काठमाडौँ। प्रतिनिधिसभा मातहतका विषयगत समितिको सभापतिको निर्वाचन १२ दिन पर धकेलिएको छ। प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले यही भदौ ५ गतेका लागि तोकिएको निर्वाचन मिति विशेष कारण भदौ १७ गते आइतबारका लागि सारिएको जानकारी दिए ।
बैठकमा उहाले निर्वाचनको मिति संशोधनसम्बन्धी सूचना प्रकाशित गर्न सचिवालयलाई निर्देशनसमेत दिइएको जानकारी गराए । प्रतिनिधिसभा मातहत १० विषयगत समिति छन् । यसअघि अर्थमन्त्री डा युवराज खतिवडाले भुक्तानी तथा फछ्र्याैट विधेयक २०७५ सदनसमक्ष पेश गरे ।
अर्थमन्त्री डा खतिवडाले भुक्तानीलाई सरल, सहज, सुरक्षित र छिटोछरितो बनाउन विधेयक ल्याइएको जानकारी दिनुभयो । प्रतिनिधिसभाको अर्काे बैठक यही भदौ ४ गते सोमबार दिनको १ बजे बस्नेछ ।
प्रतिनिधिसभाअन्तर्गत अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानून, न्याय तथा मानवअधिकार, कृषि, सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक, राज्य व्यवस्था तथा सुशासन, विकास तथा प्रविधि, शिक्षा तथा स्वास्थ्य र सार्वजानिक लेखा समिति सहित १० समिति रहेका छन् ।