• २०८१ बैशाख १३ बिहीबार

धुर्मुस सुन्तली र भरतपुर महानगरले सहकार्य गरेर अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने

kharibot

चितवन । भरतपुर महानगरपालिकाले धुर्मुस सुन्तली फाउण्डेशनसँग सहकार्य गरेर अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गर्ने भएको छ । 

महानगरका प्रमुख रेनु दाहालले कृषि तथा वनविज्ञान विश्वविद्यालय परिसरमा रहेको जग्गामा रंगशाला निर्माणका लागि गृहकार्य थालिएको बताइन् । 

विश्वविद्यालयलाई भरतपुर– १८ स्थित सार्वजनिक जग्गा सट्टाभर्ना गरेर रामपुरमा विश्वविद्यालयसँग क्रिकेट रंगशालाका लागि आवश्यक पर्ने जग्गा लिन लागिएको हो । 

प्रमुख दाहालले फाउण्डेशनका तर्फबाट छिटोजग्गाको टुंगो लगाउन ताकेता भइरहेको जानकारी दिँदै आज रामपुरको जग्गा नापजाँच गर्ने काम भएको बताइन् । दाहालले भनिन्, “फाउण्डेशनले छिटो ठाउँ दिनुपर्यो भनेर ताकेता गरिरहेको छ । कार्यविधि बनाएर काम अगाडि बढाइएको छ ।” उनका अनुसार फाउण्डेशनलाई विदेशी दाताले पनि लगानी गर्न इच्छा व्यक्त गर्दै छिटो काम गर्न ताकेता गरिरहेका छन् । 

दाहालका अनुसार झण्डै रु तीन अर्बको लगानीमा अन्तर्राष्ट्रियस्तरको रंगशाला बन्नेछ जसका लागि २५० मिटर चौडाइ र ५५० मिटर लम्बाइ भएको एउटै जग्गा आवश्यक पर्छ । महानगरका अन्य क्षेत्रमा रहेको सार्वजनिक जग्गा आवश्यक लम्बाइ चौडाइ मिल्ने गरी नभएपछि विश्वविद्यालयको जग्गामा रंगशाला निर्माण गर्न लागिएको हो । 

त्रिविले विश्वविद्यालयको परिसरमा रहेको जग्गामध्ये ४० बिघामा इञ्जिनीयरिङ कलेज सञ्चालन गर्दैछ । सँगै रहेको जग्गामा रंगशाला निर्माण प्रक्रिया अगाडि बढाइएको छ । विश्वविद्यालयका उपकुलपति प्रा डा ईश्वरीप्रसाद ढकालले महानगरले सट्टा जग्गा दिने गरी रंगशालाको प्रस्ताव गरेको बताए । 

महानगरले जग्गा दिने ठाउँमा भैंँसी प्रजनन केन्द्र स्थापना गर्ने तयारी विश्वविद्यालयले गरेको छ । ढकालले चितवनमा रंगशाला निर्माण गर्दा यहाँको विकासमा ठूलो टेवा पुग्ने बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै