• २०८१ बैशाख ११ मंगलबार

हस्तकला व्यापार मेला आगामी कत्तिकमा हुदै, हस्तकला प्रतियोगिता पनि हुने

kharibot

काठमाडौँ। हस्तकला सामग्रीको बजार विकास, विस्तार तथा निर्यात प्रवद्र्धन गर्ने उद्देश्यले काठमाडौंमा १६ औ हस्तकला व्यापार मेला तथा १४औँ हस्तकला प्रतियोगिता हुने भएको छ ।

मेलाका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आगामी कात्तिक २९ देखि मङ्सिर २ गतेसम्म भृकुटीमण्डमा उक्त मेला सञ्चालन हुने जानकारी दिएको छ । 

सो अवसरमा नेपाल हस्तकला महासङ्घका अध्यक्ष धर्मराज शाक्यले मेलाले अन्तर्राष्ट्रिय बजारमा पहुँच पुग्न नसक्ने लघु एवं साना हस्तकला उद्यमी व्यवसायीले देशभित्रका निर्यातकर्ता तथा विदेशी आयातकर्तासँग व्यावसायिक सम्बन्ध स्थापित गर्न अवसर प्रदान गर्ने बताए । 

उनले हस्तकलाका क्षेत्रमा रहेको एक अर्को देशको सीप, कला र प्रविधिबारे जानकारी आदानप्रदान गर्न मेला महत्वपूर्ण भएको बताए । 

अमेरिका, जर्मनी, फ्रान्स, बेलायत, नेदरल्याण्डका साथै एशियाली मलुक जापान, चीन, भारतलगायत झण्डै ८० मुलुकका करीब रु १० अर्ब मूल्य बराबरको हस्तकला सामग्री निर्यात हुँदै आएको अध्यक्ष शाक्यले बताए । 

यस्तै आन्तरिक बजारमा पनि सोही परिणामको कारोबार रहेको उनले जानकारी दिए । 

महासंघका वरिष्ठ उपाध्यक्ष किरणकुमार डङ्गोलले सरकारी निकायमा हस्तकला सामग्री १० प्रतिशत मूल्यबढी तिरेर खरिद गर्न सकिने नीति भए पनि सार्वजनिक खरिद ऐनका कारण सो सामग्री बिक्रीमा समस्या देखिएको बताए । हस्तकला व्यापार, व्यवसाय प्रवद्र्धन गर्न सरकारी सहयोग पर्याप्त नभएको उनले गुनासो गरे । हस्तकलाका क्षेत्रमा करीब ११ लाख व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा संलग्न रहेको महासङ्घले जनाएको छ । 

त्यस्तै मेलाका क्रममा लोपोन्मुख कलाकृतिको जगर्ना र मौलिक कलाको संरक्षण गर्न नयाँ पुस्ताका कलाकार÷कालीगढलाई आफ्नो पेशाप्रति आकर्षित गरी कला पुस्तान्तरण तथा मौलिक कलालाई विकसित प्रविधिको प्रयोग गरी अझ समुन्नत बनाउन हस्तकला प्रतियोगितासमेत हुने महासङ्घले जनाएको छ । मेलामा परम्परागत विधातर्फ ‘मैनको मूर्ति’ र समसामायिक विधातर्फ ‘ढाका बुनाई’ प्रतियोगिता गरिने महासङ्घका उपाध्यक्ष प्रचण्ड शाक्यले जानकारी दिए।  

प्रतियोगितामा प्रथम हुनेलाई रु ५० हजार, द्वितीयलाई रु ३० हजार र तृतीयलाई रु २० हजारसहित प्रमाणपत्र प्रदान गरिने पनि उनले जानकारी दिए । 

नेपालको निर्यात व्यापारका साथै आन्तरिक बजारमा पनि हस्तकला क्षेत्रको महत्वपूर्ण स्थान रहेको छ । मेलामा करीब २५ जिल्लाका स्थानीय हस्तकलाको प्रदर्शनी तथा बिक्रीका साथै हस्तकलाका वस्तुगत प्याभिलिएनसहित २०० बिक्री तथा प्रदर्शनी कक्ष रहने छन् । 

मेलामा उत्कृष्ट हुने एक प्याभिलिएन र एक प्रदर्शनी कक्षलाई पुरस्कृत गरिने महासङ्घले जनाएको छ । पाँच दिनसम्म चल्ने उक्त मेलामा करीब एक लाखले अवलोकन गर्ने अनुमान गरिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै