• २०८१ बैशाख ४ मंगलबार

निगमको दोस्रो वाइड बडी विमान 'मकालु' ले आजदेखि बैंकक उडान सुरु गर्यो 

kharibot

काठमाडौँ।  राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको दोस्रो वाइड बडी ए ३३०–२०० सिरिजको ‘मकालु’ विमानले आजदेखि थाइल्याण्डको बैंककबाट व्यावसायिक उडान शुरु गरेको छ ।

नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट बिहीबार वायुयान उडान सञ्चालन अनुमतिपत्र (एओसी) गत साता पाएपछि मकालुले आज देखि  बैंककबाट उडान शुरु गरेको निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले जानकारी दिए । 

‘नाइन एन एएलजेट’ कलसाइनको सो विमान गत साउन १० गते काठमाडौँ अवतरण गरेको थियो । निगमको पहिलो वाइड बडी ए ३३०–२०० ‘नाइन एन एएलवाइ’ कलसाइनको ‘अन्नपूर्ण’ विमान गत असार १४ गते आएको थियो ।

अन्नपूर्णले गत साउन १६ गते कतारको दोहाबाट व्यावसायिक उडान शुरु गरेको थियो । पहिलो उडान दोहा भए पनि भारतको नयाँदिल्ली मात्र उडेको अन्नपूर्णले बिहीबारदेखि बेङ्लोर उडान शुरु गरेको छ। 

दोस्रो वाइड बडी विमान उडाउन स्वदेशी तथा विदेशी विमान चालक (पाइलट) रहेको निगमले जनाएको छ । महाप्रबन्धक कंसाकारका अनुसार मकालु विमानका लागि तीन विदेशी र छ नेपाली चालक छन् । थप दश विमान खरिद गर्ने योजना बनाएको निगमको इतिहासमा एक महिनाको अवधिमा दुई ठूला जहाज भित्र्याइको यो पहिलो पटक हो । निगमसँग अब पर्याप्त जहाज उपलब्ध छन् । त्यसले नेपालको पर्यटन क्षेत्रमा समेत सकारात्मक प्रभाव पार्नेछ । सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर २० लाख विदेशी पर्यटक भित्र्याउने सरकारको लक्ष्य सफल बनाउन राष्ट्रिय ध्वजावाहक निगमको महत्वपूर्ण भूमिका हुनेछ ।

दुवै विमान सरकारको जमानीमा निगमले कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषको करीब रु २४ अर्बमा खरिद गरेको हो । दुवै वाइड बडी विमानको सिट क्षमता समान छ । कूल २७४ सिट क्षमताको वाइड बडी विमानको १८ वटा साङ्ग्रीला ‘विजनेस क्लास’ र २५६ सिट साधारण क्लासका छन् । 

निगमका दुवै जहाजलाई पूर्णरूपमा व्यावसायिक बनाइने र अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गरिने महाप्रबन्धक कंसाकारको भनाइ छ । नयाँ थपिएसँगै निगमसँग १३ विमान छन् । निगमले नयाँ विमान थप्दै जाँदा आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवैतर्फ हाललाई विदेशी चालक करारमा नियुक्त गर्दै जाने नीति लिएको छ । 

निगमभित्रका चालकलाई तालीम दिँदै क्रमिकरूपमा नियमानुसार स्तरोन्नति गर्दै लैजाने नीति छ । नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने लक्ष्यका साथ नयाँ जहाज खरिद गरिएको र त्यसले निगमको हिस्सा बढाउनसमेत सहयोग पुग्ने विश्वास लिइएको छ । 

तिहारपछि कोरिया, जापान र रियाद 

नयाँ वाइड बडी विमानबाट पुरानै गन्तव्यमा उडान भरिरहेको निगमले तिहारलगत्तै दक्षिण कोरिया, जापान, र साउदी अरेबियाको रियादमा सेवा शुरु गर्ने भएको छ । महाप्रबन्धक कंसाकारले ती गन्तव्यमा जान आवश्यक प्रक्रिया मिलाइएको र बाँकी काम चाँडै सकेर तिहारपछि नियमित उडान गर्ने जानकारी दिनुभयो । निगमले हाल भारतको नयाँदिल्ली, बेङ्लोर र मुम्बई तथा हङ्कङ, मलेसिया, थाइल्याण्ड, दोहा र दुबईमा उडान गर्दै आएको छ । 

एक बोइङ नाइन एसिबी–५७५, एक वाइड बडी ए ३३०–२०० र एयरबस ३२० सिरिजको दुई जहाजबाट निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको हो । निगमले आन्तरिकतर्फ नौ वटा विमानबाट सेवा दिइरहेको छ । यीमध्ये चीनबाट ल्याइएका वाई १२ चार वटा, एमए ६० दुई वटा र तीन वटा ट्विनअटर विमान छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै