• २०८१ बैशाख ११ मंगलबार

औद्योगिक क्षेत्र स्थापना गर्न जग्गा अधिग्रहण

kharibot

नेपालगञ्ज / बाँकेको बैजनाथ गाउँपालिकास्थित नौवस्तामा औद्योगिक क्षेत्र निर्माण प्रक्रिया अघि बढाइएको छ । 

औद्योगिक क्षेत्रका लागि जग्गा अधिग्रहण र विस्तृत मूल्यांकन प्रतिवेदन (डिपिआर)को काम सकिएको छ । अहिले यहाँ वातावरण प्रभाव मूल्यांकन र उद्योग स्थापनाबारे सर्वेक्षण भइरहेको छ । 

नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्था कार्यालयका प्रमुख कृष्णबहादुर पुनका अनुसार उद्योग स्थापनाका लागि उद्योगीसँग आशयपत्र माग गरिएको छ । आशयपत्र मागको प्रक्रिया पूरा भएपछि औद्योगिक क्षेत्र निर्माणको काम शुरु हुनेछ । नौवस्ताको ३३८ बिगाह क्षेत्रफलमा स्थापना हुने सो औद्योगिक क्षेत्रमा करीब २०० ठूला र मझौला उद्योग स्थापना गरिने पुन बताउछन् । 

अधिग्रहण गरेको जग्गामा हाल २५८ परिवारको बसोवास रहेको छ । ती परिवारले वैकल्पिक व्यवस्था सरकारले गर्नुपर्ने माग अघि सारेका छन् । सो विषयबारे स्थानीय तहमा दलीय बैठकबाट सहमति जुटाउने प्रयास भइरहेको छ । नेपालगञ्ज बजारको मध्यभागमा स्थापना गर्न लागेकाले वातावरणीय प्रभाव पर्ने हुँदा सहर बाहिर औद्योगिक क्षेत्र स्थापना गर्नुपर्ने देखिएको छ । उद्योगबाट निस्कने धुवाँ र मेसिनको चर्को आवाजका कारण औद्योगिक क्षेत्र सार्नुपर्ने माग वर्षौँदेखि उठ्दै आएको छ । 

नौवस्तामा औद्योगिक क्षेत्र स्थापना भएपछि नेपालगञ्ज औद्योगिक क्षेत्रका उद्योग आवश्यकता अनुसार स्थानान्तरण गर्न सकिने कार्यालय प्रमुख पुन बताउछन् ।  औद्योगिक क्षेत्र स्थापना भए यसले प्रदेश नं ५, ७ र कर्णाली प्रदेशको अर्थतन्त्रले ठूलो फड्को मार्ने तथा वस्तु उत्पादनमा मुलुक आत्मनिर्भर हुने विश्वास गरिएको छ । 

“नौवस्तामा औद्योगिक क्षेत्र स्थापनाका लागि उद्योगी व्यापारीको आवश्यक सहयोग रहन्छ,” नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले भने । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै