• २०८१ बैशाख १२ बुधबार

मिर्गौलालाई विभिन्न रोग र पत्थरीबाट बचाउन के गर्ने ?

kharibot

मिर्गौलालाई स्वस्थ राख्न प्रशस्त पानी पिउनुपर्छ । 
चिनी र नुन धेरै खानु ठीक होइन । 
खानामा क्याल्सियम र प्रोटिनयुक्त तत्त्व अनिवार्य हुनुपर्छ । 

अहिले मिर्गौलाको समस्या विश्वव्यापी रूपमा फैलिरहेको छ । मिर्गौलाको पत्थरी, क्यान्सर आदि रोगले मानिसलाई निकै आक्रान्त पारिरहेको छ । यदि स्वस्थ जीवनशैली र स्वस्थ आहारविहार अपनाउने हो भने यसबाट सजिलै बच्न सकिन्छ । हाम्रो शरीरलाई स्वस्थ र सक्रिय बनाउन मिर्गौलाले फिल्टरले जसरी रगतलाई सफा बनाउने काम गर्छ । 

पाचन क्रियाको समयमा खानाबाट निस्किने सबै सूक्ष्म विषालु तत्त्व मिर्गौलामा जम्मा भएर पिसाबसँगै शरीरबाट बाहिर निस्किन्छ । मिर्गौलाले रातो रक्त कोशिकाको निर्माण र रगत सफा गर्ने काम गर्छ । मिर्गौलाले हड्डीलाई बलियो बनाउने भिटामिन डीको पनि उत्पादन गर्छ । अहिले कसैलाई पनि आफ्नो स्वास्थ्यप्रति ध्यान दिने फुर्सद छैन । त्यसैले धेरै प्रकारका रोगले मानिसलाई दुःख दिइरहेका छन् । मिर्गौलाका रोगीको संख्या पनि दिनहुँ बढिरहेको छ । मिर्गौला खराब हुने, फेल हुने, पत्थरी हुने जस्तो समस्याबाट मानिसहरू ग्रस्त छन् । यस्ता रोगले मानिसलाई मृत्युको मुखमा पनि पु¥याउन सक्छन् । त्यसैले मिर्गौलालाई स्वस्थ राख्नु अत्यन्त आवश्यक छ । 

यदि मिर्गौलालाई स्वस्थ राख्न प्रशस्त मात्रामा पानी पिउनुपर्छ । हरेक स्वस्थ मानिसले दिनमा ४–५ लिटर पानी पिउनु आवश्यक छ । पानीले शरीरमा भएका धेरै विषालु पदार्थलाई पिसाबको माध्यमले शरीरबाट सजिलै बाहिर निकालिदिन्छ । यसले पाचन प्रक्रियालाई पनि ठीक राख्छ । यसले कब्जियतको समस्या हुँदैन । यसले शरीरमा रक्तप्रवाहलाई ठीक राखेर रगतलाई बाक्लो हुन दिँदैन । प्रशस्त पानी पिउनाले रक्तचाप पनि सन्तुलित रहन्छ । 

दैनिक भोजनमा चिनी र नुनको प्रयोग धेरै गर्नु मिर्गौलाको लागि हानिकारक हुन सक्छ । यी दुई चिजका कारण मिर्गौलाको काम गर्ने गति कम हुन्छ । त्यसैले चकलेट, मिठाई, अचार, चटपटे, पानीपुरी, चाउचाउ आदि खान कम गर्नु अत्यन्त जरुरी छ । हाल स्कुल जाने अधिकांश बालबालिकाले चकलेट, चाउचाउ बिस्कुट आदि बढी मन पराउँछन् ।

अभिभावकले पनि सजिलो खाजाका रूपमा होस् या बच्चा भुलाउने बहानामा होस्, बालबालिकालाई यस्तै खानेकुरा बढी दिन्छन् । त्यसैले नेपालका धेरै बालबालिकालाई मिर्गौलाको समस्या देखिरहेको छ । यसको सट्टा घरमा तयार हुने ताजा खाजा, दाल, गेडागुडी आदि प्रोटिनयुक्त आहारले मिर्गौलालाई स्वस्थ राख्न मद्दत गर्छ । तर, प्रोटिनयुक्त खाना बढी भएमा युरिक एसिड हुन सक्ने भएकाले त्यसमा पनि ध्यान दिनु जरुरी छ । त्यस्तै, हड्डीलाई बलियो बनाउन दुग्धजन्य पदार्थको सेवन गर्नु आवश्यक छ, तर त्यसको पनि धेरै प्रयोग गरेमा पत्थरीको समस्या हुन सक्छ । अतः खानपिनमा सन्तुलन कायम राख्नुपर्छ ।  

विभिन्न सागसब्जी र फलफूलको नियमित आहार गर्नुपर्छ । त्यसै गरी, लागूपदार्थबाट पनि टाढा रहनु आवश्यक छ । यसले फोक्सो र मिर्गौला दुवैलाई उत्तिकै असर गर्छ । यदि हामीले नियमित रूपमा स्वस्थ आहार गर्ने हो भने मिर्गौलासँग सम्बन्धित रोगले हामीलाई कहिल्यै पनि सताउँदैन । 

मिर्गौला ठीक छ कि छैन भनी जान्न यी कुरामा ध्यान दिनु आवश्यक छ : 

यदि कसैले कुनै औषधिको सेवन गरिरहेको छैन भने सामान्यतया उसको पिसाब रङ्गहीन हुन्छ । 
दैनिक करीब चार लिटर पानी पिउने मान्छेलाई करीब तीन घण्टाको अन्तरालमा पिसाब लाग्नुपर्छ । 
थोरैथोरै गरी रोक्किंदै पिसाब आउनु, बारम्बार ट्वाइलेट जान पर्नु, पिसाब फेर्दा दुख्नु या पोल्नु र खुट्टामा सुजन जस्तो लक्षण देखिएमा ढिला नगरी डाक्टरको सल्लाह लिन जानुपर्छ । यो मिर्गौला खराब भएको लक्षण हुन सक्छ । 
यदि कसैलाई सुगर या उच्च रक्तचाप छ भने उसले नुन र चिनी सीमित मात्रामा लिँदै वर्षको एकपटक मिर्गौला फङसनको परीक्षण गर्नु आवश्यक छ ।    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै