• २०८१ बैशाख ६ बिहीबार

हास्य व्यंग्यको दुनियाँमा रमाएका डम्बर 

kharibot

काठमाडौँ । २००२ सालमा खोटाङ जिल्लाको रावाखोला वडा नम्बर ६ मा आमा मेनकुमारी र बाबु गजाधर घिमिरेको कान्छो छोराको रुपमा जन्मिएका हुन् डम्बर घिमिरे ।

सामान्य परिवारमा जन्मिएका घिमिरे आफ्नो बाल्यावस्थालाई फर्केर हेर्दा आफ्नो बाल्यकाल उत्कृष्ट र नाजुक नभएर सामान्य नै रहेको बताउँछन् । उनी भन्छन्, “म सामान्य परिवारमा जन्मिएको हुँ, गाउँघरमा गोठ, दाउँरा, घास, खेतीपाती, गाईवस्तु चराएरै मैले आफ्नो बाल्यकाल बिताएँ ।’  खान र लाउनकै लागि दुःख नभएको बताउने घिमिरे दुई वर्षकै हुँदा बुबाको मृत्यु भएपछि विभिन्न हन्डर खाँदै यहाँसम्म आइपुगे । 

१७ वर्षको उमेरमा पढ्नकै लागि घर छोडेर बनारस गएका डम्बर लगभग ८ वर्षसम्म बनारस बसे । बनारसका संस्कृत विद्यालय, महाविद्यालयहरुमा विद्यालयले विद्यार्थीहरुलाई  छात्रावासमा राखेर खान दिने, पढाउने र छात्रवृत्ति समेत प्रदान गर्ने भएकाले डम्बरलगायत धेरै नेपालीहरुले पढ्न पाउने गरेको उनी सुनाउँछन् । तर उनका साइँला दाइ बनारसमै पढ्ने भएकोले दाइको आडभरोसा थियो । 

गंगाजीको तटमा बसेर कविता लेखन

बनारसमा हुँदा धेरै साहित्यिक गोष्ठी हुने र साथीहरुले समेत लेख्ने र पत्रिका पढ्ने बानीले उनको पनि साहित्यमा रुचि बढ्दै गयो । आफ्नो साहित्य निकै ढिलो फुरेको बताउने कवि घिमिरे आफूसँगै बस्ने साथीको श्रीमती र साथीबीच बाक्लै चिठी आदानप्रदान हुने भएकाले यसै प्रसङ्गमा अर्को साथीले लेखेको कविता पढ्ने गर्थे । तर आफूले कविता नलेख्ने भए पनि साथीले लेखेको कविता उनलाई कता कता कविता जस्तो नै लाग्दैन थियो । 

यस्तैमा दिनहरु बित्दै जाँदा साथीहरुले आफूलाई जिस्काएको महसुस भएपछि उनी पनि गंगाजीको तटमा कापी र कलम लिएर गए । उनी भन्छन्,  “कलम र कापी बोकेर गंगाजीको तटमा गएर हे  गंगे नमस्कार, आजदेखि सरस्वती वरदान गरिदेऊ, ज्ञान देऊ, विद्यादेउ, आजदेखि नै मलाई साहित्यकार बनाउनुपर्छ भनेर लिँडेढिपी गरेँ, त्यसको आधा घण्टापछि पहिलो व्यंग्यात्मक कविता फुर्यो “पूर्वतिर फर्किँदा” ।’ जुन कविता लेखनको सुरुवातसँगै उनी साहित्यमा डुबुल्की मार्न थाले  । 

त्यसपछि क्रमसः उनले कविता लेख्दै गए । फलस्वरुप उनले महाकाव्य समेत प्रकाशन गरिसकेका छन् । उनका सबै कृतिहरुमा देशप्रेम, सामाजिक विकृतिप्रति व्यंग्य, व्यक्तित्व, यौवनावस्थादेखि राष्ट्रिय भाव जस्ता विषयवस्तु समेटिएका छन् । 

२०५१ सालमै उनले पहिलो कविता संग्रह भीष्म प्रतिज्ञा प्रकाशन गरे । त्यसपछि वर्तमान मान्छेसँग कविता लेखेर कविताको छेउमा पुग्न सकिँदैन तर पनि रचना जतिको उच्च कोटी अरु केही छैन भन्ने विचार गरी हास्य व्यंग्यतिर लाग्ने विचार गरे उनले । प्राडा द्वय नरेन्द्र चापागाईं र बालकृष्ण पोख्रेलसँग कुरा समेत गरे । गुरुहरुले हास्य व्यंग्यमा नलाग्न सुझाव दिए तर पनि उनले मानेनन् ।  उनी भन्छन्, “गुरुहरुले भनेको मानिन, आफै हास्य व्यंग्यमा लागेँ तर कविता लेख्न छोडेको छैन ।’ हास्य व्यंग्यमा लागेर कुनै गुनासो नभएको उनी बताउँछन् । 

‘हास्य व्यंग्यमा लागेर जति चर्चा पाएँ, परिचय बढ्यो र प्रस्तुति जति मन पराए त्यो ठूलो कुरा हो, सामान्य साहित्य मात्र लेखेको भए अहिले जति डम्बर घिमिरे छु त्यति हुने थिइनँ’, उनले अनुभव सुनाए । 

इखले नवरंग साहित्य प्रतिष्ठानको जन्म 

जब उनी बनारसबाट नेपाल फर्किए र झापाको धर्मपुरमा एउटा स्कुलमा पढाउन थाले । यसैक्रममा झापाको शनिश्चरे भन्ने ठाउँमा साहित्यिक कार्यक्रम आयोजना गरियो । उनी पनि कविता वाचन गर्न गए तर उनले कविता वाचनको मौका पाएनन् । अरुले संस्था खोले वाचन गर्न दिएनन् भनेर रिसाउन भएन बरु आफु पनि संस्था खोलेर किन कार्यक्रम नगर्ने भन्ने सोचे र नवरंग साहित्य प्रतिष्ठान खोले ।

जुन संस्थालाई जीवन्तता दिन हाल अर्को संस्थासँग मिलाएर नवरंगलाई नयाँ नासोको नाममा सञ्चालन गरिँदै आएको छ, जसमा घिमिरे संस्थापक अध्यक्षको रुपमा रहेका छन्  । यदि आफूले त्यो समयमा कविता वाचन गर्ने मौका पाएको भए नवरंग वा नवनासो संस्थाको जन्म नहुने उनले बताउँछन् । उनी भन्छन्, “यदि मैले कविता वाचनको अवसर पाएको भए यी साहित्यिक संस्थाको जन्म हुने थिएन होला ।”  कुनै समय अवसर नपाउनु भनेको अर्को कुनै नयाँ बाटो पहिल्याउनु पनि भएको उनको भनाइ छ । 

घिमिरेका कृतिहरु 

१७ वर्षको उमेरमा घरबाट भागेर बनारस गई शिक्षा आर्जन गरी साहित्यमा उदाएका कवि तथा हास्य व्यंग्य कलाकार डम्बर घिमिरेले २०५१ सालमा पहिलो कविता संग्रह भीष्म प्रतिज्ञा प्रकाशन गरे  । त्यसपछि  २०५७ सालमा भिन्नै, हसाउने र प्रभावशाली मान्छे छ भन्ने कसैले सुनाएको हल्लाकै भरमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठले उनलाई काठमाडौँमा बोलाए ।

उनीहरुले जे सुनेर बोलाए, उनले त्यही सुनाए अर्थात् अब मन पराइए उनी ।  यसैे क्रममा म्युजिक नेपालले हास्य व्यंग्य क्यासेट निकाल्यो । उनले आफ्नो दम्दार प्रस्तुती दिए । २०६० सालमा हास्य व्यंग्य कविता संग्रह घामपानी,  २०६५ सालमा शोककाव्य खण्डकाव्य धर्मकुमारी, २०७३ जेठमा मामृवाणी महाकाव्य र संयुक्त महाकाव्य जियालो लगायतका कृतिहरु उनले प्रकाशन गरिसकेका छन् ।

त्यस्तै हास्य व्यंग्य कथासंग्रह, अमेरिका यात्राको संस्मरण समेत हास्यव्यंग्य शैलीमा लेख्ने र एउटा हास्य व्यंग्य महाकाव्य समेत लेख्ने तयारीमा जुटेका छन् उनी । 

हास्यव्यंग्यको यात्रा 

२०५७ सालबाट हास्यव्यंग्यमा प्रवेश गरेका घिमिरेले हरिवंश–मदनकृष्णको शालिक नामको गाईजात्रामा पहिलो प्रस्तुति दिए । तर त्योभन्दा अघि दमौलीमा दिएको प्रस्तुतिले उनलाई काठमाडौँसम्म ल्याइपुर्याएको उनी बताउँछन् । जहिले सुकैको गाईजात्राको हास्यव्यंग्य कार्यक्रममा सबैको चोटिलो र सबैले मन पराएको नभए पनि गाईजात्रामा आफूले दिएको प्रस्तुति सबैले मन पराएको उनको भनाइछ । 

आफ्नो लहडको प्रस्तुति र लेखाइले यो स्थानसम्म आइपुग्छु भनेर नसोचेको बताउने उनी भन्छन्, “मसँग यस्तो खुबी छ सबैले मन पराउँछन् भन्ने त सोचेकै थिइन ।”  प्रस्तुति दिँदा आफ्नो शब्द वा प्रस्तुति केलाई मन पराइएको हो, त्यो आफूलाई थाहा नभए पनि सबैले मन पराएकोमा प्रसन्नता व्यक्त गर्छन् घिमिरे । 

टिभीबाट प्रसारित कार्यक्रमहरु हास्यव्यंग्य कार्यक्रमहरुमा समेत उत्तिकै प्रस्तुति दिएका घिमिरेले सन्तोष पन्तको हिजोआजको कुरादेखि भद्रगोल, मेरी बास्सै, सिस्नुपानी, सांग्रिला , झ्याइँकुटी, महसंसारलगायतका कार्यक्रममा आफ्नो प्रस्तुत दिएका छन् । केही समययता भने घिमिरे हास्यव्यंग्यलाई छोडेर सक्रिय रुपमा कविता लेखनमै लागिपरेका छन् । 

उमेर ७३ वर्ष काटिसक्दा पनि साहित्य क्षेत्रमा उत्तिकै रुचि राख्ने कवि तथा हास्यव्यंग्यकार घिमिरे पुनः एक पटक अमेरिका यात्रा गर्ने र स्वास्थ्यले साथ दिएसम्म साहित्य लेखनमा सक्रिय रहने बताउँछन् । 

साहित्यमा नवपुस्ताको अवस्था र सुझाव  

धेरैले भन्ने गर्छन्, नयाँ पुस्ता साहित्यमा अटाएका छैनन् तर घिमिरे भन्छन्, “साहित्यमा नव पुस्ताको कमी छैन ।” हरेक ठाउँका कार्यक्रममा नयाँ पुस्ताको बाक्लो उपस्थिति रहेको र कृतिहरु समेत ल्याएकोमा उनी आभार व्यक्त गर्छन् । उनका अनुसार अहिले निराशा हुनुपर्ने अवस्था छैन । जनसंख्याको आधारमा कम भन्ने गरिएको होला तर नयाँ पुस्ता सक्रिय छन् । त्यसो त छन्द कविता नबिके पनि धेरैले लेख्नथालेको उनको भनाइ छ । 

हरेक व्यक्तिअनुसार भिन्नाभिन्नै प्रतिभा हुने उनी बताउँछन् । त्यसैले जुन विधामा आफू अब्बल छ, त्यसैमा लेखन अगाडि बढाउन उनको सुझाव छ । सबैतिर हात हाल्दा व्यक्तित्वको चिनारी नै नहुनेतर्फ उनको सुझाव छ । 

पुरस्कार र सम्मान  

कवि तथा हास्यव्यंग्यकार डम्बर घिमिरेले धेरै पुरस्कार तथा सम्मान पत्र प्राप्त गरेका छन् । उनको घरको भित्ता सम्मानपत्रले भरिभराउ छ ।  जसले उनलाई लाग्छ आफुले देश र जनताको लागि केही गर्न सकेँ, यही ठूलो कुरा हो । यहाँसम्मको सफलता हात पार्नु आफैँमा ठूलो कुरा हो, यो सबै गर्न सकेकोमा कवि घिमिरे खुसी छन् तर आफूले पाएको चर्चासँगै उच्च कोटीको र चोटिलो प्रस्तुति दिन नसकेकोमा उनको आफैँप्रति गुनासो छ  । आफ्नो मातृवाणी महाकाव्यलाई संस्कृतिविद् सत्यमोहन जोशीले लोककाव्य, लोकसंस्कृति बोकेको महाकाव्य भन्नुपर्छ भनेर बताएको उनले जानकारी दिए । 

मातृवाणीमा दबाईमुलोको कुरा समेत समेटिएको हुनाले निकै उपयोगी छ भनेर जोशी आफैले भनेका हुनाले आफू यो पुस्तकबाट खुसी र सन्तुष्ट  भएको बताउँछन् उनी । साहित्यमा माथिल्लो श्रेणीबाट हेर्दा राष्ट्रकवि माधव घिमिरे,  सत्यमोहन जोशी र  युवा तथा उत्कृष्टमा गनिएका साहित्यकारहरुमा रामप्रसाद ज्ञवाली र देवी नेपालसम्मलाई सम्झिन सक्छन् घिमिरे ।  

७७ सालमा पुनः विवाह गर्ने सोच

२५ वर्षको उमेरमा विवाह बन्धनमा बाँधिएका कवि घिमिरेका श्रीमती, एक छोरा, दुई छोरी र नातिनातिना समेत भइसकेका छन् । तर ७७ सालमा पुनः विवाह गर्ने सोच भएको बताउँदै उनी भन्छन्, “७७ सालमा पुनः विवाह गर्ने सोचमा छु ।” आफ्नो वैवाहिक जीवन सफल भएको र विवाह बन्धनमा बाँधिएको ५० वर्षको सुखद उपलक्ष्यमा पुनः विवाह गर्ने सोच रहेको उनले बताए । यसबारे स्पष्ट पार्दै घिमिरेले भने, “म मेरो वैवाहिक जीवन सफल र सुखमय भयो भन्ने खुसियाली मनाउन लागेको हुँ ।” 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै