• २०८१ बैशाख ८ शनिबार

हुलाकी राजमार्गले ल्याएको सहजता

kharibot

धनगढी । केही वर्ष अघिसम्म आर्थिक क्रियाकलाप न्यून मात्रामा हुने बेली, फूलबारी, कनरी, हसुलियालगायतका क्षेत्रमा हुलाकी राजमार्ग निर्माणसँगै बढेको आर्थिक क्रियाकलापले स्थानीय बासिन्दाको जीवनस्तरमा परिवर्तन आउन थालेको छ ।

राजमार्ग निर्माणपछि सदरमुकाम धनगढीसम्मको आउजाउ छोटिँदा आवागमन सहज भएको छ भने आम्दानीका नयाँ बाटा पनि खुल्न थालेका छन् । धनगढीदेखि फूलबारी हुँदै हसुलियासम्मको पुरानो कच्ची सडकखण्डमा पर्ने नदी तथा खोलामा पुल र स्तरीय सडक नबन्दा वर्षायाममा सदरमुकाम धनगढी पुग्न भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता पनि हुलाकी राजमार्ग बनेपछि हटेको छ ।

हरेक दिन बिहानै दूध बेच्न धनगढी बजारमा पुग्नुहुने साविक फूलबारी गाविसका चोलप्रसाद तिवारी राजमार्ग निर्माणपछि आवागमन निकै सहज भएको बताउंछन् । उनले भने, “पहिले फूलबारीदेखि धनगढीको बाटो दिनभरीको थियो, अहिले २० मिनेटमा धनगढी पुगिदा ठूलै परिवर्तन भएको महसुस भएको छ ।

धनगढीदेखि फूलबारी बजारसम्मको १५ किलोमिटर सडकमा अटोरिक्सा चलाएर कमाइ गर्नेको संख्या पनि बढ्दो छ । बेली गाउँका मेला रानाले हुलाकी सडकसँगै जोडिएको जग्गा भाडामा लिई तरकारीखेती गरेर राम्रो कमाइ गर्न थालेका छन् । ‘‘पहिले बजारको अभावमा गाउँमा उत्पादन हुने तरकारीको उचित मूल्य पाउन सकेको थिएनौं’’ रानाले भने, “अहिले बाटो बनेपछि तरकारी धनगढी बजारसम्म पुर्याएर बेच्न पाउँदा उचित मूल्य पनि पाएका छौँ ।”

पूर्व—पश्चिम हुँदै निर्माण भएको हुलाकी राजमार्गले सदरमुकाम धनगढीसँगको दुरी छोट्याउँदा बढेको आर्थिक क्रियाकलापले कैलालीको दक्षिणी क्षेत्रका बासिन्दाको आम्दानीमा सकारात्मक प्रभाव परेको स्थानीय दलबहादुर रोकायाले बताए । हुलाकी सडकको निर्माणसँगै सडक आसपासको जग्गाको मूल्य पनि आकासिएको छ । पहिले रु दुई लाख पर्ने ऐलानी जग्गाको मूल्य सडक निर्माणपछि रु २० लाख पुगेको रोकायाले जानकारी दिए ।

हुलाकी राजमार्ग क्षेत्रमा नयाँ÷नयाँ बजार विस्तार हुने क्रम पनि बढ्दै जाँदा ती क्षेत्रमा उद्योग, कलकारखाना, होटेललगायतका नयाँ व्यवसायसमेत धमाधम खुल्न थालेका छन् । हुलाकी राजमार्ग निर्माणले आवागमन र व्यापारिक क्रियाकलाप गर्न सहज भए पनि राजमार्गको कालेपत्रे ठाउँठाउँमा उप्किन थालेको र चौडा कम भएको गुनासो भने स्थानीयवासीको छ ।

कैलाली जिल्लाको धनगढीदेखि भजनी हँुदै सत्तीसम्मको ६२ किलोमिटरको हुलाकी राजमार्गमध्ये ४४ किलोमिटरको खण्ड भारत सरकारको अनुदान सहयोगमा निर्माण गरिएको हो । लम्कीदेखि टीकापुर हुँदै खक्रौलासम्मको झण्डै २७ किलोमिटर सडकसमेत भारत सरकारकै सहयोगमा निर्माण पूरा भएको छ ।

धनगढीदेखि भजनी हुँदै सत्तीसम्मको वसन्ता जङ्गल क्षेत्रको खण्डमा भने हुलाकी राजमार्ग निर्माण कार्य रुख कटानीको अनुमति नपाएका कारण ढिलाइ भएको छ । वसन्त जङ्गलको करीब दुई किलोमिटर भागको हुलाकी राजमार्ग खण्डमा पर्ने रुख काट्न स्वीकृति पाउनमा भएको ढिलाइले निर्माण कार्य हुन नसकेको हुलाकी राजमार्ग आयोजना धनगढीका प्रमुख मनिषकुमार साहले बताए ।

कञ्चनपुर जिल्लामा डोके बजारदेखि बेलौरी बेलडाँडी हुँदै दैजीसम्मको हुलाकी राजमार्गको निर्माणकार्य तीन खण्डमा हुन लागेको छ । बेलडाँडीको आरक्ष क्षेत्रमा पर्ने राजमार्ग खण्डका रुख काट्न स्वीकृति नहुँदा निर्माण कार्यमा समस्या उत्पन्न भएको जनाइएको छ ।

कञ्चनपुरको डोके बजारदेखि हुलाकी राजमार्गको अन्तिम विन्दु दैजीसम्म ६२ किमी लामो हुलाकी राजमार्ग निर्माण गर्ने लक्ष्य छ । निर्माण हुन बाँकी हुलाकी सडक निर्माणको काम नेपाल सरकार आफैँले गर्न लागेको आयोजनाको धनगढीस्थित कार्यालयले जनाएको छ ।

डुबानबाट जोगिने ‘सेल्टर‘ बन्यो हुलाकी राजमार्ग

कैलाली जिल्लाको दक्षिणतर्फ रहेको होचो भू–भागमा पूर्व—पश्चिम हुँदै निर्माण गरिएको हुलाकी राजमार्गको अग्लो भाग वर्षायाममा हुने डुबानबाट जोगिने सेल्टर सुरक्षित स्थल बनेको छ ।

गतवर्ष भएको डुबानका कारण विस्थापित हुन पुगेका सयौं घरपरिवार यसै राजमार्गमा पाल टाँगेर हप्तौंसम्म बास बसेका थिए । यसवर्षको असारमा पनि डुबानमा परेका भजनी क्षेत्रका २०० परिवारलाई डुबानको जोखिमबाट सुरक्षित मानिएको राजमार्गमै राखिएको थियो ।

डुबानका कारण भजनी, लालबोझी, जानकीनगर, नारायणपुर क्षेत्रका प्रभावित बासिन्दा डुबानको समयमा राजमार्ग बास बस्ने गर्छन् । डुबानबाट प्रभावित हुनेलाई सुरक्षित स्थानको रुपमा हुलाकी राजमार्गमा राखिने गरिएको भजनी प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले बताए । हुलाकी राजमार्ग निर्माण गर्दा राजमार्गको उत्तरतर्फको भू–भागमा हुने गरेको डुबानको सहज निकासको व्यवस्था नगरिँदा भने कतिपय क्षेत्रका गाउँ डुबानमा पर्ने समस्या देखिएको छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै