काठमाडौँ । भूकम्पले भत्किएका घर पुनःनिर्माणलाई जारी राख्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आह्वान गरेको छ ।
यसअघि भूकम्पले भत्किएका घरको जग हाली असार मसान्तसम्म दोस्रो किस्ता लिइसक्नुपर्ने निर्णय प्राधिकरणले गरेको थियो । धेरै पीडितले अझै घर पुनःनिर्माण नसकेकाले काम जारी राख्न निर्देशन दिइएको प्राधिकरणका प्रवक्ता मनोहर घिमिरेले राससलाई जानकारी दिए ।
विसं २०७३ पुसअघि अनुदान सम्झौता गरी पहिलो किस्ता लिएका लाभग्राहीले २०७४ चैत मसान्तसम्म जग हाली दोस्रो किस्ता लिनुपर्ने निर्णय प्राधिकरण निर्देशक समितिको बैठकले गरेको थियो । त्यसबेला पनि आशातीत घर पुनःनिर्माण नभएपछि असार मसान्तसम्मका लागि म्याद थपिएको थियो ।
यसपटक पनि म्याद थपका लागि असार २१ गते प्राधिकरण परामर्श परिषद् र २४ गते निर्देशक समितिको बैठक डाकिएको थियो । परिषद् र समितिको अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था छ ।
असार २० गते मन्त्रिपरिषद्को बैठकले भदौ १४ गतेदेखि फागुन २ गतेसम्म तत्कालीन सरकारले गरेको नियुक्ति खारेज गर्ने निर्णय गरेपछि प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसाल पदमुक्त भएका थिए ।
भुसाल बाहिरिएसँगै परिषद् र समितिका बैठक पनि स्थगित भएको छ । नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त नहुँदा म्याद थप हुन सकेको छैन । जसकारण पुनःनिर्माण शुरु गरेका लाभग्राही र जिल्ला आयोजना कार्यान्वयन एकाइअन्तर्गत काम गर्ने कर्मचारीमा अन्योलता छाएकाले काम जारी राख्न निर्देशन दिइएको सहप्रवक्ता घिमिरेले बताए ।
हालसम्म नौ लाख ९६ हजार ५८२ घरको सर्वेक्षण गरिएकामा आठ लाख सात हजार ४८६ लाभग्राही सूचीमा सूचीकृत भएका छन् ।
यसैगरी ५२ हजार ५४ परिवार आंशिक क्षति भई प्रवलीकरण सूचीमा छन् । सात लाख २२ हजार १९ पीडितसँग अनुदान सम्झौता सम्पन्न भएको प्राधिकरणले जनाएको छ ।
सात लाख १३ हजार ८९३ लाभग्राहीले पहिलो किस्ता पाएका छन् । चार लाख ७९ हजार २२३ पीडित मात्र दोस्रो किस्ताका लागि प्रमाणीकरण भएका छन् ।
यसैगरी दुई लाख ५० हजार ४७७ लाभग्राही तेस्रो किस्ताका लागि प्रमाणीकरण भएका छन् । लाभग्राही सूचीमा सूचीकृत भएका पीडितले पहिलो किस्तामा रु ५० हजार, दोस्रो किस्तामा रु एक लाख ५० हजार र तेस्रो किस्तामा रु एक लाख पाउने कार्यविधि छ । प्राधिकरणले समय सीमा निर्धारण गरेपछि पुनःनिर्माणमा तीव्रता आएको छ ।