काठमाडौँ। क्याराबियन प्रिमियर लिग (सिपिएल) अन्तर्गतको खेलमा सन्दीप लामिछानेले आफ्नो चौथो खेलमा पनि उत्कृष्ट बलिङ जारी राखेका छन्। सन्दीपले आज भएको खेलमा सेन्ट लुसिया स्टार्सका २ विकेट लिएका छन्।
सन्दीपले स्टार्सका डेभिड वार्नर र क्वेस अहमदको विकेट लिएका थिए। सन्दीपले वार्नरलाई १४ रन मा र अहमदलाई २४ रनमा आउट गरेका थिए। यस खेलमा सन्दीपले केवल २ ओभर मात्र बलिङ गरेका थिए। सन्दीपले २ ओभरमा १३ रन दिएर २ विकेट लिएका हुन्।
सेन्ट किट्स एण्ड नेभिज प्याट्रोयट्सको उत्कृष्ट बलिङपछि सेन्ट लुसिया स्टार्स १२.३ ओभरमा ६९ रन बनाएर अलआउट भएको छ भने प्याट्रोयट्सले सो लक्ष्य ७.३ ओभरमा ३ विकेट गुमाएर पुरा गर्दै प्रतियोगितामा चौथो खेलमा दोस्रो जित हासिल गरेको छ ।
नेपाली युवा बलर सन्दीप लामिछानेले पनि सिपिएलमा राम्रो छाप छोडिरहेका छन्। उनले खेलेका चार खेलमा उत्कृष्ट प्रदर्शन गर्दै सिपिएलमा अहिलेसम्म ७ विकेट लिएका छन्। सन्दीप सिपिएलमा धेरै विकेट लिने बलरको सुचिमा चौथो स्थानमा र कम रन दिने बलरको रुपमा दोस्रो स्थानमा रहेका छन् ।
सन्दीपले पहिलो खेल गुयाना अमेजन वारियरविरूद्ध ४ ओभर बलिङ गर्दै १२ रन दिएर २ विकेट लिएका थिए भने दोस्रो खेलमा ट्रिनबागो नाइटराइडरविरुद्ध ३ ओभर बलिङ गर्दै एक मेडन ओभर सहित १७ रन दिएर एक विकेट लिएका थिए । त्यस्तै तेस्रो खेलमा जमैका तल्लावाहाविरुद्धको आफ्नो ४ ओभरको स्पेलमा सन्दीपले २१ रन दिएर महत्वपूर्ण २ विकेट लिएका थिए।