समाजले आधुनिकतालाई स्वीकार गरेसंगै मानिसको जीवनशैलीमा निकै परिवर्तन आएको छ । हामी विशेषतः कामको सिलसिलामा धेरै व्यस्त रहन्छौं र आफूलाई त्यति ध्यान दिँदैनौं । आफ्नो दैनिकीलाई अस्तव्यस्त बनाएकाले हामी धेरै प्रकारका रोगको शिकार बनिरहेका छौं । माइग्रेन अहिले ठूलो समस्याको रूपमा देखिएको छ ।
माइग्रेन समय–समयमा दोहोरिरहने एक प्रकारको टाउको दुख्ने रोग हो । माइग्रेनले प्राय: टाउकोको एक भागमा पीडा दिन्छ । यसको पीडा दुईदेखि बहत्तर घण्टासम्म रहन सक्छ । माइग्रेन जसलाई पनि हुन सक्छ, तर पुरुषको तुलनामा महिलामा यसको समस्या बढी देखिएको छ ।
यसका प्रमुख कारण र समाधानको उपाय
धेरै तनाव लिनु
अहिले मानिसहरू आफूलाई भन्दा बढी आफ्नो कामलाई बढी महत्त्व दिने गर्दछन् । त्यसैले सानोभन्दा सानो समस्याले मानिसमा तनावको सिर्जना गरिरहेको हामी पाउँछौं । घरायसी बेमेल, कार्यालय प्रमुखको गाली आदिका कारण हामीले बढी तनाव लिइरहेका हुन्छौं । यसले माइग्रेनको समस्या देखिन सक्छ । त्यसैले यसबाट बच्न घरपरिवारलाई समय दिने, कार्यालयमा मेलमिलापको वातावरण बनाउने, बिदाको समयमा कतै घुम्न जाने आदि गर्नाले तनाव कम हुन्छ र यो माइग्रेनको समस्या घटाउन उपयोगी हुन सक्छ ।
अपुरो निद्रा
अहिले मानिसहरू बढी मोबाइल, ल्यापटप, कम्प्युटर र टिभीमा झुम्मिरहेका भेटिन्छन् । सुत्ने समयमा आफ्नो निद्रालाई मारेर मोबाइल, ल्यापटप चलाउने बानीले माइग्रेनको समस्या बढिरहेको छ । अतः यसको लागि सुत्ने निश्चित समय तोकेर उक्त समयमा मोबाइल, ल्यापटप आदिबाट टाढा रहनु राम्रो हुन्छ ।
प्रदूषण र घाम
अहिले नेपालभर प्रदूषणको मात्रा अत्यधिक बढेको छ । कतिपय मानिसहरू दिनभर धुवाँधूलो र फोहोर भएको स्थानमा काम गर्न बाध्य छन् । यसले मानिसहरूमा माइग्रेनको सम्भावना बढाएको छ । त्यस्तै, घाममा हिँड्दा पनि माइग्रेन हुन सक्छ । त्यसैले यसबाट बच्न मास्क र छाता सधैं आफूसँग राख्ने गरौं । प्रदूषणबाट बचौं र घाममा धेरै समय नबसौं ।
ठूलो आवाजमा गीतसङ्गीत सुन्नु
अचेल हरेकले कानमा इयरफोन लगाइरहेको देखिन्छ । अझ लाउड भोइसमा गीत सुन्नुको मजा नै बेग्लै छ । यसो भन्दैमा आफ्नो स्वास्थ्यको वास्ता नगरी मजा लिने सुरमा कतै गल्ती त गर्दै हुनुहुन्न ? नियमित स्पीकर अथवा हेडफोनमा लाउड भोइसमा गीतसङ्गीत सुन्ने बानीले पनि माइग्रेन हुन सक्छ । अतः गीतसङ्गीत सुन्दा सानो आवाजमा सुन्ने गरौं । त्यस्तै, बीचबीचमा कान र मस्तिष्कलाई आराम दिनु पनि अत्यन्त जरुरी छ ।
बडी स्प्रे
मानिसहरू आफूलाई आकर्षणको केन्द्रविन्दुमा राख्न विभिन्न केमिकलयुक्त बडी स्प्रे, सेन्ट आदि सौन्दर्य प्रसाधन सामग्रीको प्रयोग गर्ने गर्छन् । अझ कतिपय व्यक्ति एउटा बडी स्प्रे एकैदिनमा सक्ने पनि गर्छन् । यसले टाउकोमा असर गरिरहेको हुन सक्छ । अतः यस्ता वस्तुको प्रयोग गर्दा सावधान हुनु जरुरी छ । माइग्रेनबाट बच्न यस्ता वस्तुको प्रयोग सीमित मात्रामा गर्नु आवश्यक छ ।
हार्मोनिकल डिसअर्डर
मानिसको शरीरमा हार्मोनसम्बन्धी परिवर्तन देखिँदा पनि माइग्रेन हुने सम्भावना रहन्छ । विशेषतः किशोरावस्था अथवा बढ्दो उमेरका मानिसलाई हार्मोनिकल डिसअर्डरले पनि माइग्रेनको समस्या निम्त्याउने गरेको देखिन्छ ।
लागूपदार्थ
लागूपदार्थको अत्यधिक सेवनले माइग्रेनको समस्या बढाउने भएकाले लागूपदार्थबाट टाढा रहनु स्वास्थ्यका लागि धेरै फाइदाकारी हुन्छ ।
मौसम परिवर्तन
मौसम परिवर्तन हुने समयमा प्रायः धेरैलाई रुघा, खोकी र ज्वरोजस्ता समस्याले सताउने गरेको छ । मौसम परिवर्तन हुने समयमा अचानक तापक्रम बढ्ने अथवा घट्ने भएकाले यसले पनि माइग्रेनको समस्या निम्त्याउन सक्छ । त्यसैले यस्तो समयमा शरीरलाई विशेष ध्यान दिनु आवश्यक छ ।
क्याफिन
क्याफिनको मात्रा धेरै भएमा पनि माइग्रेनको समस्या हुन सक्छ । दिनहुँ दुई कपभन्दा बढी चिया अथवा कफी खाने व्यक्तिलाई माइग्रेन हुन सक्छ । त्यसैले माइग्रेनबाट बच्न चिया र कफी कम पिउने गरौं ।
अत्यधिक सुत्नु
धेरै सुत्नाले पनि माइग्रेनको समस्या हुन सक्छ । दिनमा ९ घण्टाभन्दा बढी सुत्नाले यो समस्या हुन सक्छ । आजभोलि मानिसहरू बिदामा दिनभर सुतेर बिताउँछन् । यसले हाम्रो दैनिकी बिग्रन्छ र शरीरमा थकानको अनुभव हुनुका साथै टाउको भारी भएको महसुस हुन्छ । त्यसैले सुत्ने समयमा नियमितता अपनाऔं ।
खाली पेट बस्नु
घण्टौंसम्म खाली पेट बस्दा ग्यासको समस्या हुन सक्छ र टाउको पनि दुख्न सक्छ । अचेल मानिसहरू यति व्यस्त हुन्छन् कि उनीहरूलाई खाने बस्ने फुर्सद हुँदैन । मानिसहरू व्यस्तताका कारण दिनभरिमा एक पटकमात्र भरपेट खाएर दिनभरि भोकै बस्छन् ।
माइग्रेनको समस्याबाट टाढा रहन दिनमा कम्तीमा चारपटक खाजा अथवा खाना खानु जरुरी छ । दिनको सुरुवात पानी र एउटा फल खाएर गर्नाले स्वास्थ्य निकै राम्रो हुन्छ र यसले माइग्रेनको समस्याबाट हामीलाई टाढा राख्छ ।