• २०८१ बैशाख ७ शुक्रबार

अर्नालाई बचाउन ढिस्को निर्माण

kharibot

फाइल तस्विर । 

चितवन / चितवन राष्ट्रिय निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा राखिएका अर्नालाई बर्सातमा बाढीबाट जोगाउन ढिस्को निर्माण गरिएको छ । गत वर्षको बर्सातमा आएको बाढीका कारण दुई अर्ना मरेका थिए । बाँकी सबै संक्रमणबाट ग्रसित भएका थिए । बाढीकै कारण सोही ठाउँमा राखिएका तीन बाह्रसिंगे हराएका थिए । 

निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकका अनुसार एक मिटर अग्लो, ६ मिटर चौडा र २० मिटर लामो दुई वटा ढिस्को निर्माण गरिएको छ । पाठकका अनुसार बर्सातमा बाढी आएमा अर्ना ढिस्कोमा बस्न सक्ने बनाइएको छ । बाढीको समयमा सबैतिर पानी भरिँदा ओभानोमा बस्न सहयोग पुग्ने र सामान्य घाँस ओभानोमा उपलब्ध गराउन ढिस्को निर्माण गरिएको बताइएको छ । 

तारवार गरिएको क्षेत्रमा पानी छिर्ने ठाउँ र बाहिरिने ठाउँमा ढलान गरेर बलियो बनाइएको छ । पाठकका अनुसार पानी बाहिरिने ठाउँमा बाढीले भत्काएर गत वर्ष तीन वटा बाह्रसिंगे भागेका थिए । पानीले खोलेर अर्ना र बाह्रसिंगे बाहिर जान नपाउन भन्नका लागि समयमा नै ढलान गरिएको उनले बताए । गत वर्ष बाढीका कारण खानाको अभावले सबै अर्ना बिरामी परेका थिए । 

निकुञ्जका वरिष्ठ पशु चिकित्सक कमल गैरेका अनुसार गत वर्ष बर्सातका कारण खानेकुरा अस्वस्थकर भई अर्नामा परजीवी फैलिएको थियो । लामो समयसम्म उपचार र बाहिरबाट पोषण एवम् खानेकुरा खुवाएपछि अर्ना बचेको उनले बताए । हाल दैनिक हात्तीबाट सो स्थानमा पुगेर अनुगमन गर्ने काम भइरहेको छ । अर्नाको नियमित गोबर परीक्षण गरिएको उनले बताए । 

पाठकका अनुसार हाल सो ठाउँमा नौ वटा अर्ना रहेका छन् । ती मध्ये दुई भाले र अन्य पोथी छन् । सोही ठाउँमा एउटा पोथी बाह्रसिंगे छ । तीन वटा अर्ना ब्याउने अवस्थामा रहेको बताइएको छ । 

गत वर्ष कोशीटप्पुबाट अर्ना र शुक्लाफाँटाबाट बाह्रसिंगे ल्याइएको थियो । निकुञ्जभित्र पुरानो पदमपुर क्षेत्रमा ३० हेक्टर जमीनलाई विद्युतीय तारबार गरेर कोशीबाट ल्याइएका १२ र जावलाखेलको सदर चिडियाखानाबाट ल्याइएका तीन सहित १५ अर्ना राखिएको थियो । चिडियाखानाबाट ल्याइएका तीन वटा अर्ना पहिला नै मरेका थिए । बाढीले दुई र बाघले खाएर एउटा अर्ना मरेपछि नौ वटा बाँकी रहेका हुन् । बाह्रसिंगे सात वटा ल्याइएकामा तत्कालै तीन वटा मरेका थिए भने तीन वटा बाढी सँगै हराएको र एउटा बाँकी रहेको पाठकले बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै