• २०८१ बैशाख ४ मंगलबार

सत्र किलोमा सडक भासिने क्रम जारी

kharibot

फाइल तस्विर । 

चितवन / नारायणगढ–मुग्लिन सडकखण्डको १७ किलोमा सडक भासिने क्रम जारी रहेको छ । एक महिनादेखि विस्तारै भासिन शुरु गरेकामा हालसम्म आइपुग्दा १ दशमलब ५ मिटर सडक भासिएको छ । 

नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार सो ठाउँमा नौ मिटर सडक चौडा छ । जसमध्ये पाँच मिटर भाग भासिएको छ । चार मिटरबाट एकतर्फीरुपमा सवारी चलेका छन् । चालीस मिटर लामो भागमा सडक भासिएको हो । 

सो ठाउँमा विसं २०६० मा सडक भासिएपछि ‘रक स्वायल एङ्करिङ’ गरिएको थियो । सडक छेउबाट त्रिशूली नदी बगेको छ । विज्ञले भासिएको ठाउँको निरीक्षण गरी वर्षात्को समयमा नचलाउन सुझाव दिएका छन् । उनीहरुले वर्षात्मा चलाउँदा बाटो पूरै बन्द हुनसक्ने भन्दै हिउँद लागेपछि के गर्ने टुङ्गोमा पुग्नुपर्ने बताएका छन् । खनालका अनुसार सडक बढी भासिएमा तत्काल भित्तो काट्ने विकल्प राखिएको छ । दैनिक सडक भासिने क्रम बढ्दै गएको खनालले जानकारी दिए । 

डिभिजन सडक कार्यालय भरतपुरका तत्कालीन इञ्जिनियर प्रकाश उपाध्यायले सोही क्षेत्रमा त्यतिबेला सडक भासिएर ‘रक स्वायल एङ्करिङ’ गरिएको बताए । भित्तोमा घुसाएर १०–१५ मिटर फलामे डण्डी घुसाएर रडसँगै सिमेन्ट जमाउने र बाहिरी भाग पनि ढलान गरी बलियो बनाउने कामलाई ‘रक स्वायल एङ्करिङ’ भनिन्छ । सोही ठाउँको ‘रक एङ्करिङ’ले काम गर्न छोडेर वा नदीले खोलेर धसिएको हुनसक्ने अनुमान गरिएको छ । 

हाल सो सडक विस्तारको अन्तिम चरणमा पुगेको छ । सडक भासिएको ठाउँ नारायणगढबाट १७ किलोमिटर मुग्लिनतर्फ पर्दछ । सोही सडक हुँदै दैनिक करिब १० हजार सवारीसाधन आवातजावत गर्दछन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै