• २०८१ बैशाख ८ शनिबार

भारतका लागि नेपाली राजदूत सिफारिश संविधानसम्मत : परराष्ट्रमन्त्री

kharibot

काठमाडौँ । भारतका लागि नेपाली राजदूतमा नियुक्तिको सिफारिशमा पर्नुभएका पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीको सिफारिश संविधानसम्मत देखिएको छ । 

नेपालको संविधानको धारा २४५ को उपधारा ८ मा निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र आयुक्त भइसकेको व्यक्ति अन्य सरकारी सेवामा नियुक्तिका लागि ग्राह्य हुने छैन भनिएको तर उनी सरकारी सेवामा नियुक्त नभई राजनीतिक पद अर्थात् राजदूतमा नियुक्तिमा सिफारिश भएकाले संविधानसम्मत देखिएको कानूनविद्ले जनाएका छन् । 

संविधानकै धारा २८५ मा ‘सरकारी सेवाको गठन’शीर्षकमा नेपाल सरकारले प्रशासन सञ्चालन गर्न सङ्घीय निजामती सेवा र आवश्यकतानुसार अन्य सङ्घीय सरकारी सेवाहरुको गठन गर्न सक्ने भनी सरकारी सेवाको परिभाषा स्पष्ट गरिएको छ । यसबाट उप्रेतीको नियुक्ति निजामती सेवामा नभई राजनीतिक पद अर्थात् राजदूतमा भएकाले विवाद गरिरहनु नपर्ने कानूनविद्को धारणा छ । 

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पनि नेपालको संविधानको धारा २८२ बमोजिम सरकारले भारतका लागि नेपाली राजदूत सिफारिश गरेको स्पष्ट गर्नुभएको छ । मन्त्रिपरिषद्को गत सोमबारको बैठकले उक्त पदमा पूर्वप्रमुख निर्वाचन आयुक्तलाई सिफारिश गरेको विषयलाई लिएर केही सञ्चारमाध्यमले असंवैधानिक भन्दै समाचार सम्प्रेषण गरेपछि राससलाई प्रतिक्रिया दिँदै उहाँले सरकारबाट विधिसम्मत सिफारिश भएको बताए । 

संविधानको धारा २८२ (१)मा भएको राजदूत र विशेष प्रतिनिधिसम्बन्धी व्यवस्थामा राष्ट्रपतिले समावेशी सिद्धान्तका आधारमा नेपाली राजदूत र कुनै खास प्रयोजनका लागि विशेष प्रतिनिधि नियुक्ति गर्न सक्ने उल्लेख छ । 

पूर्वप्रमुख निर्वाचन आयुक्तको राजदूतमा सिफारिश राजनीतिक नियुक्तिका निमित्त भएकाले असंवैधानिक भन्न नमिल्ने मन्त्री ज्ञवालीले प्रष्ट गरे । नेपाल बार एशोसिएशनका पूर्वउपाध्यक्ष टीकाराम भट्टराई राजदूत राजनीतिक पद भएको तथा सरकारी सेवाको पद नभएको प्रष्ट्याउँदै पूर्वप्रमुख निर्वाचन आयुक्तको उक्त सिफारिश संविधानअनुकूल नै भएको बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै