• २०८३ जेठ २७ बुधबार

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुदैछ सहज ?

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुदैछ सहज ?

काठमाडौं । विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप सुरु हुन अब केवल तीन दिन बाँकी छ । यसपटकको विश्वकप विगत ९६ वर्षको इतिहासमा सबैभन्दा विशेष र प्रविधिमैत्री संस्करणका रूपमा आयोजना हुँदैछ ।

३९ दिनसम्म चल्ने प्रतियोगिता पहिलो पटक तीन देश अमेरिका, मेक्सिको र क्यानडाको संयुक्त आयोजनामा हुँदैछ । यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

सुरक्षाका लागि रोबोट कुकुर

विश्वकपका खेलस्थलहरूको सुरक्षालाई थप सुदृढ बनाउन मेक्सिको प्रहरीले विशेष रोबोट कुकुर प्रयोग गर्ने भएको छ । ग्वाडालुपे नगर परिषद्ले करिब एक लाख ४५ हजार अमेरिकी डलर खर्चेर खरिद गरेका यी रोबोट कुकुरले स्टेडियममा कुनै दंगा, झडप वा सुरक्षा चुनौती उत्पन्न भएमा घटनास्थल पुगेर सुरक्षाकर्मीलाई प्रत्यक्ष दृश्य पठाउनेछन् । यसबाट सुरक्षाकर्मीले परिस्थितिको तत्काल मूल्याङ्कन गरी आवश्यक कदम चाल्न सक्नेछन् ।

प्रत्येक क्षणको जानकारी दिने स्मार्ट बल

यसपटकको विश्वकपमा प्रयोग हुने आधिकारिक खेल बलको नाम ‘ट्रायोन्डा’ राखिएको छ । बलभित्र विशेष ‘इनर्सियल मेजरमेन्ट युनिट’ सेन्सर जडान गरिएको छ । यो सेन्सरले प्रति सेकेन्ड ५०० पटक खेलसम्बन्धी तथ्याङ्क भिडियो सहायक रेफ्री प्रणालीमा पठाउनेछ । यसले बलको त्रि–आयामिक गतिविधि र गति रेकर्ड गर्ने भएकाले अफसाइड, ह्यान्डबल तथा अन्य विवादास्पद निर्णयहरूमा बढी शुद्धता आउने विश्वास गरिएको छ ।

उन्नत अफसाइड प्रविधि

यस विश्वकपमा अफसाइड निर्णयका लागि परम्परागत लाइनम्यानको भूमिका निकै सीमित हुनेछ । यसको स्थान उन्नत अर्ध–स्वचालित अफसाइड प्रविधिले लिनेछ । नयाँ प्रणालीले १० सेन्टिमिटरसम्मको सटीकतासहित अफसाइड पहिचान गर्न सक्नेछ । निर्णय भएपछि भिडियो सहायक रेफ्रीमार्फत लामो प्रक्रिया अपनाउनु नपरी रेफ्रीको कानमा रहेको उपकरणमा तत्काल ध्वनि सङ्केत पठाइनेछ । यसले खेलको गति कायम राख्न र निर्णय प्रक्रिया छिटो बनाउन सहयोग गर्नेछ ।

कृत्रिम बुद्धिमत्तायुक्त त्रि–आयामिक खेलाडी प्रतिरूप

फिफाले कृत्रिम बुद्धिमत्तामा आधारित त्रि–आयामिक खेलाडी प्रतिरूप प्रणाली पनि सुरु गरेको छ । यस प्रविधिले प्रत्येक खेलाडीको शरीरको डिजिटल स्क्यान गरी त्रि–आयामिक नमुना तयार पार्नेछ । त्यसको सहायता लिएर खेलाडीको वास्तविक स्थिति, अफसाइड अवस्था तथा विपक्षीलाई अवरोध पुर्‍याएको अवस्थालाई अझ सटीक रूपमा विश्लेषण गर्न सकिनेछ ।

रेफ्रीको शरीरमा क्यामेरा

विश्वकपका सबै १०४ खेलमा रेफ्रीहरूले शरीरमा जडान गरिने विशेष क्यामेरा प्रयोग गर्नेछन् । विश्वका केही प्रमुख फुटबल प्रतियोगितामा परीक्षण भइसकेको यो प्रविधिले दर्शकलाई रेफ्रीकै दृष्टिकोणबाट खेल हेर्ने अवसर दिनेछ । यसबाट मैदानभित्रको वास्तविक अनुभव झन् नजिकबाट महसुस गर्न सकिने आयोजकहरूको विश्वास छ ।

विश्वकप २०२६ मा प्रयोग गरिने यी अत्याधुनिक प्रविधिहरूले खेललाई अझ निष्पक्ष, सुरक्षित र दर्शकमैत्री बनाउने अपेक्षा गरिएको छ । प्रतियोगिताको विस्तारसँगै प्रविधिको बढ्दो प्रयोगले विश्व फुटबललाई नयाँ युगतर्फ लैजाने विश्वास गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै