अनुसन्धानकर्ताका लागि महत्वपूर्णस्थल मदन भण्डारी संग्रहालय

खरीबोट
ad

 मोरङ / तत्कातीलन नेकपा (एमाले) का महासचिव जननेता मदन भण्डारीले दिएको योगदानलाई जीवन्त राख्न मोरङको उर्लाबारी नगरपालिका–३ मा निर्माण गरिएको ‘मदन भण्डारी संग्रहालय’ खोज तथा अनुसन्धानकर्ताका लागि महत्वपूर्णस्थल बनेको छ । 

गत चैत १६ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको  उक्त संग्रहालय चैत १८ गतेदेखि खुल्ला गरिएको छ । संग्रहालय जननेता भण्डारीको जन्मदेखि मृत्युसम्मका सबै विषयमा खोज एवं अनुसन्धान गर्नेका लागि महत्वपूर्ण स्थल बनेको मदन भण्डारी स्मृति प्रतिष्ठान नेपाल, उर्लाबारीका अध्यक्ष गुरुप्रसाद बराल बताउछन्  । ‘मदन भण्डारी संग्रहालय’ राजनीतिज्ञ, खोज तथा अनुसन्धानकर्ताको लागि महत्वपूर्णस्थल रहेको बताउदै अध्यक्ष बरालले संग्रहालयको संरक्षण तथा सम्वद्र्धनमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिए । 

जननेता भण्डारीका विषयमा अध्ययन गर्न विद्यार्थी, पत्रकार, प्राध्यापक एवं राजनीतिज्ञ संग्रहालयमा आउने गरेको संग्रहालय हेर्ने जिम्मेवारी पाएका लेखा तथा प्रशासन अधिकृत गणेश घिमिरेले बताए । ‘मदन भण्डारी संग्रहालय’ स्थापन भएसँगै प्रतिनिधिसभा सांसद्, प्रदेशसभा सांसद्, स्थानीय तहका जनप्रतिनिधि, स्थानीयवासी, शैक्षिक संस्थाका शिक्षक एवं विद्यार्थी, विभिन्न सहकारी संस्थाका सञ्चालक र कर्मचारी, मदन भण्डारीका समकालीन व्यक्तित्व, सामाजिक एवं राजनीतिक व्यक्तित्वलगायतले यसको अवलोकन गर्दै उनको जीवनका विषयमा अध्ययन गरेका छन् । 

सो संग्रहालय भर्खरै मात्र सञ्चालनमा आएकाले दैनिक ५० बढीले अवलोकन गर्ने गरेको अधिकृत घिमिरेले बताए  । मदन भण्डारीका दुर्लभ सामग्री एवं दस्तावेजलाई संरक्षण गर्नका लागि हाल सो संग्रहालयमा अभिलेखालय निर्माण भइरहेको छ । 

सो अभिलेखालयमा भण्डारीका राजनीतिक एवं सैद्धान्तिक दस्तावेज, पार्टी स्थापना तथा भूमिगत गतिविधिका सामग्री, उनले लेखेको चिठीपत्र, साहित्यिक रचनालगायत उनसँग सम्बन्धित कागजातलाई आगामी २०० वर्षसम्म पनि सुरक्षित रहनका लागि माइक्रोफिल्म डिजिटल प्रविधिबाट संरक्षण गर्ने तयारी भइरहेको सो कामको मुख्य जिम्मेवारी लिनुभएकी प्रतिष्ठानअन्तर्गतको प्रकाशन एकाइकी सदस्य जयन्ता पोख्रेलले बताए । 

प्रतिष्ठान हाताभित्र पर्यटकलाई आकर्षित गर्नका लागि मनोरञ्जन पार्क पनि निर्माण भइरहेको छ । सो पार्कमा स्वीमिङ पुल समेत निर्माण भइरहेको छ । विद्यार्थीका लागि अध्ययन गर्ने स्थलका रुपमा विकास गर्न प्रतिष्ठानभित्र विज्ञान पार्क निर्माणका लागि बजेट उपलब्ध गराउन संघीय सरकारसँग पहल भइरहेको अध्यक्ष बरालले बताए । 

पुरातत्व विभागको आर्थिक सहयोगमा करीब १० वर्ष लगाएर  तीन करोडको लागतमा संग्रहालय निर्माण गरिएको हो । दश वर्षअघि ‘मदन भण्डारी स्मृति कक्ष’बाट निर्माण शुरु गरिएको संग्रहालय भवन भूकम्प प्रतिरोधात्मक क्षमताको रहेको छ । संग्रहालय तीन तले छ भने जम्मा १६ वटा कक्ष रहेका छन् । संग्रहालय प्रवेशद्वारमा जननेता भण्डारीको तस्वीर र उनी  जन्मिएको ताप्लेजुङको ढुंगेसाँघु गाउँदेखि अन्त्यमा चितवनको दासढुंगामा उनी  सवार दुर्घटनामा परेको जीपलाई राखिएको छ । 

संग्रहालयको मुख्यद्वारको उत्तरपट्टिको भित्तामा भण्डारीको अर्धकदको ‘मोज्याक आर्ट’ राखिएको छ । संग्रहालय प्रवेश गरिसकेपछि पश्चिमपट्टिको भित्तामा उनको व्यक्तित्व झल्काउने दश मिनेटको श्रव्यदृष्य प्रदर्शन गरिनेछ । जननेता भण्डारी पहिलो पटक सात सदस्यीय नेपाली जनवादी सांस्कृतिक संघमा आबद्ध भएर राजनीतिक र सामाजिक परिवर्तनको आन्दोलनमा होमिएको देखाइएको छ । विसं २०१७ को फौजी काण्ड, जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको गिरफ्तारी, २०१८ सालमा भएको नेत्र गुरागाइँको हत्या, २०२१ सालमा भएको क्रान्ति योद्धा दुर्गानन्द झाको हत्या, २०२८ सालमा भएको झापा विद्रोह, त्यसपछि उत्पन्न भएको क्रान्तिलाई जननेता भण्डारीले सुक्ष्मरुपले अध्ययन गरी नेपाली कम्यूनिष्ट आन्दोलनको राजनीतिक दिशा निर्धारित गर्नुभएको संग्रहालयमा चित्रित गरिएको छ । 

संग्रहालयमा सिराहा जिल्लाकोे विष्णुपुरकट्टीमा २०४६ भदौ ९–१४ मा नेकपा (माले) द्वारा आयोजित नेकपाको चौँथो राष्ट्रिय महाधिवेशनसँग सम्बन्धित विवरण राखिएको छ । जसले भण्डारीलाई पार्टीको महासचिवमा सर्वसम्मतिले चयन गरेको थियो । संग्रहालयमा दोस्रो तलामा सोकेशभित्र जननेता भण्डारीको निजी प्रयोगका घडी, टोपी, पेटी, चप्पल, लुंगी, ज्याकेट, मोजा, जुत्ता, रेडियो, भाडावर्तन, औजार, चस्मा, डायरी, कलम, बुबाआमालाई लेखेको चिठ्ठी आदि राखिएको छ । 

संग्रहालयमा मोरङको इटहरास्थित घरको प्रतिकृतिसहित जननेता भण्डारीले प्रयोग गर्नुभएको साइकल राखिएको छ । संग्रहालयमा भण्डारीको काठमाडौँ नक्सालस्थित डेरा र अध्ययन कक्षको पनि प्रतिकृति बनाइएको छ । जसले जननेता भण्डारीको जीवनका विषयमा जो कोहीलाई पनि बुझ्न सहज हुनेछ । संग्रहालयमा जननेता भण्डारीले त्यसबेला प्रतिनिधिसभामा खेल्नुभएको भूमिकासँग सम्बन्धित सामग्रीको प्रस्तुतीकरण तथा नेपालसँग भएका विभिन्न असमान सन्धि सम्झौतासँग सम्बन्धित रहेर राष्ट्रियताको मुद्दामा उहाँले लिएको अडानसम्बन्धी सामग्री राखिएका छन् ।

संग्रहालयमा दासढुंगा दुर्घटनासम्बन्धी पोखराको सभागृहको तस्वीर, दासढुंगाको गाडी गुड्ने सडक तथा गाडीको चित्रांकन, सडकदेखि त्रिशूली नदीसम्मको भिरालोमा गाडी दुर्घटना भएको ठाउँको तस्वीर, त्रिशूलीको भेलमाथि हेलिकोप्टरसहितको टोलीले जननेता भण्डारीलाई खोजीरहेको तस्वीर, दुर्घटनाग्रस्त गाडी त्रिशूलीबाट क्रेनको साहाराले निकाल्दै गरेको तस्वीर, नेता जीवराज आश्रितको शवको अवस्था देखाउने तस्वीर, चितवनको गाँजीपुरस्थित त्रिशूलीको बगरमा जननेता भण्डारीको शव भेटिएको तस्वीर, त्यसताका रेडियो नेपाल र नेपाल टेलिभिजनको घटनाबारेको समाचारको अंश, दशरंथ रंगशालाको श्रद्धाञ्जलि सभादेखि आर्यघाटसम्मको शवयात्राका तस्वीर देखाइएको छ । 

संग्रहालयको तेस्रो तलामा १४० जनासम्म अटाउन सकिने सभाहल रहेको छ । यस सभाहलभित्र रहेको ‘प्रोजेक्टर’बाट जननेता भण्डारीसम्बन्धी वृत्तचित्र प्रदर्शनका साथै जनताको बहुदलीय जनवाद (जवज)को पाठशालाको रुपमा समेत प्रयोग गरिएको छ । जननेता भण्डारीको जीवनको विषयमा जो कोहीलाई पनि बुझ्न सहज होस् भन्ने उद्देश्यले संग्रहालय निर्माण गरिएको प्रतिष्ठानका अध्यक्ष बरालले बताए । विसं २०५० मा स्थापना भएको प्रतिष्ठानले प्राविधिक शिक्षा र सामुदायिक विकासका गतिविधि गर्दै आएको छ । 

सम्बन्धित समाचार

अनुसन्धानकर्ताका लागि महत्वपूर्णस्थल मदन भण्डारी संग्रहालय

 मोरङ / तत्कातीलन नेकपा (एमाले) का महासचिव जननेता मदन भण्डारीले दिएको योगदानलाई जीवन्त राख्न मोरङको उर्लाबारी नगरपालिका–३ मा निर्माण गरिएको ‘मदन भण्डारी संग्रहालय’ खोज तथा अनुसन्धानकर्ताका लागि महत्वपूर्णस्थल बनेको छ

मदन भण्डारी संग्रहालय : ढुंगेसाँघुदेखि दासढुंगासम्म

उर्लाबारी । तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारीको राजनीतिक, सामाजिक एवं पारिवारिक गतिविधिलाई समेटेर उर्लाबारीमा ‘मदन भण्डारी संग्रहालय’ निर्माण गरिएको छ । पुरातत्व विभागको आर्थिक सहयोगमा करीब रु तीन करोडको

मदन भण्डारी संग्रहालय : ढुंगेसाँघुदेखि दासढुंगासम्म

उर्लाबारी, मोरङ । तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारीको राजनीतिक, सामाजिक एवं पारिवारिक गतिविधिलाई समेटेर उर्लाबारीमा ‘मदन भण्डारी संग्रहालय’ निर्माण गरिएको छ ।  पुरातत्व विभागको आर्थिक सहयोगमा करीब रु तीन करोडको लागतमा


z