• २०८१ बैशाख १२ बुधबार

सरकारको ६ महिने कार्यकाल असफल, भाषणबाहेक केही गरेन : लक्ष्मणलाल कर्ण

kharibot

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका सह–अध्यक्ष एवम् संसदीय सुनुवाई विशेष समितिका सभापति लक्ष्मणलाल कर्णले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले ६ महिने कार्यकालमा एउटापनि राम्रो काम गर्न नसकेको आरोप लगाएका छन् । 

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता कर्णले भने,‘ओलीजीको ६ महिने कार्यकालमा भाषणमात्रै भयो । कुनैपनि राम्रो काम भएन । प्रधानमन्त्री र मन्त्रीहरुको काम नै भाषणमात्रै गर्ने देखियो । उहाँहरुको भाषण हेर्दा त नेपाल कहाँबाट कहाँ पुगिसक्योजस्तो लाग्छ । तर, काम केही पनि गरेको छैन ।’

साक्षात्कारमा बोल्दै उनले कुनै मन्त्रालयको काम, कृति ठिक ढंगको नभएको आरोप लगाए । उनले भने,‘गाउँभित्रका सडकहरु बनेका छन् ।  तर, गाउँ जोड्ने मूल सडकहरुको कन्तबिजोग छ । अरु त परै जाओेस मोटरसाईकलसमेत चल्न सकेको छैनन्।’ सरकारको ६ महिने कार्यकालबारे कामको मुल्यांकन गर्ने हो भने त जिरो नै रहेको उनको दाबी छ । 

फरक प्रसँगमा नेता कर्णले प्रधानमन्त्री ओलीले प्रदेश नम्बर २ को प्रदेश सभामा गरेको भाषणलाई आफूहरुले वाहवाही नगर्ने स्पष्ट पारे । उनले भने,‘ओलीजीको भाषणमा हामीले वाहवाह गर्नुपर्दैन् । वाहवाही गर्नुपर्ने अवस्था छैन । ओलीले आश्वासनबाहेक अरु केहीपनि दिएनन् । संविधान संशोधनमा पनि उनले हामीलाई आश्वासन दिएका छन् । तर संविधान संशोधन गर्नको लागि कुनै चासो र गृहकार्य गरेको देखिँदैन् ।’

मधेश आन्दोलनका क्रममा आफ्ना नेता तथा कार्यकर्ताहरुलाई झुठा मुद्दा लगाएको बताउँदै उनले भने,‘अझैसम्मपनि मुद्दा फिर्ता गरिएको छैन । बन्दी रिहाई गरिएको छैन । तर प्रधानमन्त्रीले हामीसँग सहमति गर्नुभएको छ ।’

कर्णले संसदीय सुनुवाई समितिले प्रधानन्यायाधीशमा अस्विकृत गरेका दिपकराज जोशी अब प्रधानन्यायाधीश बन्न सक्षम नरहेको पनि जिकिर गरे । उनले भने,‘जोशी अब प्रधानन्यायाधीश बन्न सक्षम छैनन् । तर उहाँले सर्वोच्च अदालतको न्यायाधीश भएर काम गर्न सक्नुहुन्छ । उहाँको ईच्छा भयो भने अदालतमा न्यायाधीश भएर काम गर्न पाउनुहुन्छ ।’
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै