• २०८१ बैशाख ७ शुक्रबार

मंगलग्रहमा पानी भेटियो, जीवनको सम्भावना कति ? 

kharibot

२० किमि फराकिलो ताल जुन मंगलको दक्षिणी ध्रुवको बरफी सतहमुनि रहेको बताइएको छ । तस्बिर : नासा

उत्तर अमेरिका । शोधकर्ताहरुले मंगल ग्रहको सतहमुनि पानी रहेको पत्ता लगाएका छन् । उनीहरुका अनुसार मंगलग्रहमा मिलेको पानी दक्षिण ध्रुवीय चीसो क्षेत्रमा एउटा तालको रुपमा रहेको छ । जुन करिब २० किमि क्षेत्रमा फैलिएर रहेको विश्वास गरिएको छ । 

अत्यन्त चीसो सतहबाट करिब एक किमि तल उक्त ताल रहेको उनीहरुले बताएका छन् । यसअघिको शोधमा मंगलको धरातलमा तरल जलको सम्भावित चिह्न मिलेको बताइएको थियो । तर अहिले भने मंगलग्रहमा पानी रहेको ठोकुवासहित भनिएको कुरा सार्वजनिक भएको हो । 

नासाको क्युरिओसिटी रोभरले पत्ता लगाएको क्षेत्रमा समेत कुनै बखत पानी रहेको बताइएको छ । कमजोर वायुमण्डलको कारण मंगलको जलवायु ठण्डा भएको र त्यो अहिले बरफमा परिवर्तन भएको विश्वास समेत गरिएको छ । 

यो नयाँ तथ्य मार्सिस नामको एक राडार उपकरणको सहायतामा सम्भव भएको हो । मार्सिस मंगलको कक्षमा रहेको एउटा राडार उपकरण हो । 

अध्ययनको नेतृत्वकर्ता इटालेली नेशनल इन्स्टिच्युट अफ एष्ट्रोफिजिक्सका प्रोफेसर रोबर्ट ओरोसेईका अनुसार सम्भवतः ठूलो ताल रहेको हुनसक्छ । यद्यपि उक्त पानीको गहिराइ कति छ भन्नेचाहिँ पत्ता लागिसकेको छैन । 

तर अनुसन्धानकर्ता समूहको अनुमानमा भने कमसेकम १ मिटर गहिराइको ताल रहेको बताइएको छ । 

प्रोफेसर ओरोसेईका अनुसार जुन मिलेको छ, त्यो एउटा ताल नै हो । 

जीवनको सम्भावना कति ? 

मंगलमा पानी रहेको ठोकुवा गरिए पनि जीवनको सम्भावनाहरु बारे भने अहिले नै केही भन्न नसकिने बताइएको छ । मंगलको सतहमा जीवनअनुकूल परिस्थिति नभए पनि अब नयाँ तथ्यगत उपलब्धि भने निकै अगाडि बढेको विद्वानहरुले बताएका छन् । झन् अहिले भेटिएको पानी नै भएको यदि साँचो साबित भए यो वैज्ञानिकहरुका लागि ठूलो उत्साहको विषय हुने बताइएको छ । 

यस तथ्यले अब खोजलाई कसरी अगाडि बढाउने भन्ने ज्ञान प्राप्त भएको उनीहरुको भनाइ छ । अहिलेलाई उक्त पानी पनि जमिनमुनि गाडिएको धन जस्तै भएको बताइएको छ । 

तरल जल रहेको तथ्यले मंगलग्रहमा जीवनबारे अध्ययन गरिरहेका शोधकर्ताहरुलाई ठूलो टेवा मिल्नेछ । यसबारे अझै अध्ययन अनुसन्धान भएर ठोस निष्कर्षमा पुग्न अझै समय लाग्ने बताइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै