• २०८१ बैशाख ७ शुक्रबार

के तपाईंलाई थाहा छ ? हाम्रै खराब बानीले बिग्रिन्छ आँखा ! 

kharibot

आँखा हाम्रो शरीरका संवेदनशील र महत्त्वपूर्ण अङ्गहरूमध्ये एक हो ।

त्यसैले आँखालाई सधैं ध्यान दिनुपर्छ । थोरै पनि लापरवाही आँखाको लागि हानिकारक हुन सक्छ । हामीले जानेर होस् या नजानेर, यस्तो बानी अपनाउँछौं जसले हाम्रो आँखालाई असर पुर्याउँछ । यदि तपाईंको तल उल्लेख गरिएका मध्ये कुनै खराब बानी छ भने सुधार गर्नुहोस् । अन्यथा तपाईंको आँखा छिटै बिग्रिन सक्छ । 

कम उज्यालोमा पढ्नु 

पढ्नु धेरै राम्रो बानी हो । तर, तपाईं जहाँ पढिरहनुभएको छ, त्यहाँ पर्याप्त उज्यालो हुनु आवश्यक छ । उज्यालो कम भएको ठाउँमा अथवा सुतेर पढ्ने बानी आँखाको लागि हानिकारक हुन सक्छ । अँध्यारोमा पढ्दा उज्यालोको कमीले आँखाको कर्निया फैलिन सक्छ । यसले टाढा र नजीकको वस्तुको दूरीमा फरक कम देखिन थाल्छ । त्यस्तै सुतेर पढ्ने बानीले पनि आँखालाई धेरै असर गर्छ । 

स्क्रिनमा हेरेर पढ्नु 

आजभोलि मानिसहरू मोबाइल, ल्यापटप, ट्याब्लेट अथवा ईरिडरमा पढ्ने चलन बढेको छ । यी ग्याजेट्समा धेरै पुस्तक सेभ गरेर राख्न र कतैपनि लगेर सजिलै पढ्न सकिन्छ । त्यसैले आजभोलि यस्ता ग्याजेट्समा पढ्ने चलन बढेको हो । यी ग्याजेट्सले तपाईंको आँखामा असर गरिरहेका हुन्छन् । डाक्टरहरूका अनुसार यस्ता ग्याजेट्सबाट निस्किने किरण सूर्यको परावैजनी किरणजस्तै हानिकारक हुन्छन् । कम्प्युटर, ल्यापटप आदिबाट निस्किने निलो किरणले आँखा खराब बनाउनुका साथै मोतिबिन्दु पनि हुन सक्छ । कतिपय व्यक्तिहरू यसको कारण अनिद्राको पनि शिकार हुन्छन् । 

एक टक स्क्रिनमा हेरिरहनु 

सामान्यतया मानिसहरू एक मिनेटमा १२ देखि १५ पटक आँखा झिम्काउने गर्छन् । तर, कम्प्युटरको स्क्रिनमा काम गर्नेहरू एक मिनेटमा ४, ५ पटक मात्र आँखा झिम्काउँछन् । आँखा कम झिम्काउनु अथवा धेरै समयसम्म स्क्रिनको अगाडि बसेर काम गर्नाले आँखा सुख्खा हुन सक्छ र आँखा चिलाउने समस्या हुन सक्छ । त्यस्तै कम्प्युटरको अगाडि निरन्तर काम गरिरहने मानिसको आँखाबाट आँसु बगिरहने समस्या पनि हुन सक्छ । 

मोबाइल, कम्प्युटर अथवा ल्यापटपको अगाडि धेरै समय बस्नु  

मोबाइल र कम्प्युटर हाम्रो आँखाको सीधा सम्पर्कमा र धेरै नजिक रहन्छन् । त्यसैले यसबाट आँखालाई धेरै समस्या हुन्छ । हामीले केही काम गरिरहेका छौं या कुनै दृश्य ध्यानपूर्वक हेरिरहेका छौं भने हाम्रो आँखाको सञ्चालन कम हुन्छ । यसले हाम्रो आँखा सुख्खा भई आँखालाई कमजोर गर्छ । 

धूम्रपान आँखाको लागि पनि हानिकारक 

धूम्रपान गर्नाले अन्य अङ्गलाई जस्तै आँखालाई पनि असर गर्छ । चुरोटमा लगभग ४००० केमिकल हुन्छन् । यी केमिकलले शरीरको भित्र गएर शरीरका अन्य अङ्गका साथै आँखालाई पनि नोक्सान पुर्याउँछन् । धेरै चुरोट पिउनाले आँखामा रातो दाग बस्नुका साथै आँखासँग सम्बन्धित अन्य रोग पनि लाग्न सक्छन् । रेटिनाको बीच भागमा मेक्युला हुन्छ । उमेरको वृद्धिसँगै विशेषतः ६० वर्षको उमेरपछि मेक्युलाको कार्यक्षमता बिस्तारै घट्दै जान्छ । यदि तपाईं धूम्रपान गर्नुहुन्छ भने मेक्युलाको कार्यक्षमता समयभन्दा पहिला नै कम हुन्छ र तपाईंको आँखा खराब हुने सम्भावना बढी हुन्छ । 

आँखा बिग्रनु अथवा कमजोर हुनुका लक्षण यसप्रकार छन् :

आँखा सुख्खा हुनु
आँखा रातो हुनु 
आँखा पोल्नु 
धमिलो देखिनु 
एकभन्दा बढी देखिनु 
टाउको दुख्ने समस्या हुनु 
आँखाबाट आँसु आइरहनु 
आँखामा पीडा हुनु

यी समस्याबाट बच्न यस्ता उपाय अपनाउन सकिन्छ : 

यदि तपाईंलाई चस्मा लगाउनुपर्ने भएको छ भने अनिवार्य लगाउनुहोस् । 
उज्यालो ठाउँमा मात्र पढ्ने, मोबाइल, कम्प्युटर आदि चलाउने गर्नुहोस् । 
कम्प्युटर, ल्यापटप आदिलाई ठीक दूरीमा राख्नुहोस् । 
आँखामा सुख्खापन भएमा ल्युब्रिकेशन भएको आइड्रपको प्रयोग गनुुहोस् । 
कम्प्युटरमा धेरै समय काम गर्नुपर्ने छ भने हरेक १ घण्टामा उठेर केही बेर टहलिने गर्नुहोस् । 
कम्प्युटर, ल्यापटप चलाउन बस्दा सजिलो आसनमा बस्नुहोस् । 
बस्दा सधैं एकै तरिकाले नबस्नुहोस्, बेलाबेलामा बस्ने तरिका बदल्नुहोस् । 
कम्प्युटर चलाउँदा हरेक घण्टामा २ मिनेट आँखा बन्द गर्ने गर्नुहोस् । 

प्रविधिको यो युगमा मोबाइल, ल्यापटप र कम्प्युटरविना हामी केही छिन पनि रहन सक्दैनौं । यी ग्याजेट्स हाम्रो जीवनको अभिन्न अङ्ग नै भइसकेका छन् । तथापि, आफ्नो स्वास्थ्यलाई ध्यान दिँदै यी वस्तुको प्रयोग सीमित गरौं र यसबाट निम्तिन सक्ने समस्याप्रति सधैं सजग रहौं । 
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै