• २०८१ बैशाख १४ शुक्रबार

महोत्तरीका किसानले उखुको भुक्तानी पाएनन्

kharibot

महोत्तरी । महोत्तरीका किसानले बिक्री गरेको उखुको भुक्तानी पाएका छैनन् ।

गौशाला नगरपालिका–१ रामनगरस्थित एभरेष्ट सुगर मिलले उखुको भुक्तानी दिन आलटाल गर्दा किसान मर्कामा परेका हुन् । उचित मूल्य निर्धारण र भुक्तानीको माग गर्दै यसअघि किसान एक महिना अनशन बसेका थिए । अनशन बसेका किसानलाई उद्योगमन्त्री मातृकाप्रसाद यादवले एक साताभित्रै भुक्तानी दिन सहमति गराएका थिए । किसानले अहिलेसम्म भुक्तानी पाउन सकेका छैनन् ।

सो मिलले किसानलाई गतवर्षको झण्डै रु एक अर्ब भुक्तानी गर्न बाँकी छ । मिलले किसानसँग उखु खरीदबापतको रु एक अर्ब चार करोडमात्र भुक्तानी गरेको छ । भुक्तानी गर्न मिलले आनाकानी गर्दै आएको छ । भुक्तानी पाउने निश्चित नभएको उखु उत्पादक कृषक सङ्घका जिल्ला अध्यक्ष नरेशसिंह कुशवाहाले बताए । “किसान ऋणमा डुबेका छन्,” उनले भने ।

उद्योगले गत वर्ष महोत्तरी, सर्लाही, धनुषा, सिरहा, रौतहट, सप्तरी, बारा र पर्साका किसानले उत्पादन गरेको ४२ लाख ५९ हजार ७७४ क्विन्टल उखु खरीद गरेको थियो । विसं २०५३ मा स्थापना भएको उक्त मिलले आफ्नै ढङ्गले मूल्य निर्धारण र भुक्तानी गर्दैआएको छ । गत वर्ष मिलले प्रतिक्विन्टल ५३१ रुपैयाँ २० पैसामा उखु खरीद गरेको थियो ।

उत्पादन गरेको चिनी बिक्री नभएका कारण उखुको भुक्तानी गर्न नसकेको मिलका महाप्रबन्धक युगलकिशोर चौरसियाले बताए । “हाम्रो उत्पादनले बजार पाउन सकेको छैन, भारतीय चिनीका कारण समस्यामा छौँ,” उनले भने, “हाम्रो उत्पादन भण्डारगृहमा थन्किएको छ ।” प्रदेश नं २ को प्रमुख नगदेबाली मानिएको उखुखेतीमा करीब ९० हजार किसान संलग्न छन् । सरकारले प्रतिक्विन्टल उखुको ५३६ रुपैयाँ ४५ पैसा मूल्य निर्धारण गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै