकम भ्रष्टाचार गरेको अभियोगमा हुम्लाका दुई कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

आयोगकाअनुसार हुम्लाको साविक कालिका, मैला र मदना गाविस हाल ताजाकोट गाउँपालिका–५ मा कार्यरत वडासचिव गोपालचन्द्र लामाले आर्थिक वर्ष २०७३÷७४ को सामाजिक सुरक्षा भत्ता र पूँजीगत रकम हिनामिना गरी २०७४ असोज महिनादेखि हालसम्म बिना सूचना कार्यालयमा अनुपस्थित रहेको पाइएको छ । 

आयोगकाअनुसार सचिवद्वय गोपालचन्द्र लामा र रामप्रसाद देवकोटाले जिल्ला समन्वय समितिबाट आव २०७३÷७४ को लागि निकासा भएको पूँजीगत अनुदान, सामाजिक सुरक्षा भत्ता र सञ्चालन अनुदानसमेतको रकम सम्बन्धित कार्यालयका बैंक खाताबाट निकाली आफ्नो व्यक्तिगत खातामा राखेर दुरुपयोग गरेको अनुसन्धानबाट खुलेको छ । 

सामाजिक सुरक्षा भत्ता पाउनुपर्ने लाभग्राहीलाई भत्ता नदिएको, बढी निकासा भएको रकम राज्यकोषमा फिर्ता नगरेको, योजनाको रकम भुक्तानी नगरी खर्च लेखेको तथा लेखापरीक्षणसमेत नगराएको पाइएको छ । सचिव लामाले आव २०७३÷७४ को साविक कालिका, मैला र मदना गाविसको सामाजिक सुरक्षा भत्तातर्फ रू ३९ लाख १३ हजार, साविक मैला गाविसको पूँजीगत खर्चतर्फ रू २२ लाख ८१ हजार ४७ र साविक कालिका र मदना गाविसको चालू खर्चतर्फ रू १८ हजार भ्रष्टाचार गरेको पाइएको छ । 

यस्तै सचिव देवकोटाले सामाजिक सुरक्षातर्फ रू २२ लाख ६५ हजार, सञ्चालन अनुदानतर्फ रू छ लाख ५६ हजार र पूँजीगत खर्चतर्फ रू तीन लाख ९९ हजार गरी जम्मा रू ३३ लाख २२ हजार भ्रष्टाचार गरेको पाइएकाले बिगो असुल गरी हदैसम्मको कारबाहीको माग गरिएको आयोगले जनाएको छ । 

यस्तै दोलखा, कालिन्चोक गाउँपालिका–९ का वडा कार्यालयका सवइन्जिनियर रामनरेश यादवविरुद्ध पनि आजै विशेष अदालतमा मुद्दा दायर गरिएको छ । भूकम्पपीडितले प्राप्त गर्नुपर्ने दोस्रो किस्ताबापतको रकमको सिफारिश गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग यादवले रु नौ हजार घुस माग्दामाग्दै आयोगको टोलीले केही दिन अघि पक्राउ गरेको थियो । 

आयोगले जिल्ला प्राविधिक कार्यालय गौरका इन्जिनियर अजयकुमार ठाकुरलाई यही असार २२ गते रु ४५ हजार घुससहित पक्राउ गरेको छ । एक विद्यालयको पर्खाल र बाटो निर्माणको काम सम्पन्न भएपश्चात अन्तिम भुक्तानीको लागि बिल कागजात तयार पार्ने क्रममा इन्जिनियर ठाकुरले सेवाग्राहीसँग घुस मागेको आयोगले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै