हरिभवन नभत्काउन भन्दै सम्पदा बचाऊ अभियानकर्ताको प्रदर्शन 

खरीबोट

काठमाडौँ  ।  केही दिनदेखि ऐतिहासिक हरिभवन भत्काउने चर्चा चलेपछि सम्पदा बचाऊ अभियानकर्ताले दरबार नभत्काउन काठमाडौँ महानगरपालिकालाई आग्रह गरेका छन् । 

शुक्रबार बागदरबार अगाडी प्रदर्शन गर्दै उनीहरुले पुरातात्विक हरिभवन नभत्काउन आग्रह गरेका छन् । हाल काठमाडौँ महानगरपालिकाले प्रचलन गरिरहेको बाघदबार भनिने हरिभवन गोरखा भूकम्पका कारण पूर्णरुपमा क्षति पुगेको छ । सम्पदा बचाऊ अभियानकर्मीहरुले ऐतिहासिक सम्पत्तिको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् । 

अद्वितीय कलाकृतिसहित विशिष्ट वास्तु लक्षणका रुपमा रहेको अमरसिंह थापा र भीमसेन थापाको बाघदरबारलाई मास्न नहुने बताउँदै जीर्ण भवनलाई जोगाउन सबलीकरण गर्न सकिने विकल्प दिइएको छ । शीतल निवास, वसन्तपुरको गद्दी बैठकलगायत दरबार सबलीकरणका उदाहरण दिँदै बाघदरबारलाई पनि कामपाले सबलीकरण गर्नुपर्ने सुझाव दिइएको छ । कामपाले दरबार भत्काउनका लागि बोलपत्र आह्वान गर्ने तयारी गरेको छ । दरबार भत्काएपछि मल्लकाल, नेवारी शैली र आधुनिक शैली संयोजन गरेर भवन निर्माण गर्ने योजना कामपाको छ । उक्त दरबार कामपाले २०६० सालदेखि प्रयोगमा लिएको हो । 

पुरातत्व विभागले भत्काउन स्वीकृत दिएपछि हरिभवन भत्काइँदै छ । “करीब १८ रोपनी क्षेत्रफलमा निर्माण भएको हालको हरिभवन तीन तत्लाको छ, भवन छिट्टै भत्काउन खरिद प्रक्रियामा लगिने छ,” काठमाडौं महानगरपालिकाका सह–प्रवक्ता नवराज ढकाल भन्छन् । 

भत्काउने काम शुरु भएको तीन महिनामा सक्ने र रु एक अर्ब ५० करोडको लागतमा पुनःनिर्माणको काम थाल्ने कामपाको योजना छ । निर्माण शुरु भएको तीन वर्षमा सम्पन्न भई प्रयोगमा ल्याइने जानकारी दिँदै उनी भूकम्पका कारण क्षतिग्रस्त बाघदरबारले अब परम्परागत, मध्यकाल र आधुनिक गरी तीन काल खण्डको ढाँचा उपयोग हुने बताउछन् । 

गत असोज पहिलो साता कामपाले पुनःनिर्माण प्रक्रिया अघि बढाए पनि विभागले रोक लगाएको थियो । उक्त भवनका योजनाकार इञ्जिनीयर प्रेमबहादुर श्रेष्ठ हरिभवन नयाँ शैलीको हुने भएकाले उक्त भवन नेपालकै नमूना हुने उल्लेख गर्नुहुन्छ । परम्परागत पाटी, ढुंगेधारा, चोक आदि निर्माण हुने सो भवनमा अपांगमैत्री शौचालय, पर्याप्त लिफ्ट, विपत्तिको सामना गर्न आकस्मिक कक्षको निर्माण र आकाशेपानी संकलनजस्ता काम हुने भएको छ । 

तीन भागमा निर्माण हुने सो भवनको पहिलो भागलाई तीन तला, लिच्छविकालीन शैलीको दोस्रो भागलाई साढे ६ तला र आधुनिक शैलीको तेस्रो मोहडालाई १५ तलामा प्रस्ताव गरिएको छ । महानगरको सो भवनमा प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित सबै कर्मचारी अटाउने छन् । एकै ठाउँमा प्रमुख, उपप्रमुख, इजलास, बोर्ड हल, न्यायिक समितिको कार्यकक्ष, इजलास र कार्यपालिकाको बैठक कक्ष पनि हुनेछ । 

भवनमा विविध विशेषतायुक्त चार चोक÷आँगन रहने छन् । मुख्यचोक र प्रमुखकामा जाँदा भेटिने चोक परम्परागत नेवारी शैलीका हुनेछन् । प्रमुख, उपप्रमुख, कार्यकारी अधिकृत तथा अतिविशिष्ट व्यक्तिका लागि छुट्टाछुट्टै प्रवेश द्वार हुनेछन् । 

गोरखा भूकम्प र त्यसपछिका परकम्पनबाट कार्यालय सञ्चालन गर्न नसकिने अवस्थामा पुगेको बागदरबारको राजश्व विभाग र शहरी विकास विभागबाहेक कामपाका अन्य विभाग, जिल्ला समन्वय समिति, बबरमहल, राष्ट्रिय सभागृह र सुन्धारामा रहेको जेडिए कम्प्लेक्समा सञ्चालन भइरहेका छन् । 

दरबार पुनःनिर्माणका विषयमा विषयगत निकायबीच मतान्तर भएपछि भवनको जोखिम मूल्यांकन र सबलीकरण सम्भावनाका विषयमा नियुक्त परामर्शदाताले महानगरमा बुझाएको प्रतिवेदनमा हालको हरिभवन विसं १९९२ मा पुनःनिर्माण भएको उल्लेख छ । उक्त दरबारमा पाटेबाघ पालिएकाले बाघदबार भनिएको हो । 

इतिहासकार प्रा दिनेशराज पन्त गीर्वाणविक्रमको पालामा विक्रम संवत् १८६८ तिर बाघरदरबार बनेको बताउनुहुन्छ । भीमसेन थापाले गीर्वाणविक्रमबाट लालमोहर लगाएर धेरै जग्गा हात पारेको उनको भनाइ छ । प्राज्ञ पन्त भन्छन्, “अहिलेको भवन बाघदरबारको भवन होइन, बाघदरबार धेरै जमीनमा बनाइएको र ठूलो थियो ।” हालको दरबार हरिशम्शेरले भोगचलन गरेका हुनाले हरिभवन भनिएको हुन सके पनि दरबारलाई बाघदरबार भन्दा फरक नपर्ने उनको धारणा छ । 

विसं १९०१ मा भीमसेन थापाका भतिजा माथवरसिंह प्रधानमन्त्री भएपछि त्यसअघि सरकारीकरण भएको दरबार पुनःथापाहरूलाई नै फिर्ता गरिएको थियो । त्यसको एक वर्षपछि विसं १९०२ मा तत्कालीन राजा राजेन्द्रको योजनामा माथवरसिंह थापाको हत्या उनकै भाञ्जा जङ्बहादुरबाट भएपछि दरबारलाई पुनः सरकारीकरण गरिएको इतिहासकार पुरुषोत्तमशम्शेर जबराको भनाइ छ । 

उपेन्द्रविक्रम शाहपछि उनका छोरा भूपेन्द्रविक्रमले त्यस दरबारलाई उपयोगमा ल्याएकामा १९९० को भूकम्पले संरचना जीर्ण भएकाले पुनःनिर्माण गरिएको थियो । पुनःनिर्माण गर्ने समयमा भूपेन्द्रविक्रमका जेठा छोरा मोहनविक्रम पुल्चोकतिर सरे । त्यसपछि उक्त दरबार जुद्धशम्शेरका छोरीज्वाइँ हरिशम्शेरको स्वामित्वमा पुगी भोग चलन गरेका हुनाले सो भवनलाई हरिभवन भनिएको हो । 

बाघदरबार अहिलेको भवन होइन, अहिलेको भवनमा रहेका इँटामा श्री ३ जुद्ध १९९० र श्री ३ जुद्ध १९९१ लेखिएको छ । यदि १९९० अघि बनेको भवन भए श्री ३ जुद्ध लेखेका इँटा कसरी पर्खालमा हुन्थे ? –सम्पदा संरक्षणमा काम गर्नेहरूको प्रश्न छ । विसं २००७ पछि सरकारी स्वामित्वमा रहेको सो दरबारमा बीचमा केही समय अर्थ मन्त्रालयको कामकाज भएको थियो । विसं २०६० पुस २८ गते तत्कालीन श्री ५ को सरकारले दरबारको साँचो कामपालाई दिएको थियो । त्यसै वर्ष चैत २७ गतेदेखि महानगरको काम सो दरबारबाट शुरु भएको थियो । 

सम्बन्धित समाचार

फोहोर व्यवस्थापन स्थल सिसडोलको अनुगमन 

काठमाडौं । मंगलबार महानगरको वातावरण व्यवस्थापन समितिका पदाधिकारीले वातावरण व्यवस्थापन बिभागका अधिकारीसहित फोहोरको अन्तिम व्यवस्थापन कार्यको अवलोकन गरेका छन् ।  उपत्यकाबाट उत्पादन भएको फोहोर ढुवानी, ल्याण्डफिल्ड साइटमा पुर्याउदाको अवस्था, साइटको व्यवस्थापन,

आगामी शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागू गर्दै महानगर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी शैक्षिक सत्रदेखि अनिवार्यरूपमा स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । कामपका शिक्षा विभाग प्रमुख सीताराम कोइरालाका अनुसार महानगरभित्र रहेका सबै सार्वजनिक, सामुदायिक र संस्थागत विद्यालयमा स्थानीय

उपत्यका विकास प्राधिकरण खारेज गर्न काठमाडौं महानगरको माग  

काठमाडौँ । काठमाडौं महानगरले काठमाडौँ उपत्यका विकास प्राधिकरण खारेजी गर्न माग गरेको छ । यही माघ ६ गते प्राधिकरणले काठमाडौँ महानगरलाई भवन निर्माणसँग सम्बन्धित मापदण्ड नेपाल सरकारको २०७२ असोज १३ मा

संस्थागत विद्यालयको नाम र परिचयपत्र नेपाली भाषामै लेखाउँदै कामपा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयको नाम र विद्यार्थीलाई उपलव्ध गराउने परिचयपत्र नेपाली भाषामै राख्न लगाउने भएको छ । महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले आगामी शैक्षिकसत्रदेखि यसलाई अनिवार्य बनाउन लागिएको


z