• २०८१ बैशाख ७ शुक्रबार

अमेरिकासँग चीनको व्यापारमा कमी आयो

kharibot

बेइजिङ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनीया सामानमा अर्बौं डलरको कर लगाउने घोषणा गरेयता चीनको अमेरिकासँगको व्यापारमा जुलाई महिनामा सामान्य रुपमा कमी आएको छ । 

दुवै मुलुकले व्यापारमा थप कडाई गर्ने धारणा सार्वजनिक गरिरहेको अवस्थामा बुधबार यस्तो विवरण सार्वजनिक भएको छ । विश्वका सर्वाधिक ठूला अर्थतन्त्र रहेका अमेरिका र चीनको व्यापारिक तनाबले व्यापार युद्धकै रुप लिने र त्यसले विश्व व्यापारमा असर पार्ने अनुमान गरिएको छ । 

जुलाईमा अमेरिकासँग चीनको व्यापार नाफा २८ अर्ब डलर भएको, जुन गत जुन महिनाको २८.९ अर्बभन्दा केही कमी हो । अमेरिकासँग चीनको व्यापार असन्तुलन नै ट्रम्पको सबैभन्दा ठूलो टाउको दुखाईको विषय हो । ट्रम्पले चीनले छलकपटपूर्ण अभ्यास गरेको, अमेरिकी रोजगारी खोसेको र प्रविधि चोरी गरेको आरोप लगाउँदै आएका छन्  । 

चीनको विश्वव्यापी व्यापारिमा पनि कमी आएको छ । आयात र निर्यात बढेपनि जुन महिनामा ४१.५ अर्ब डलर रहेकोमा जुलाईमा २८ अर्ब डलर भएको छ । चीनको अमेरिकासँगको व्यापार असन्तुलनमा कमी आएपनि ट्रम्पसँगको तनाब कम हुने देखिन्न । जुलाई ६ मा ह्वाइट हाउसले अमेरिका प्रवेश गर्ने ३४ अर्ब मूल्य बराबरका चिनीया उत्पादनमाथि २५ प्रतिशत कर लगाउने घोषणा गरेको छ । बेइजिङले पनि यस्तै कम चालेको छ । 

अमेरिकी अधिकारीहरुका अनुसार, अगष्ट २३ बाट चीनबाट आयात गरिने १६ अर्ब डलर बराबरका सामानमा अतिरिक्त २५ प्रतिशत कर लगाइनेछ । ट्रम्प प्रशासनले कर वृद्धि गर्दै जाने अनुमान गरिएको अवस्थामा चीनले पनि प्रतिशोधपूर्ण करवृद्धि योजना अघि सारिरहेको छ । यसबाट पूर्ण व्यापार युद्ध हुने खतरा बढेको छ भने विश्व अर्थतन्त्रमै यसले गम्भीर असर पार्नेछ । 

अमेरिकाले भविष्यमा थप २०० अर्ब डलरका चिनीया सामानमाथि कर लगाउने तयारी थालेको छ । 

ट्रम्पले व्यापार युद्धलाई सहजै जित्न सकिने बताइआउनुभएको छ र चीनले आफ्ना कार्यमा सुधार नगरे सबै चिनीया आयातमा कर लगाउने चेतावनी दिएका छन् । उनले यस कार्यबाट ३३५ अर्ब अमेरिकी डलरको व्यापार घाटालाई न्यूनीकरण हुने बताए । 

अमेरिकी उद्योग र किसानहरु यो कदमबाट सर्वाधिक प्रभावमा परेका छन् । ट्रम्प प्रशासनले किसानहरुलाई परेको प्रभाव कम गर्न १२ अर्ब डलरको सहायता गर्ने घोषणा गरिसकेको छ । 

अक्सफोर्डका अर्थशास्त्रीहरुका अनुसार, अमेरिका–चीन व्यापार युद्धले विश्वव्यापी कूल घरेलु उत्पादनमा सन् २०२० सम्ममा करिब ०.७ प्रतिशतले कमी आउनेछ । 

अमेरिकासँगको कर युद्धका बाबजूद जुलाईमा चीनको विश्वव्यापी निर्यात प्रक्षेपण गरेभन्दा बढी १२.२ प्रतिशतले वृद्धि भएको छ र आयातमा पनि अनुमान गरेभन्दा केही बढी अर्थात् २७.३ प्रतिशत भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै