• २०८१ बैशाख ७ शुक्रबार

 सबैलाई खुसी बनाउने प्रयासमा एक देश 

kharibot

सोल । दक्षिण कोरिया विश्वका सम्पन्न देशहरूमध्ये एक हो । छिमेकी राष्ट्र उत्तर कोरियाको तुलनामा यहाँका मानिसको आम्दानी धेरै राम्रो छ ।

यहाँ मानिसहरूको कमाइ राम्रो छ, उनीहरू राम्रो लगाउँछन्, राम्रो खान्छन् । तथापि, यो देश खुसीको विषयमा भने निकै पछाडि छ । तर, छेजु टापुको व्यस्त समुद्री किनारलाई अवलोकन गर्दा कोरिया खुसीको मामिलामा पछाडि परेको कल्पना पनि हुँदैन । यहाँ प्रायः खुला कन्सर्ट चलिरहेको हुन्छ र मीठो धुन बजिरहेको हुन्छ । 

गर्मीको बिदामा दक्षिण कोरियाको एक टायर कम्पनीका क्वालिटी म्यानेजर साङ दाए चा आफ्नो परिवारसँग यहाँ माछा मार्न आएका छन् र उनका बच्चाहरू नजिकै खेलिरहेका छन् । चा र उनको परिवारलाई दक्षिण कोरिया सरकारले आफ्नो वेराबेल प्रोग्रामका लागि उनलाई एक मोडेलको रूपमा हेरिरहेको थाहा छैन । वेराबेलको अर्थ काम र जीवनमा सन्तुलन भन्ने हुन्छ ।

दक्षिण कोरियामा कामको घण्टा संसारमा सबैभन्दा धेरै छ । ओईसीडीको रिपोर्टका अनुसार कोरियाका २० प्रतिशत नागरिक हप्तामा ५० घण्टाभन्दा बढी काम गर्छन् । औसत मानिसले आधामात्र बिदा लिन्छन् । काम गर्दा उत्पन्न हुने तनावले यहाँ ठूलो संख्यामा आत्महत्या हुने गरेको छ र यहाँको जन्मदर पनि निकै कम छ । त्यसैले सरकारले नागरिकलाई खुसी राख्न विशेष योजना बनाउँदै छ । दक्षिण कोरियाले सुरु गर्ने कार्यक्रम फिल गुड जस्तो सांस्कृतिक परिवर्तनलाई कानूनी मान्यता दिने कार्यक्रम भने होइन । 

संयुक्त राष्ट्र र ओईसीडी दुवै सङ्गठनले विश्वभरका हरेक देशको खुसीसम्बन्धी रिपोर्ट बनाउने गर्छन् । कुनै पनि देशको खुसी मापन गर्न सामाजिक र आर्थिक अवस्था, प्रतिव्यक्ति आय, घरायसी उपभोग, जीवनप्रति, शिक्षा र भ्रष्टाचारलाई हेरिन्छ । यसमा सब्जेक्टिभ वेल बिइङ (एसडब्ल्यूबी)लाई पनि जोडिएको छ । यसको अर्थ मानिसले आफूलाई कति खुसी सम्झिन्छन् भन्ने हो । सम्पन्न हुनुको अर्थ खुसी हुनु होइन । दक्षिण कोरियाली नागरिकसँग बीएमडब्ल्यू कारदेखि रिमोट कन्ट्रोलवाला ट्वाइलेटसम्म छ । तथापि, ओईसीडीको प्रतिवेदनअनुसार दक्षिण कोरियाको सन्तुष्टिको स्तर औसतभन्दा धेरै तल छ । 

दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनले देशको अवस्थालाई परिवर्तन गर्न केही योजना ल्याएका छन् । उनले भनेका छन्, ‘दक्षिण कोरियाको प्रतिव्यक्ति आय यो वर्ष ३० हजार डलर पुग्छ, तर यो त्यति महत्त्वपूर्ण छैन । महत्त्वपूर्ण त मानिसहरूले राम्रो जीवन बाँच्न सकून् भन्ने हो ।’

हाल त्यहाँको सरकारले नागरिकहरूलाई कामबाट छुटकारा दिएर उनीहरूको शारीरिक र मानिसक अवस्था स्वस्थ राख्न विभिन्न उपाय अपनाउँदै छ । हप्तामा काम गर्ने अधिकतम समय ६८ घण्टाबाट घटाएर ५२ घण्टा पु¥याइएको छ । जसले यो नियमको उल्लङ्घन गर्छ, त्यसलाई २ वर्ष जेल सजायको प्रावधान छ । सरकारले न्यूनतम ज्याला, सुत्केरी बिदा र पेन्सन पनि बढाएको छ । पहिलादेखि चलिरहेको ह्याप्पिनेस फण्डलाई पनि कोरियाले जारी राखेको छ । यसले मानिसलाई ऋण चुक्ता गर्न सहयोग गर्छ । 

नागरिकको जीवनस्तर सुध्रिएमा धेरै फाइदा छ । कम आयस्तर भएका मानिसहरूसँग पनि पैसा हुन्छ र उनीहरूले धेरै प्रकारको प्रडक्ट किन्छन् तथा विभिन्न सेवाको माग पनि बढ्छ । फुर्सदमा प्रयोगमा आउने वस्तुको माग बढ्छ र आत्महत्यामा पनि कमी आउँछ । यसले जन्मदरमा पनि सुधार आउने अपेक्षा कोरियाले गरेको छ । 

तर, यो त्यति सहज भने छैन । कानून बनाएर मानिसलाई खुसी बनाउनु धेरै गाह्रो काम हो । कुनै पनि देशको खुसी त्यस देशको स्वतन्त्रता, वातावरण आदिमा निर्भर हुन्छ । तर, नीतिनियम बनाउनेहरूले अर्थशास्त्रीहरूको कुरा मान्छन् । अर्थशास्त्रीहरूले त कसरी खुसी रहन सकिन्छ भन्ने नबताई खुसी हुन कस्तो नीति ल्याउनुपर्छ भन्ने मात्र बताउँछन् । उदाहरणको लागि उनीहरूले बेरोजगारीले खुसीको मात्रा घटाउने हुनाले देशमा रोजगारी बढाउनुपर्छ भन्न सक्छन् । 

सन् २००८ मा विश्वभर आर्थिक मन्दी लागेको समयमा दक्षिण कोरियाली सरकारले रोजगारी वृद्धि गर्ने योजना बनायो । तलब कम होस् अथवा काम अस्थायी होस्, यस निर्णयले कोरियाको सन्तुष्टिको स्तर स्थिर राख्यो, तर ग्रीस र स्पेनजस्ता युरोपेली देशमा भने यो नीतिले काम गरेन र अहिलेसम्म पनि त्यहाँ सन्तुष्टिको स्तर उकासिन सकेको छैन । 

नागरिकको खुसी बढाउन नीति बनाउने दक्षिण कोरिया एक्लै राष्ट्र भने होइन । बेलायतले पनि सन् २०१२ देखि नागरिकको सन्तुष्टिको प्रतिवेदन बनाइरहेको छ र त्यसलाई नागरिकको मानसिक स्वास्थ्य, रोजगारी, शिक्षा आदि क्षेत्रमा प्रयोग गरिरहेको छ । संयुक्त अरब इमिरेट्सले पनि सन् २०२१ सम्म विश्वकै सबैभन्दा खुसी राष्ट्र बन्ने लक्ष्य लिएको छ । यसको लागि उसले राज्यमन्त्रीको पनि नियुक्ति गरिएको छ । भुटानले सन् २००८ मा आर्थिक विकासको सट्टा घरेलु खुसीमा वृद्धि गर्ने नीति बनाएको थियो । भुटानले राष्ट्रिय स्तरमा सन्तुष्टिको मापन गर्ने एक मापदण्ड पनि बनाएको छ ।

दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनले सन् २०१६ मा भुटानको भ्रमण गरेका थिए । सायद उनले यो कुराको प्रेरणा त्यहीँबाट लिएका हुन सक्छन् । मुनको नीति सरल र देशको समस्यामा केन्द्रित छ । त्यसैले यसले परिवर्तन ल्याउने सम्भावना पनि धेरै छ । तर यो नीति पूर्ण रूपमा सफल हुन्छ भन्ने चाहिँ छैन । सन् २०१८ मा दक्षिण कोरियाको न्यूनतम पारिश्रमिक १६.४ प्रतिशत बढेको छ । सन् २०१९ मा यो १०.९ प्रतिशत बढ्ने लगभग निश्चित छ । यसले गर्दा केही कम्पनीले आफ्नो सेवा बन्द गर्ने चेतावनीसमेत दिएका छन् । त्यसैले यसले रोजगारी सङ्कटमा पर्ने सम्भावना छ । त्यसैले यो नीति पूर्ण रूपमा सफल हुन धेरै गाह्रो छ । 

अर्को कुरा हरेक देशको सभ्यताअनुसार खुसीको परिभाषा फरक छ । अमेरिका र बेलायतजस्ता व्यक्तिवादी सभ्यतामा हरेक व्यक्तिको खुसीको आफ्नो छुट्टै मापदण्ड हुन्छ भने कोरियाजस्तो समष्टिवादी सभ्यतामा घरपरिवार तथा समाजले आफ्नो बारेमा के सोच्छन्, त्यसले महत्त्व राख्छ । कोरियाजस्तो देशको खुसी समाजसँग जोडिएको योन्सी युनिभर्सिटीका प्राध्यापक युन्कुक एम सुहले बताएका छन् । 

‘दक्षिण कोरियामा तपाईंले आफ्नो जीवन खुसी हुन योग्य छ भनी देखाउनुपर्छ, यसको लागि तपाईंसँग राम्रो युनिभर्सिटीको डिग्री, महँगो कार, ठूलो घर आदि हुनु जरुरी छ,’ सुहले भने । दक्षिण कोरियामा युनिभर्सिटीमा भर्ना हुनु सजिलो छैन र सरकारी जागिर पनि सीमित मानिसले मात्र पाउँछन् । यस्तोमा त्यहाँ थोरै मानिसले मात्र खुसी प्राप्त गर्न सक्छन् जसलाई त्यहाँ आदर्श मानिन्छ । 

राष्ट्रपति मुन उदाहरणको लागि आफैं पनि समयसमयमा बिदा लिन्छन् । उनी उत्तर कोरियासँग शान्तिको प्रयास गर्दै गर्दा पनि त्यो तनावलाई भुलेर बिदा लिई रमाइलो गर्न सकिन्छ भन्ने देखाउन चाहन्छन् सायद । 

छेजुको किनारमा माछा मारिरहेका साङ दाए चाले विगत १५ वर्षदेखि एउटै जागिर गरिरहेका छन् । आफूले काम र जीवनलाई सन्तुलित राखेको उनी मान्छन् । चाले हप्तामा ४० घण्टा काम गर्छन् । कहिलेकाहिँ ओभरटाइम पनि गर्नुपर्छ । तथापि, उनी बिदा मिलाएर आफ्नो परिवारसँग रमाइलो गर्न भने चुक्दैनन् । उनका अनुसार यदि बाध्यकारी रूपमा यस्तो नीति ल्याइयो भने यसले मानिसहरूलाई नराम्रो लाग्न सक्छ, यदि कम्पनीहरूले नै आफूलाई सुधारे भने मानिसहरूलाई धेरै सजिलो हुन्छ । 

देश सही दिशामा गइरहेको छ त ? भन्ने प्रश्नमा उनले ‘हो, सरकारले देशलाई आवश्यक कार्य गरिरहेको छ र देशको भविष्य अझै राम्रो हुनेछ,’ भन्ने उत्तर दिए । 

बीबीसीमा प्रकाशित एरिन क्रेगको एक लेखको भावानुवाद 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै